आश्मा खातुन कक्षा ८


प्रकाशित मिति :2016-08-25 15:31:16

कपिलवस्तु जिल्लाको दक्षिणी भेगका २७ गाउँ विकास समितिमा माध्यमिक विद्यालय छैनन् । असुरक्षा र अन्धविश्वासका कारण त्यहाँका धेरै छात्रा ८ कक्षा उत्तीर्ण गरेपछि पढाइ छाड्छन् । त्यस्ता करीब १० हजार छात्रामध्ये एक हुन्, आश्मा खातुन ।

मुकेश पोखरेल

पश्चिम तराईको जिल्ला कपिलवस्तुको दक्षिणमा पर्छ, सिंहखोर गाविस । गाविसको वडा नम्बर ७ की आश्मा खातुन (१४) ले गाउँकै राष्ट्रिय निम्न माध्यमिक विद्यालयबाट यो वर्ष आठ कक्षा उत्तीर्ण गरिन् । पढाइ राम्रै थियो । धेरै पढ्छु भन्ने अठोट पनि थियो । तर, आश्माको पढाइमा पूर्णविराम लाग्यो । आमाबाबुले पढाइ छुटाउने निधो गरे । आश्माकी आमा सजरुन निसा भन्छिन्, “छोरीले पढोस् भन्ने सबै आमाबुबाको इच्छा हुन्छ, तर उसको जीउज्यानभन्दा पढाइ ठूलो कुरा होइन ।”

ne000-min

आश्मासँगै आठ कक्षा उत्तीर्ण गरेका ताहिरा खातुन र अमिरुन निसामाथि पनि त्यही समस्या आइलाग्यो । उनीहरूले आठ कक्षा उत्तीर्ण गरेपछि आमाबुबाले पढाइ छुटाइदिन्छन् भन्ने अनुमान ६ महीना पहिल्यै लगाइसकेका थिए । किनकि गाउँमा उनीहरू भन्दा अघि कक्षा ८ सिध्याउनेको हालत उनीहरूलाई थाहा थियो । त्यही भएर आश्मा, ताहिरा र अमिरुनले बुबाआमालाई सम्झाइदिन गाउँमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिलाई गुहारेका पनि थिए । एउटा गैरसरकारी संस्थाको लागि सिंहखोरमा शैक्षिक सहजकर्ताको काम गरिरहेकी चन्द्रमा पौडेल भन्छिन्, “गाउँका बहिनीहरूले हामी पढ्न चाहन्छौं, घरमा आएर आमाबुबालाई सम्झाइदिनुस् भनेकाले घरमै पुगेर अभिभावकलाई सम्झायौं, तर असुरक्षा हुन्छ भनेर छोरी पढाउन कोही तयार भएनन् ।”

‘नजिक भए पढाउँथें’

सिंहखोर र यसको छिमेकी सोमडी गाउँ विकास समितिमा माध्यमिक विद्यालय छैनन् । नौ र दश कक्षा पढ्न भारतीय सीमावर्ती बैदौली गाविस पुग्नुपर्छ । त्यहाँसम्म पुग्न साइकलमा एक घण्टा लाग्छ । हिंडेर जाँदा झण्डै तीन घण्टा ।

त्यसैले गाउँको विद्यालयमा निम्न माध्यमिक तह (८ कक्षा) को पढाइ पूरा गरेपछि अधिकांश छात्राको पढाइ आमाबुबाले छुटाइदिन्छन् । सिंहखोरको राष्ट्रिय निम्न माध्यमिक विद्यालयकी शिक्षक गुनेश्वरी श्रीवास्तवका अनुसार, आर्थिक अवस्था बलियो भएका केहीले छोरीलाई सदरमुकाम तौलिहवामा राखेर पढाउँछन् । तर गरीब परिवारका छोरीहरूले कक्षा ८ मै चित्त बुझाउनुपर्छ । “हुर्के–बढेका छोरीलाई टाढाको विद्यालय पठाउनु सुरक्षित हुन्न, अरूले आँखा लगाए र चरित्रमा प्रश्न उठ्यो भने बिहेवारीमै समस्या हुन्छ भन्ने डर अभिभावकमा देखिन्छ”, श्रीवास्तव भन्छिन्, “यसमा पनि बढीजसो दलित र मुस्लिम समुदायका अभिभावकले छोरीलाई टाढाको विद्यालय पठाउनै चाहँदैनन् ।”

