महिला खबर
पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी नेपाली युवा जोली अमात्यले संयुक्त राष्ट्र संघको युवा सम्मेलनको अध्यक्षता गरिन् । सम्मेलनको अध्यक्षता गर्न पाउने अमात्य पहिलो नेपाली हुन् ।
जोलीले विश्वका करिब ९५ देशका एक हजार बढी युवालाई सम्मेलनमा सम्बोधन गरिन् । २०१५ मा सह–अध्यक्ष रहेकी जोलीले राष्ट्र संघ युवा परिषद्को वैठकबाट यसवर्ष अध्यक्ष बन्ने मौका पाएकी हुन् ।
युवाका लागि सबैभन्दा ठूलो सम्मेलनका रुपमा परिचित ‘युथ एसेम्ब्ली’ विश्वभरका युवालाई नेतृत्व गर्ने उच्च तह हो । तीन दिनसम्म चलेको यस सम्मेलनमा अध्यक्षताको लागि नियुक्त भइसकेपछि अमात्यले अगस्त १० देखि १२ सम्म राष्ट्रसंघ मुख्यालयमा कार्यक्रम गरेकि थिइन् ।
जोलीले ७ वर्षदेखि अमेरिकामा पेशागत अनुभव हासिल गर्ने क्रममा युएन वुमन लगायत राष्ट्रसंघका विभिन्न अंगहरू सहित विश्व बैंक, हेविट्याट फर ह्युमानिटी, एक्शन एड इन्टरनेशनललगायतका संस्थामा काम गरिसकेकी छिन् । नेपालमा गएको वैशाख भूकम्पमा जोलीले उदाहरणीय सेवाहरू गरेर विश्वस्तरमै नाम कमाएकी थिइन् ।
सम्मेलनको अध्यक्षको हैसियतमा उनले गरेको सम्बोधनको भिडियो समाचार र सामाजिक सञ्जालमा भाइरल भयो । उनले गरेको सम्बोधनको सारांश यस्तो छः
अहिले संसारमा युवाहरूको जनसंख्या सवैभन्दा धेरै छ । प्रत्येक ३ जनामा एकजना ३० वर्ष मुनिको युवा रहेको छ । यी मध्ये ९० प्रतिशत विकसित मुलुकमा रहेका छन् । हामी अहिले यस्तो लथालिङ्ग अवस्थाको समयमा छौं र यसको तिब्र प्रभाव युवाहरू मै परेको छ । युवा र बालबालिकालाई घर छाड्न बाध्य पारी शरणार्थी बनाइएको छ । यी मध्ये करिव ५६ लाख युवालाई तत्काल मानविय सहयोगको अवश्यकता छ । द्वन्द्व युद्ध र हिंसाका कारण ६ करोड युवा विस्थापित छन् । योसँगै युवाहरूको ठुलो जमात अहिले आर्थिक अवशरहरूको लाभांश पनि लिइरहेका छन् ।
धेरै युवाहरू अहिलेपनि अत्यधिक गरिबी र भेकमरीको चपेटामा परेका कारण अहिले धेरै देशहरूमा सामाजिक समानताका लागि आवाज बढिरहेको छ ।
विध्वंशात्मक प्राकृतिक प्रकोपको असर र जोखिम न्यूनिकरणमा आवश्यक काम र चेतना नहुँदा नेपाल र हाइटी जस्ता बिकासोन्मुख देशहरूमा गम्भीर असर परिरहेको छ ।
जलवायू परिवर्तनका कारण विश्वका अधिकांश देश र प्राय गरिब देशहरू धेरै जोखिमपूर्ण अवस्थामा छन् । एशिया र अफ्रिकाका महिला रबालिकाहरू हिंसा, असमानता र अत्यधिक श्रमको बोझविरुद्ध निरन्तर संघर्ष गरिरहेका छन् । शक्ति र जिम्मेवारीबीचको लैंगिक असमानता विश्वव्यापी छ । यी सवै चुनौति संसारभरी छन् र न्यायपुर्ण शान्तिपूर्ण र दिगो बनाउनका लागि यसको तत्काल सम्बोधन हुनु जरुरी छ । यहीँनेर हामी युवाको महत्वपुर्ण भूमिका हुनुपर्छ । यस्तो अवस्थामा संसारलाई न्यायपुर्ण बनाउन, शान्ति कायम गर्न र दिगो विकास गर्न यूवाहरूको भूमिका महत्वपुर्ण रहने र मात्र केही प्रतिबद्ध र नयाँ सोच भएका युवाको समूहले यो परिवर्तन ल्याउन सक्छन् भन्नेमा विवादै छैन । समाजलाई केही दिनका लागि हामीले आफैँलाई सवैभन्दा पहिला परिवर्तन गर्न जरुरी छ । यसलाई बढाउँदै लग्न सके संसारमा सकारात्मक परिवर्तन गर्न मद्दत पुर्याउछ ।
