महिला खबर
रोल्पा । आफ्नो चाहनाविपरीत विवाह गरिदिन लागेको भन्दै रोल्पाकी १७ वर्षीया एक किशोरीले प्रहरीमा उजुरी दिएकी छन् ।
रोल्पाकी गैरीगाउँकी सुनिता परियारले आफ्नो परिवारले जबर्जस्ती आफ्नो विवाहको टुङ्गो लगाएको थाहा पाएपछि यसविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । न्याय खोज्दै परियार शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रोल्पा आएकी थिइन् ।
आर्थिक अभावका कारण पाँच कक्षा मै पढाइ छोड्न बाध्य परियारले गाउँ कै १९ वर्षीय किशोरसँग आफ्नो विवाह गरिदिने कुरा आफूलाई नै थाहा नभएको बताइन् । घरमा रोटी पकाउने र घर लिपपोत गर्न थालेपछि भाइबहिनीबाट आफ्नो विवाहका लागि तयारी हुँदैछ भन्ने जानकारी पाएको उनले बताइन् । भदौ १६ गतेका लागि आफ्नो विहे तय गरिएको भन्दै उनले आफू सानै भएको र विहे गर्न मन नभएको भनेर आमाबाबु समक्ष अनुनय विनय गर्दा पनि आफ्नो कुरा नसुनिएको बताइन् । ‘उल्टो आमाले विवाहको दिन तय भइसकेको र रोक्न नमिल्ने भन्नुभयो’ उनले भनिन् ।
विहे हुन लागेको थाहा पाएपछि उनी नारायणगढमा रहेकी दिदी कहाँ भागेर जान लागेको बताइन् । ‘त्यही क्रममा आफन्तले प्रहरीमा पुगे न्याय पाइन्छ भनेर सल्लाह दिएपछि प्रहरीमा आएँ’ उनले भनिन् । स्थानीय रमेश परियारसँग मेरो विवाह गरिदिन लागेका रहेछन् मलाई ऊसँग पटक्कै बिहे गर्न मन छैन, तपाईंहरूले बुबाआमालाई सम्झाइदिनुस न’ प्रहरीसँग उनको अनुरोध थियो ।
यसरी न्याय खोज्दै प्रहरी कार्यालय रोल्पामा आएकी परियारलाई शनिबार राति महिला प्रहरीको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले यो विषयमा छलफल गर्न अभिभावकलाई बोलाएको जानकारी दिनुभयो ।
Comment Here!