नुनुता राई
ललितपुर । ‘म छोरा भएपनि मलाई सानैदेखि नङपालिस, टिका, लिपिस्टक एकदमै मन पथ्र्यो । जब म ११, १२ वर्षको भएँ तब मलाई किन यस्तो चीज मन पर्छ भन्ने उत्सुकता आफैँमा हुन थाल्यो’ एनी लामालाई म अरु केटाहरू भन्दा फरक हुँ भन्ने करिव १२ वर्षको उमेरदेखि लागेको हो । त्यतिखेर उनलाई लाग्यो आफू पुरुष भएर जन्मे, तर इच्छा, चाहना भने महिलाको । आफ्ना फरक चाहनाले उनलाई अरु पुरुषको तुलनामा आफू फरक छु र हुँ भन्ने लागेको हो ।
तर, यो कुरा कसलाई भन्ने ? आफ्ना कुरा सुनिदिने र बुझिदिने कोही पनि थिएनन् । भन्यो भने उल्टो अपमानित र तिरस्कृत हुने डर थियो । त्यसैले समाजले गर्ने अपहेलनाको डरले आफ्नो पहिचान खुलाउन नसकेको एनी बताउँछिन् । आफ्नो घर विराटनगर हुँदासम्म उनले आफ्ना चाहनालाई दवाइन् । जव उच्च शिक्षाका लागि काठमाडौं आइन ढिलै भएपनि आफू खुल्न पाएकोमा भाग्यमानी ठान्छिन् । भन्छिन् ‘विभिन्न कारणले मलाई खुल्न समय लाग्यो, जब खुलें साथीहरूको साथ पाएँ, सुन्दरी प्रतियोगितामा भाग लिएर आफ्नो क्षमता देखाउन सकेँ, सफल पनि भएँ । म भाग्यमानी छु जस्तो लाग्छ ।’
आफ्नो वास्तविक पहिचानमा खुल्न चाहने सबैले उनले जस्तो साथ र अवसर पाउँदैनन् । काठमाडौं आउँदा पुरुषको रुपमा आएकी उनी यहाँ आउनासाथ साथीहरूको साथले खुलेकी हुन् । काठमाडौं आएपछि उनले पहिचानमात्र फेरिनन् तेस्रो लिङ्गीका लागि आयोजित सुन्दरी प्रतियोगिता मिस पिङकमा सहभागी भइन् र विजेताको ताज समेत पहिरिईन् । एनीको नयाँ पहिचानसँगै उनको सुन्दरता र क्षमताको चर्चा छ यतिबेला । उनको चाहनालाई साकार पार्न तेस्रो लिङ्गीको अधिकारमा काम गर्दै आएको संस्था नील हिरा समाजले सहयोग गरेको बताउँछिन् ।
मिस पिङ्क एनी लामा यतिबेला आगामी नोभेम्बर नौ तारिकमा थाइल्यान्डको पटायामा हुने इन्टरनेशनल ब्युटी क्वीनको तयारीमा जुटेकी छन् । यो सुन्दरी प्रतियोगिमा भाग लिन उनले मिस पिङकको ताज पहिरिएसँगै अनुमति पाएकी हुन् । उनले यो प्रतियोगिताबाट खाली हात नर्फकिन सक्दो मेहेनत गरिरहेको बताउँछिन् । चारवर्ष अघि विराटनगरबाट काठमाडौं पढ्न आएपछि उनी पुरुषबाट महिला भइन् । थाइल्याण्ड गएर लिङ्ग पनि परिवर्तन गरिन् र औपचारिक रुपमै आफ्नो पहिचान पनि फेरिन् ।
परिवारका सदस्यलाई जानकारी नदिई आफनो लिङ्ग परिवर्तन गरेकी एनीलाई परिवारले नस्वीकार्ने डर थियो । भन्छिन् ‘घरमा भन्दा कराउँछन्, दिँदैनन् होला भनेर भनिनँ, अहिले त थाहा पाउनुभयो आमाले स्वीकार्नु भयो, तर दाई अझैपनि मसँग रिसाउनुभएको छ ।’
नेपाल इन्स्टीच्युट अफ फेसन स्टाईलिङ कोर्सको विद्यार्थी हुन् उनी । उनले सुन्दरी प्रतियोगितामा लगाएको लुगा आफैँ डिजाइन गरिरहेको बताइन् । भन्छिन् ‘ड्रेस डिजाईन पढिरहेकी छु, सुन्दरी प्रतियोगितामा भाग लिनका लागि आफ्ना पोशाक आफैँ बनाइरहेकी छु । यसले गर्दा मेरो आफ्नो सीप र कला पनि देखिन्छ ।’ मिस पिङक लामाले यो प्रतियोगितामा भाग लिन अक्टोबर २७ तारिख भित्र पटाया पुगिसक्नुपर्ने हुन्छ । अन्तिम प्रतिस्पर्धामा भाग लिनु अगाडी एक महिनाको तालिम लिनुपर्ने भएकोले उनी एक महिना अगाडी त्यहाँ पुग्नुपर्ने बताईन् ।
यो प्रतियोगितामा विभिन्न देशका प्रतियोगी सहभागी हुनेछन् । आफ्नो सफलता लागि उनले सम्पूर्ण नेपालीलाई साथ र सहयोगका लागि अपिल गरेकी छन् । भन्छिन् ‘म नेपालको प्रतिनिधि भएर जाँदैछु अन्य सुन्दरीलाई प्रतियोगितामा जसरी सहयोग गर्नुभएको छ त्यसरी नै मलाई पनि सहयोग गर्न अनुरोध गर्दछु ।’ यो प्रतियोगितामा विजय हुन सहयोग गरे नेपालको नाम विश्वभर चिनाउन सफल हुने उनको दावी छ ।
यो प्रतियोगिता तेस्रो लिङ्गी महिलाका लागि निक्कै सम्माननीय प्रतियोगिता मानिन्छ । उनी यस प्रतियोगिता जित्नेमा ७५ प्रतिशत आत्मविश्वास भएको बताउँछिन् । ‘यो प्रतियोगिता जीत्न त म नै सक्षम हुनपर्छ, तर तपाँईहरूको साथ र सहयोगले पनि मलाई हौसला मिल्ने हुनाले सहयोगको अपेक्षा गरेकी छु ।’
Comment Here!