म यो कुरामा जहिले पनि विश्वास गर्छु कि जब तपाईको जोश र तपाईको उद्देश्य मिल्न जान्छ त्यहाँ बिस्फोट हुन्छ त्यसले तपाईलाई सदैव उत्साहको ज्वाला दिन्छ । म त्यो जोश र लक्ष्य तपाईहरूले पनि खोज्नुस् र तिनीहरूलाई जोड्नुस्, अनि परिवर्तन आफैँ हेर्नुस् भन्न चाहन्छु । यदि तपाई संसार परिवर्तन भएको हेर्न चाहनुहुन्छ भने तपाई नै परिवर्तनको कारक बन्नुस्, किनकी परिवर्तन आफैँबाट शुरु हुन्छ।
सन् २०१५ मा स्थापित दिगो विकास लक्ष्य २०३० पुरा गर्न चाहे होस या जलवायू परिवर्तन, आफ्ना देशका सरकारलाई दवाव दिएर र आफ्ना आवश्यक्ताका बारेमा संयुक्त राष्ट्र संघलाई भनेर यी उद्देश्य प्राप्त गर्न यूवा पिँढीको भूमिका महत्वपुर्ण छ ।
यहाँनेर हामीले एउटा कुरा बुझ्नु जरुरी छ कि लक्ष्य र उद्देश्य तयार पार्नु एउटा कुरा हो, यसको कार्यान्वयन गर्नु, यसलाई वास्तविकतामा परिणत गर्नु फरक कुरा हो । यसलाई तत्कालै र तिब्र रुपमा कार्यान्वयनमा लैजानु जरुरी छ । त्यसैले यी उद्देश्यलाई आकार दिन हामीले निकै मेहेनतका साथ काम गरेका छौं । तपाइले पनि फिल्ड विज्ञ, संयुक्त राष्ट्र संघका कर्मचारी , नीजि, अन्य बहुक्षेत्रिय, सरकारी र साझेदार संस्थाबाट यसबारे जानकारी लिने र सिक्ने अवशर पाउनुभएको छ।
यस्तो चुनौति र आशा सहितको अन्तर्सम्बन्ध भएको यो संसारमा म आशा गर्दछु की यो सम्मेलनबाट तपाईहरूले धेरै भन्दा धेरै सिक्नुहुनेछ, धेरै भन्दा धेरै मुल्यवान साथीहरू र नेटवर्क बनाउनुहुनेछ र जब तपाई आफ्नो देश र स्थानिय समुदायमा फर्किनुहुनेछ आफूलाई दिगो विकास लक्ष्यले तोकेको उद्देश्य पुरा गर्न पथप्रदर्शक बन्ने तयारी गर्नुहुनेछ। त्यसैले संसारलाई बस्न र बाँच्नयोग्य बनाउन हामी सबैले यी चुनौतिको समाना गरेर अघि बढौं ।
तपाई सबै काम गर्न सक्नुहुन्न, तर केही काम चाहीँ पक्कै पनि गर्नसक्नु हुनेछ र त्यो तपाईले मानव भएको आधारमा गर्नुपर्छ। तीन वर्ष अगाडि मेरो सुन्दर देश नेपाललाई प्रतिनिधित्व गर्दै म यस सभामा आज तपाईहरू भएकै ठाँउमा बसेकी थिएँ, त्यसपछिको युथ फोरमसँगको मेरो यात्रा निकै नै अदभूत र जिवन परिवर्तनीय रहेको छ । म यहाँ मेरो भागको कार्य गर्दैछु र तपाई पनि आफ्नो भागको काम गर्नुस् । म चाहन्छुकी तपाईहरूको पनि यस्तै कथा होस्। संसारलाई बाँच्नका लागि एउटा सुन्दर ठाउँ बनाउन हामी सँगै काम गरौं।
Comment Here!