साहित्य औषधि बन्न सक्नुपर्छ—प्रगती राई


प्रकाशित मिति :2016-08-26 16:53:03

साहित्य समाजको परिवेशलाई कलमद्वारा व्यक्त गर्ने आधार र गहना हो, तर आवश्यकता अनुसार औषधि बन्न सक्नुपर्छ  ।
नुनुता राई

14138334_1096551497095633_135248418_n

ललितपुर । पहिला ‘केहीले सोधे ‘भाउजु यो कविता तपाँईले नै लेखेको हो ?’ मैले भन्थे ‘हैन यो तपाईंले लेखेर सिँगान पुछेर फालेको भेटेर मैले छापेको हो ।’ कवि आख्यानकार प्रगती राईले कविता संग्रह छापेपछि कैयौं यस्ता प्रश्न सामना गर्न पर्‍यो ।  वादी विज्ञप्ती कविता संग्रह उनको पहिलाे कृति हो ।

‘धेरैले दाईले लेखेको हो, नाम भाउजुको हो भन्थे अरे’ राईले भनिन् । उनी महिला अधिकारको विषयमा लेख्ने सशक्त कवि र आख्यानकारको रुपमा स्थापित छन् । तर उनको क्षमतामा धेरै प्रश्न उठ्छन् । भनिन ‘महिलाको क्षमतालाई बौद्घिक भनिएका पुरुषले पनि स्वीकार्न सकेका छैनन् ।’ हाल उनी भोजपुरको दिल्पा नागीमा स्थानीय चन्डेश्वरी माविमा स्वयंसेवक शिक्षकको रुपमा कार्यरत छन् । स्कुलका प्रधानाध्यापकले शिक्षकको अभाव रहेकाले केही समय पढाईदिन आग्रह गरेपछि पढाउन शुरु गरेको राईले बताईन् । गाउँको आमा समूहलाई नृत्य समेत सिकाइरहेकी छन् । अहिले उनको घरमा तीन पुस्ता छ । ७४ वर्षीया सासुआमा विष्णु रेखा, प्रगती र उनकी बुहारी ममिता । उनले बुहारी र सासुको भूमिका एकैपटक निभाउन भ्याएकी छन् ।

गाउँमा उनी कथा प्रकाशन गर्न लेख्ने वातावरण खोज्दै पुगेकी हुन् । भनिन् ‘भदौमा काठमाडौं फर्कने गरी गाउँ आएकी थिएँ, यहाँकै स्कुलमा केही समयलाई पढाउन पनि थालें अब यो शैक्षिक सत्र नसकी छोड्न नमिल्ने भयो, सम्भव भएन ।’ सानैदेखि लेख्न रुचाउने राई स्कुल पढ्दा एमाले निकट अनेरास्वयुको खरो वक्ताको रुपमा चिनिन्थिन् ।

‘सबैले प्रगती नेता बन्छ भन्थे, बन्नुपर्छ भनेर ठूलाहरूले उक्साउँथे’उनी सम्झिन्छिन् ।  सात कक्षा पढ्दापढ्दै विहे गरेपछि उनको इच्छा परिवर्तन भयो, संगीतकार बन्ने । एसएलसीपछि पढ्न काठमाडौं आईन् । रत्न राज्य क्याम्पसमा पढ्न थालिन् । मनमा लागिरह्यो एकदिन ठूलो संगीतकार बन्छु । समय अनुसार इच्छा चाहना फेरिने उनको अनुभूति छ ।

14151778_1096528443764605_393167350_o

श्रीमान लेखक भएकाले उनको कोठामा साहित्यकारको आउजाउ बाक्लो हुने गथ्र्यो । एकदिन उनीहरूबीच कुराकानी हुँदै गर्दा कसैले भनेको सुनिन् ‘यो देशमा आईमाईले गतिलो साहित्य लेखेछ भने त थुक्क !’ त्यसपछि उनलाई लाग्यो आईमाई पनि मान्छे हो । ‘साहित्य के हो र महिलाले लेख्नै नसक्ने’ उनले सोँचिन् । समाजको परिवेश सम्झिन्, महिलाको अवस्था राम्रैसँग बुझेकी उनलाई लाग्यो । ‘जत्ति म लेखेर महिलाको विषयलाई उठाउन सक्छु त्यत्ति संगीतबाट सक्दिनँ, त्यसैले अब मैले लेख्नुपर्छ भनेर लेख्न थालें ।’

 कविता लेखिसकेकी उनले दाेस्राे कृति  उपन्यास लेखिन् ‘लेखककी स्वास्नी’  । उनको सिर्जना पढेपछि केही साहित्यकारले भने ‘साहित्य क्षेत्रमा अर्को सशक्त आख्यानकारको प्रवेश भएको छ ।’ उनका श्रीमान राजन मुकारुङ साहित्य क्षेत्रका चर्चित आख्यानकार भएकाले उनले लेखेको पुस्तकको चरित्र उनी आफैँ र उनका श्रीमान हो भनेर कतिपयले त ठोकुवा नै गरेका पनि थिए । उनी यस विषयमा भन्छिन् ‘केही हदसम्म त हो, तर अरुले भने जस्तो हुबहु मेरै कथा चाहीँ होइन ।’ थपिन् ‘साहित्यकारले समाजमा रहेका परिवेश र आफ्नो भोगाई, अनुभूत गरेका प्रेम, विकृति, विसंगती, संस्कार, परम्परालाई आधार बनाएर लेख्ने हो । विषयानुगत मिल्दो लाग्नु स्वभाविक हो ।’

उनले समाजमा एउटा नारीको भूमिका र समाजले हेर्नेे दृष्टिकोणलाई लेखनबाट उतार्दै आएकी छन् । महिलाको अधिकारलाई सोलोडोलो बनाईएको उनको बुझाई छ । उनलाई लाग्छ महिलाको अधिकार स्थापित हुन वंशका अधिकार सुरक्षित हुनुपर्छ । ‘मैले मेरो रचनामा सँधै वंशाधिकारको कुरा उठाइरहेकी छु, तर धेरैले यो कुरा बुझेका छैनन्’ उनी भन्छिन् । पुरुषको वंशधिकार नै हुनुहुन्न भनेर आफूले नभनेपनि कतिपयले महिलाले विहे गरेर पुरुष भित्र्याउने बुझेको उनको भनाइ छ  । उनी भन्छिन् ‘मैले त खाली छोरा र छोरीलाई समान वंशधिकार हुनुपर्छ भनेकी हुँ ।’

वंशको अधिकार सुरक्षित नभएसम्म महिलाले हिंसा सहन बाध्य भइरहने उनको तर्क छ । छोरी मात्र छ, के का लागि सम्पति कमाउने ? छोरी हो अरुको घर जाने जातलाई किन पढाउने ? भन्ने मान्यताले समाज लथालिंग छ ।  ‘एस.एल.सीमात्र पास गरेको पुरुषको स्नातक पास गरेकी महिलाको भन्दा माथि हैसियत छ किन भन्दा उसँग वंशको अधिकार सुरक्षित छ ।’ समाजको धारणा परिवर्तन गर्न लेखन सबैभन्दा बलियो माध्यम भएको तर्क गर्छिन् उनी ।

सासुअामा विष्णु रेखा राईसँग अाख्यानकार प्रगती राई

सासुअामा विष्णु रेखा राईसँग अाख्यानकार प्रगती राई

उनलाई लाग्छ समाज परिवर्तनलाई पनि लेखन स्रोत बन्न सक्छ । समय लाग्ला, सकारात्मक परिवर्तनका लागि महिलाको वंशको अधिकारका कुरालाई स्थापित गर्न उनी निरन्तर लेखिरहने विचारमा छन् । लेखनलाई प्रभावकारी बनाउन पाठक प्रतिकृयाले पनि सकारात्मक भूमिका खेल्छ । भन्छिन् ‘मलाई मेरो पाठकले एकदिन आएर ‘तपाँईले उठान गरिहनुभएको विषय राम्रो छ, तर यो स्थापित हुन कम्तिमा १० वर्ष त लाग्छ  भने मलाई झन् हौसला मिल्यो ।’

दुई छोराकी आमा प्रगती आफ्नो बहुभुमिका प्रति छोराहरू पनि खुशी भएको बताउँछिन् । ‘कहिलेकाहीँ छोराले ‘हामी पनि प्रगती राई जस्तो हुनुपर्ने, राजन मुुकारुङ जस्तो भइयो’ भनेर मलाई फुक्याउँछन् ।’ साथीको जस्तो सम्बन्ध रहेको सासुआमालाई छोरा बुहारी लेख्छन् भन्ने थाह छ । कहिलेकाही काम गरिरहँदा सासुआमाले तिमारको के के लेख्ने भन्छौ लेख है भन्दा आफूलाई प्रेरणा मिल्ने प्रगती बताउँछिन् ।

अहिलेको साहित्य जगतमा धेरै महिलाले महिला अधिकारको विषयलाई उठाउनु  सकारात्मक पक्ष भएपनि यसलाई स्थापित गराउन उपाय पनि दिन कोशिश गर्नुपर्ने उनको सुझाव छ ।

महिला र पुरुष छुट्टै जात हुन्, महिला महिला नै हुनुपर्छ र पुरुष पुरुष नै हुनुपर्छ न की महिला पुरुष जस्तो पुरुष महिला जस्तो । हामीले माटोलाई माटो नै हो र पानीलाई पानी कै गुण हुन दिनुपर्छ । तर कतिपयले कसैले माटो पानी जस्तो हुनुपर्छ भन्छ कसैले पानी माटो जस्तो हुनुपर्छ भन्छ । यसमा पूर्ण रुपमा असहमत रहेको बताउँछिन् राई । ‘हामीसँग भएको गुण अरुमा मिश्रित हुन दिनुहुन्न, यसलाई सकारात्मक आकार दिएर परिमार्जित गुण स्थापित गर्नसक्नुपर्छ’ उनले भनिन् ।

साहित्य समाजको ऐना हो । साहित्यबाट समाजको परिवेश बुझन सकिन्छ ।  सकारात्मक परिवर्तनको लागि भूमिका खेल्न सक्ने प्रयास गर्नुपर्ने भन्ने लाग्छ उनलाई । ‘साहित्य भनेको समाजको परिवेशलाई कलमद्वारा व्यक्त गर्ने आधार र गहना हो, तर आवश्यकता अनुसार औषधी बन्न सक्नुपर्छ म त्यही प्रयासमा छु ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: