बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा आयल निगमका प्रवन्धक पक्राउ
इन्दिरा खनाल
बुटवल । बालिकामाथि यौन दुर्व्यवहारको अभियोगमा नेपाल आयल निगम भैरहवा वितरण केन्द्रका प्रवन्धक चित्तरञ्जन दास पक्राउ परेका छन् । शुक्रबार साँझ भैरहवास्थित देवकोटा चोकमा रहेको वितरण केन्द्रकै कर्मचारी प्रकाण्ड मिश्रको डेरामा बस्न पुगेका दास सोही घरमा बस्दै आएकी १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्दै बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कर्मचारी प्रकाण्ड ससुराली गएको भएपनि उनी एक्लै प्रकाण्डको डेरामा बस्न पुगेका थिए। डेरामा पुगेका दासले सोही घरमा बस्दै आएकी बालिकालाई ललाई फकाई डेरामा बोलाएर बलात्कारको प्रयास गरेको प्रहरीको भनाई छ। उनले जबरजस्ती गर्न थालेपछि बालिका चिच्याउँदा छिमेकीले थाहा पाई घटनास्थल पुगेका थिए। घटनाको विबरण बुझेपछि उनीहरूले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले प्रवन्धक दास पक्राउ परेको पुष्टि गरे। यद्यपी उनले बालिकामाथि सामान्य हातपात भएको उजुरी प्रहरी समक्ष आइपुगेपछि उनलाई नियन्त्रणमा लिइएको बताए। आयल निगम स्रोतका अनुसार उनी केही साता पहिलेमात्रै निगमको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सरुवा पाएर जान ठीक्क परेका थिए भने त्यसका लागि रवाना पत्र बुझिसकेका थिए।
यसैबीच उनी पक्राउ परेसँगै छुटाउनका लागि निगमका उच्च अधिकारी लागिपरेको स्रोतहरुले बताएका छन्। तर, स्थानीयले भने कुनै पनि हालतमा अभियुक्तमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन्।
Comment Here!