मेरा बाबुआमाले मलाई धोका दिए


प्रकाशित मिति :2016-08-20 10:00:43

इन्द्रसरा खड्का
Indrasaraम आमाबुवाको एक्ली छोरी र दोस्रो सन्तान हुँ । मेरो एकजना दाइ  दुईजना भाइ छन् । दाइ र भाइ पढाउँछन् । कान्छो भाइ  विदेशमा छ । मेरो माइती घर अछाममा सबै राम्रो छ । दाइभाइ स्कुलमा जाँदा मैले घरको काम धन्दा सम्हालें । स्कुल जान ढिलो हुन्छ भनेर उनीहरूलाइ समय मै खाना पकाएर  खुवाउँथे । हाम्रो समाजमा  छोरा  आठ नौ जना भएपनि बाबु आमाको  तारिफ हुने । आह ! फलानो त कति भाग्यमानी यति धेरै छोरा भए, तर छोरी एउटै भएपनि बाबुआमाले शिर निहुराउनु पर्ने ।

छोराछोरीबीच   यति चर्को भेदभाव गर्ने हाम्रो समाजमा  छोरी भएर जन्मेकी मैले कसरी पढ्न सक्थे र ? दाइभाइ झोला बोकी स्कुल जाँदा  मलाइ पनि उनीहरूसँगै जान मन नलागेको हैन, तर के गर्नु मेरो भागमा स्कुल हैन घरधन्दा र काममात्र थियो ।  पढ्ने सपना मनमै रह्यो ।
१४ वर्षको उमेरमै मेरो बिहे भयो । छिमेकी जिल्ला बाजुरामा । माइती घरमै त मैले चाहे जस्तो गर्न पाइनँ, पोइली घरमा मेरो को थियो र ।  मलाई थाहै थिएन कसरी मैले घर सम्हाल्नु पर्छ, कसरी परिवारलाई चलाउनुपर्छ ।

आमा बुवाले  मेरो बिहे सानैमा गरिदिएर पुण्य कमाउनुभयो । तर मेरो कष्टको दिन सुरु भयो ।  पोइलीघरमा सासु हुनुहुन्न रहेछ । ससुरा एकजना नन्द र तीनजना देवर रहेछन् । १४ वर्षकी मैले घरको मुली मान्छे भएर काम गर्नु पर्ने रहेछ जुन मेरो बसमा थिएन ।

श्रीमानको जागीर थिएन ।  बिहे गरेको केही समयपछि दिपायलमा नेपाल प्रहरीका लागि नयाँ भर्ना खुल्यो र श्रीमान प्रहरीमा भर्ती हुन जानुभयो ।  त्यसपछि नै देशमा माओवादी द्वन्द्व सुरु भयो । भर्खरै  श्रीमान प्रहरीमा भर्ना हुनु अनि लडाईं सुरु हुनु मैले आफैँले आफैलाई धिक्कार्न थालें ।  श्रीमानको तालिम सकिएपछि उहाँको पुर्वतिर दरबन्दी पर्‍योे । मेरो पेटमा बच्चा आइसकेको  रहेछ मलाइ थाहै थिएन ।

यसको श्रीमान पुलिस छ भन्दै घरमा माओबादी आउन थाले । उहाँको चिन्ताले रातभर सुुत्नपनि सक्दिनथें ।   बाबु जन्मेपछि  लुकेर उहाँ भेट्न  आउनुभयो । बाबुको मुख हेर्नुभो रुँदै राति नै बिदा मागेर जानुभयो एकातिर घरपरिवारको चिन्ता, आफू सुत्केरी मलाइ त पिरैपिरले सानै उमेरमा मर्नु न बाँच्नु बनायो ।

 यहि वेला  तिम्रो श्रीमान त भालुवाङको भिडन्तमा परेर मर्नु भो भन्ने खबर आयो ।  घरमा रुवाबासी चल्यो । मैले आफ्नो भाग्यलाई धिकारें । हामी यसरी घरमा चिन्तै चिन्ताले बसेका थियौं, तर मेरो श्रीमान त मोरङमा अर्को बिहे गरेर अर्कै संसारमा रमाइरहेका रहेछन् ।

