बालबिवाह रोक्न ‘साथीलाई चिठी’
उमेर नपुगी विवाह गर्दा मैले धेरै दुःख पाएँ, तिमीले बालविवाह नगर है
विदुर आचार्य
सिन्धुपाल्चोक । जिल्ला वाल सञ्जालले जिल्लामा बाल विवाह रोक्न साथीलाई साथीको चिठी अभियान सुरु सञ्चालन गरेको छ । जिल्लामै पहिलो पटक प्रत्येक वाल क्लवका सदस्यलाई सन्देशमुलक चिठी पठाईंदै छ ।
जिल्लाका सवै गाँउ विकास समिति र नगरपालिकामा चिठीको नमुनासहित ४ सय ५० चिठी पठाईएको जिल्ला वाल सञ्जालकी अध्यक्ष सफलता भण्डारीले जानकारी दिईन् । उनले भनिन् ‘प्रत्येक वडामा ५० जना साथीले चिठी पाउनेछन् ।’ भण्डारीको अनुसार चिठी पढिसकेपछि वाल विवाह र यसको असर वारे वालवालिका आफैँ सचेत हुनेछन् र वालवालिका वालविवाह हुनसक्ने जोखिमबाट टाढै रहनेछन् ।
वाल विवाह गर्दा हुने अनेक समस्या र कानुनमा भएको व्यवस्थावारे जानकारी चिठीमा उल्लेख गरिएको छ । चिठीमा आफूले कलिलै उमेरमा विवाह गरेको कारण धेरै समस्या भोग्नु परेकोले साथीलाई २० वर्षपछिमात्र विवाह गर्न अनुरोध गरिएको व्यहोरा उल्लेख छ । आफूले कलिलै उमेरमा विवाह गर्दा पढ्नवाट वञ्चित भएको, घर व्यवहार धान्न निकै कठिन भएको, उमेरै नपुगी गर्भवती हुँदा अनेक स्वास्थ्य समस्या भोग्नु परेकोले यी यस्ता समस्यावाट वच्न वालविवाह नगर्न, नगराउन चिठीमा अनुरोध छ । हरेक गाविसमा वाल क्लवसँगै सरकारी तथा गैरसरकारी संस्थाले चिठी वितरणमा सहयोग गर्ने जिल्ला वाल कल्याण समितिका सूचना अधिकृत रेवतीरमण नेपालले जानकारी दिए । ‘चिठी स्वयम् वालवालिकालाई नै सम्वोधन गरिएकाले प्रभावकारी हुनेछ ।’ नेपालले भने ‘चिठी चेतनामुलक छ र चिठी पढिसकेपछि कानुनी विषयमा समेत जानकारी प्राप्त हुने हुँदा अभियान प्रभावकारी हुने विश्वास छ ।’
चिठी पाईसकेपछि वालवालिकाले त्यसको जवाफमा जिल्ला वाल सञ्जाललाई पत्र लेख्न सक्नेछन् । उत्कृष्ट जवाफसहितको चिठी पठाउनेलाई वाल दिवसमा पुरस्कृत गरिने सञ्जालले जानकारी दिएको छ ।
पछिल्लो समय वालवालिकाले स्वेच्छिक रुपमा विवाह गर्ने परिपाटीलाई समेत यो चिठी अभियानले निरुत्साहित गर्ने जिल्ला वाल कल्याण समितिका सदस्य सोम सापकोटा वताउँछन् ।
Comment Here!