3-min

कपिलवस्तुको सिंहोखोरस्थित् राष्ट्रिय निमाविबाट ८ कक्षा उतिर्ण गरेपछि अभिभावकले विद्यालय नपठाएका आष्मा (बीचमा) । बायाँ ताहिरा र दायाँ अमिरुन ।

किशोरीलाई विद्यालय नपठाउनुमा अन्धविश्वासी सोच मात्र जिम्मेवार छैन । छोरीहरूको सुरक्षाको चिन्ताले पनि काम गरेको छ । किनभने गाउँघरमा बालिका र किशोरीमाथि बलात्कार र यौनहिंसाका घटना बढ्दै जाँदा आमाबुबामा बेचैनी पनि बढेको हो । उनीहरू टाढाको विद्यालयमा छोरीलाई एक्लै छाड्नै चाहँदैनन् । “गाउँभन्दा टाढाको विद्यालय जाँदा आउँदा छोरी सुरक्षित हुँदैनन् भन्ने डर अभिभावकमा छ, थुप्रै अभिभावकले यही गुनासो गर्नुहुन्छ र छोरीलाई विद्यालय पठाउनु हुन्न” सोमडीको इटहवास्थित सिद्धार्थ प्राथमिक विद्यालयकी शिक्षिका मीनाकुमारी थारू भन्छिन्, “अभिभावकमा छोरीको सुरक्षा चिन्ता ठूलो छ, यसले पढ्न चाहनेले पनि पढ्न पाउँदैनन् ।”

२०७२ असार र मंसीर महीनामा सोमडी गाविसको इटहवा नजिक दुई किशोरी बलात्कृत भए । २०७२ को तिहार आसपास इटहवा गाउँ पश्चिमतर्फको बगैंचामा दाउरा खोज्न गएकी एक किशोरीलाई पाँच युवाले सामूहिक बलात्कार गरे । त्योभन्दा केही अघि इटहवा गाउँमा दिदी भेट्न आएकी एक युवती बलात्कृत भइन् । यी घटनाले अभिभावकमा छोरीको जीउज्यान र भविष्य भन्दा पढाइ ठूलो कुरा होइन भन्ने पारेको छ ।

कपिलवस्तुमा भएका बलात्कारका घटनामा सबभन्दा बढी दलित र मुस्लिम समुदाय पीडित देखिन्छन् । ८ कक्षापछि पढाइ छुटाइने छोरीचेली पनि अधिकांश यिनै समुदायका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, आर्थिक वर्ष २०७१/७२ मा भएका ३७ वटा बलात्कारका घटनामा चौधरी समुदायका ११, दलित समुदायका ७ र मुस्लिम समुदायका ६ जना चेली शिकार भए । २०७२/७३ मा भएका १९ वटा बलात्कारका घटनाबाट पीडितमध्ये दलित समुदायका ६ र मुस्लिम समुदायका ५ जना छन् ।

बलात्कारको शिकार हुनेमा पनि विद्यालय जाने उमेरकै किशोरी ज्यादा छन् । २०७१/ ७२ मा १० देखि १४ वर्ष उमेरका नौ जना बालिका–किशोरी बलात्कृत भए ।  १४ देखि १६ वर्षका ७ र १६ देखि १८ वर्षका तीन जना किशोरी बलात्कृत भएको प्रहरीको आँकडाले देखाउँछ । २०७२÷७३ मा १० देखि १४ वर्ष उमेरका चार जना, १४ देखि १६ वर्षका तीन जना र १६ देखि १८ वर्षका पाँच जना बालिका–किशोरी बलात्कृत भएका छन् ।

कसैसँग सँगै हिंडेको देखेको भरमा कुरा काट्ने समाजमा बलात्कार जस्तो घटनाले किशोरीको भविष्य समाप्त पारिदिन्छ । सिंहखोरकै प्रभावती धोवी अहिले यस्तै चिन्तामा छिन् । आमाको यही चिन्ताका कारण छोरी संगीता धोवीको नौ कक्षा पढ्ने सपना पूरा भएन । “नजिक स्कूल भए पढाउँथें”, प्रभावतीले भनिन्, “उसकै जीउ जोगाउन पढाइ छुटाउनुपर्‍यो ।”

१० हजार किशोरी मारमा

कतिपय अनुसन्धानकर्ता, विज्ञ र सरकारी कर्मचारीले गरीबी, अन्धविश्वास, बालविवाह आदि कारणले यहाँका दलित तथा मुस्लिम समुदायका महिला शिक्षामा पछिपरेको चर्चा गर्छन् । तर, चुरो कुरा अर्कै छ । उनीहरूको पहुँच माध्यमिक तहको विद्यालयसम्म छैन । नजिकमा नहुँदा कतिपयले त विद्यालयमा पाइलै टेक्न पाउँदैनन् । जसले निम्न माध्यमिक तह उत्तीर्ण गर्ने मौका पाउँछन् उनीहरू माध्यमिक विद्यालय पुग्नै पाउँदैनन् । सोमडीस्थित अल्ले सुन्नत फयजुल उल्लुम चिस्तिया प्राविका प्राचार्य (मौलाना) मन्नान अली मुसलवान भन्छन्, “छोरीलाई टाढाको विद्यालय पठाएर अभिभावक ढुक्क हुनै सक्दैनन् र पढाइ छुटाउँछन् ।”

kalpana photo-minजिल्ला शिक्षा कार्यालयका अनुसार कपिलवस्तुका २७ गाउँ विकास समितिमा माध्यमिक विद्यालय छैनन् । अधिकांश दक्षिणी सीमाका यी गाविसमा तराईका दलित तथा मुस्लिम समुदायको बाहुल्य छ । यी गाविसबाट माध्यमिक तहसम्मको पढाइ हुने विद्यालय पुग्न सरदर दुईदेखि तीन घण्टा पैदल हिंड्नुपर्छ । माध्यमिक तह पढ्ने १० देखि १४ वर्ष उमेर समूहका विद्यार्थीको संख्या हिसाब गर्दा ती गाविसका १० हजार भन्दा बढी किशोरी पढाइ छाड्नुपर्ने समस्यामा छन् । (हेर्नुहोस् चार्ट)

दुःखको कुरा यो समस्या तत्कालै समाधान हुने सम्भावना पनि छैन । जिल्ला शिक्षा अधिकारी हरि गौतम ती गाविसमा तत्काल माध्यमिक तहको विद्यालय स्थापना गर्न सम्भव नरहेको बताउँछन् । स्थानीय तहबाट स्रोत–साधन जुटाएर समुदायले आफैं माध्यमिक विद्यालय सञ्चालन गरेमा समयक्रममा शिक्षा कार्यालयले सहयोग गर्न सक्ने उनको तर्क छ । तर, ‘समय क्रममा सहयोग गर्न सक्ने’ सरकारी आश्वासनका भरमा समुदायले विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्राचार्य मुसलवान बताउँछन् ।

जिल्ला शिक्षा अधिकारी गौतम अभिभावकले छोरीलाई मावि तहमा नपढाउनुको मुख्य कारण ‘सुरक्षा’ सँगै ‘संकीर्णता’ पनि कारक भएको बताउँछन् । कतिसम्म संकीर्णता छ भने हरिहरपुर–८ झुसियास्थित सरस्वती निम्न माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गुडिया मुसलवानले कापीमा ‘आई लभ यू’ लेखेको कारण अभिभावकको कुटाइ खानुपर्‍यो । कक्षाकोठामा साथी रहिमुन निसाले जिस्किंदै रमाइलो गर्न भनेको कुरा गुडियाले कापीमा सारेकी थिइन् । उनलाई अभिभावकले मुख सुन्निने गरी कुटेको विद्यालयकी प्रधानाध्यापक रमा खनाल बताउँछिन् । त्यसपछि रहिमुनलाई अभिभावकले विद्यालय नै पठाएनन् । गुडिया परीक्षा दिन मात्र विद्यालय आइन् । त्यो घटना पछि लगत्तै अरू चार छात्राले समेत विद्यालय छाडे ।