देशमा द्वन्द्व सकियो । हामी उहाँ जिवित नभएको भनेरे बसिरहेको थियौं । आफ्नै गाउँको देवर नाता पर्नेलाई थाहा रहेछ मेरो, श्रीमानले अर्को विहे गरेर बसेको । उहाँले भन्नुभयो ‘दाइ त अर्को बिहे गरेर पुर्वतिर बसेका छन् ।’  म एक्कासी छाँगाबाट खसे जस्तै भएँ । कता जाउँ के गरुँ कसलाई भनुँ, कसलाई गुहारुँ ?  मेरो कुरा सुन्ने को नै थियो र  । छोरा सानै थियो । ससुरा साँझबिहान रक्सी धोकेरै आउने ।  देवर ठुला भइसकेका थिए । उनीहरू  आफ्नै घरजम गरेर अलग अलग भइसकेका थिए ।

माइतीको सहयोग मागें । बल्ल बल्ल सप्तरीमा छन् भन्ने कुरा थाहा भयो । म अछाम र पोइलीघर बाजुरादेखि बाहिर कहिल्यै गएकी थिइनँ । केही थाहै थिएन ।  घर भन्दा बाहिरको संसार आफूले अहिलेसम्म देखेकी छैन ।

मेरो रोदन दुख पीडा कसले सुन्थ्यो  ?  मेरो पीडा कसैलाई सुनाउन पाए ममाथि भएको अन्यायविरुद्ध मुद्दा हाल्न सक्ने थिए । सरकारी जागीरे श्रीमानको आधा तलब आफ्नो छोराको पढाइ र पालनपोषका लागि बनाउन सक्ने थिएँ । महिला अधिकारकर्मीले कहाँ हामी जस्ता गाउँका सोझासाझा महिलाका कुरा सुन्छन् र ?  उनीहरू पनि सदमुकाममा बसेर भाषण र नारामात्र लगाउने हुन् ।  दुरदराजका महिलाको कुरा सुन्ने  र दुः खी  गरिबको यो संसारमा कोही हुँदैन रहेछ ।

अहिले मेरो बस्ने राम्रो घर छैन , खान पुग्दैन । छोरालाई पढाउनु छ  । कतिञ्जेल माइतीको भर पर्नु मैले ? दाइभाइको सहयोगमा अहिलेसम्म छोरालाइ पढाइरहेकी छु । छोरा नौ कक्षामा  छ ।  छोरा बुझने भईसक्यो ।  बाबा कहाँ हुनुहन्छ भनेर सोध्छ ।  मैले तिम्रो बाउ मरिसक्यो भन्ने गरेकी थिएँ ।  तर, मेरो बाउ अर्कै बिहे गरेर बसेको छ भन्ने कुरा उसलाई थाहा भइसक्यो ।

 मेरा श्रीमान  अहिले काठमाडौंमा घरजम गरेर बसिरहेका छन् । अहिले पछुतो लाग्छ, मेरो दाइभाइलाई पढाउने मेरो आमाबुवाले मलाई पनि पढाइदिएको भए आज यो दिन आउने थिएन । आएपनि म  आफ्नो खुट्टामा आफैँ उभिन सक्ने थिएँ । मेरो श्रीमानले जस्तै म पनि आफ्नो जिन्दगीमा रमाउन सक्ने थिएँ ।

मलाइ त लाग्छ मलाई मेरो भाग्यलेमात्रै होइन, आफन्त नातागोता सबैले ठगे ।  मलाई नपढाइ सानैमा विहे गरिदिएर मेरा बाबुआमाले धोका दिए ।

यो रुढिबादी परम्पराले कहाँदेखि कहाँसम्म बिगार्दो रहेछ आज थाहा पाउँदैछु ।  छोरीलाई पाखा छोरालाई काखा गर्ने यो समाज धिक्कार लाग्छ जिन्दगीको आफ्नै पीडा सम्झेर  ।

(अछामकी बिस्ना थापासँग गरेको कुराकानीमा आधारित)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: