पार्वती पाण्डे
कपिलवस्तु । दुःख पीडा वर्ष भरिका मनमा गुम्स्याएर राखेका उकुसमुकुस , वर्षमा एकदिन भेटहुने साथीसंगी साथै तीजका भाकामा सासु बुहारीको एक अर्काप्रतिका गुनासा सँगै मादलको तालमा छमछमी नाचेको याद आखामा झलझली छ , कपिलवस्तु वाणगंगा १२ निवासी ८२ वर्षीया खिमादेवी गैरेलाई । वर्षभरिको मनको वह पोखेर हलुको हुने तीजको रौनकता विस्तारै फेरिएको छ । तिजको संस्कृति हराउँदै जान लागेकोमा उनलाई पिरोलेको छ । आफ्नै भाका र लयमा आफ्नै मौलिकतामा गाइने तीज गीत अहिले त पार्टी प्यालेसमा क्यासेटमा लगाएर महिला नाचगान गरेको देख्दा अचम्म लाग्छ , खिमादेवीलाई । दिदीबहिनी भेला, नाचगान तथा दरखाने प्रचलन पुख्र्यौली देखिकै चलिआएको संस्कृति हो, त्यही संस्कृति र प्रचलनमा विसंगतीले जरा गाड्दै गएकोमा उनी चिन्तित छन् ।
‘महिलाको दुःख विसाउने चाड पर्वलाई आधुनिकताका नाममा गीत सुन्नै लाज लाग्ने प्रविधि भित्रिनु राम्रो होइन’ उनले भनिन् । पछिल्लो समयमा तीजका भाकामा सुन्न नमिल्ने खालका शब्दहरू मिसिएको पाइन्छ । रातो साडी चुरा पोते एक सरो नयाँ लुगा लगाउने चलन हजुरआमाको पालामा थियो । तर अहिले तीजमा महँगा पहिरन र भmपक्कै गहना लगाउने चलनले समाजमा नराम्रो संस्कार भित्रिएको अनुभव छ जितपुरकी ७५ वर्षीया वालकुमारी खनालको ।
उनले आफ्नो पालाको गीतलाई लय हाली भनिन, ‘तीजका खाजा मिठो पोलेको तामाले, नरोउ भान्जी लिन आउँला भन्थे मामाले’ हाम्रो पालामा मादलको तालमा घन्कीन्थे ती तीज घरआगन, चौपारी, डाँडा मन्दिर जस्ता स्थानमा हुन्थ्यो, तर आजभोली पार्टी प्यालेस र महंगा होटेलमा तीज मनाइन्छ उनले भनिन् । अबका गीत संगीत समाजलाई परिवर्तन गर्ने खालका हुनुपर्ने उनको सुझाव छ । तीजअकान गीतमा महिलाका विकासका कुरा आउनु पर्ने विचार छ, झण्डाकी ७० वर्षीया सरस्वती पोख्रेलको पनि । सकरात्मक सोचका साथ अरुलाई असर नपर्ने गरी तीज मनाउँदा सबैलाई फाइदा हने उनी बताउँछिन् ।
भड्किलो तीज नमनाऔं, संस्कृतिलाई वचाउँ, वर्षौंदेखिको महिलाको महान पर्व हरितालिका तीजलाई भव्य र सभ्य रुपले मनाऔं , उनको सुझाव छ ।
Comment Here!