जिल्ला शिक्षा अधिकारी गौतमका भनाइमा जिल्लाभर ५ देखि १४ वर्षसम्मका १७ हजार बालबालिका विद्यालयभन्दा बाहिर छन्, यसमा छात्राको संख्या ८० प्रतिशतभन्दा बढी छ । प्राचार्य मुसलवानका भनाइमा मुस्लिम समुदायका चेली किशोराबस्थामा पुगेपछि कसैसँग आँखा नजुधोस् र उनीहरूमाथि कसैको आँखा नलागोस् भनेर अभिभावकले विद्यालय पठाउन हच्किन्छन् । त्यसमाथि गाउँघरमा बलात्कार र यौनहिंसाका घटना सुनेपछि त उनीहरूको सातो उड्छ । यतिसम्म कि पुरुष शिक्षक भएको विद्यालयमा समेत असुरक्षित ठान्ने अभिभावकले हत्पत्ति आफ्ना नानीहरू विद्यालय पठाउन मान्दैनन् । यही मनोविज्ञानले हुनसक्छ गत वर्ष जिल्ला विकास समितिको परिषद् बैठकमा दक्षिणी भेगका छात्राहरूलाई मात्र पढाउन कन्या स्कूलको माग भएको थियो ।

हुन त महिला शिक्षिका र छात्रा मात्र हुने विद्यालयमा अभिभावकको ज्यादा विश्वास देखिन्छ । सोमडीस्थित इटहवामा एक गैरसरकारी संस्थाले विद्यालय नटेकेका र विभिन्न कारणले बीचमै विद्यालय छाडेका ५ देखि १६ वर्षसम्मका बालिका र किशोरीलाई लक्षित गरी कक्षा सञ्चालन गरेको छ । सो बालिका कक्षामा १० देखि १६ वर्षसम्मका ६० छात्रा पढ्छन् । तीमध्ये मुस्लिम समुदायका १६, दलित समुदायका ३६ छन् ।

किशोरी असुरक्षाको असर कपिलवस्तुको दक्षिणी भेगका माध्यमिक विद्यालयहरूमा स्पष्ट देखिन्छ । त्यहाँ छात्रको तुलनामा छात्रा संख्या एकदमै न्यून छ । हथिहवा गाविसको मुटफुटुवा माध्यमिक विद्यालयबाट गत वर्ष एसएलसी परीक्षामा सहभागी ६० विद्यार्थीमध्ये छात्रा १५ थिए । त्यसमध्ये दलित समुदायका तीन जना । सो विद्यालयबाट नौ कक्षा उत्तीर्ण गरेर १० मा भर्ना भएका ५० मध्ये छात्रा १४ छन् । तीमध्ये दलित समुदायका त चार जना मात्र । प्रधानाध्यापक लालचन्द्र पाण्डे भन्छन्, “कतिपय समुदायमा छोरीचेली घरबाहिर जानुहुँदैन भन्ने भावना छ, झन् नजिकमा विद्यालय नभएपछि किशोरीहरूको पढाइ रोकिने नै भयो ।”

यसको उदाहरण हुन् हथिहवा–७ का रामसवार भर । स्थानीय राजु यादव निम्न माध्यमिक विद्यालयबाट एक वर्षअघि ८ कक्षा उत्तीर्ण गरेकी छोरी उर्मिलालाई उनले नौ कक्षा भर्ना गर्ने प्रयास नै गरेनन् । उनले हाकाहाकी भने, “छोरीको शील–स्वभाव राम्रो छ । टाढाको मुटफुटुवा मावि पठाउँदा  सुरक्षा हुन्न ।” रामसवार भन्छन्, “अचेल मानिस खराब छन्, छोरी मान्छेको बाटो छेक्छन्, केही नराम्रो घटना गराइदिए भने ?” सामान्य आर्थिक हैसियत भएका रामसवारका छोरा राजकुमार घर भन्दा ३ किलोमिटर टाढाको लवनीमा रहेको बोर्डिङ स्कूलमा तीन कक्षामा पढ्छन् । रामसवारले छोराको सुरक्षाप्रति भने कुनै चिन्ता प्रकट गरेनन् ।

खोज पत्रकारिता केन्द्रबाट साभार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: