निरज सापकोटा
रामेछाप। बीस वर्ष भन्दा कम उमेरमा विवाह गर्न नेपालको कानुनले नै वर्जित गरेको अवस्थामा रामेछापमा भने २० वर्ष नपुगी बच्चा जन्माउने किशोरीको संख्या अझै धेरै रहेको पाईएको छ। रामेछाप सदरमुकाम मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा साउन महिनामा सुत्केरी भएका ५६ जना महिलामध्ये १३ जना २० वर्ष भन्दा कम उमेरका रहेका छन्।
रामेछाप जिल्लाको सदरमुमकाम आसपासमा नै २० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउने किशोरीको यो तथ्याङ्कलाई आधार मान्दा कुल सुत्केरी हुने महिलामध्ये झण्डै २५ प्रतिशत २० वर्षभन्दा कम उमरेमा नै सुत्केरी हुने गरेको अनुमान लगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय, रामेछापका प्रमुख डा. प्रकाश प्रसाद शाह बताउनुहुन्छ।
तथ्याङ्क अनुसार साउन महिनामा मन्थली नगरपालिकाको १७ वर्षीया एक किशोरीले बच्चा जन्माएकी छन्। यसैगरी मन्थली नगरपालिका र आसपासका क्षेत्रमा आठजना १८ वर्षको उमेरका र चार जना १९ वर्ष उमेरका किशोरी प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा सुत्केरी भए।
कतिपय जनजाति समुदायमा अहिलेपनि कम उमेरमा विवाह गर्ने प्रचलन कायमैै रहेको कारण कम उमेरमा बच्चा जन्माउने महिलाको संख्या नघटेको प्रमुख डा. शाह बताउनुहुन्छ। उहाँका अनुसार कम उमेरमा सुत्केरी हुँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा नराम्रो प्रभाव पर्छ। कम उमेरमा बच्चा नजन्माउन तथा परिवार योजना तथा परिवार स्वास्थ्यका कार्यक्रम सञ्चालन गरिरहेको शाहको दावी छ।
Comment Here!