महिला पनि डाक्टर हुन्छन् र !


प्रकाशित मिति :2016-08-29 10:59:09

महिलाको नेतृत्व र परिश्रम स्वीकार्न नसक्ने समाजमा नजानेकाले गर्ने विभेद भन्दा जानेकाले गर्ने विभेदपूर्ण व्यवहारले  निराश बनाउँछ ।  
सर्मिला बुढाथोकी   

3

दोलखा । बहिरङ्ग (ओपीडी) कक्षमा विरामी रसिद लिएर ढोकाबाट छिर्ने बित्तिकै डाक्टर बोलाईदिनुस न सिस्टर भनेर विरामीले अनुरोध गर्छन्, यसपछि  अनुत्तरीत हुन्छिन् डाक्टर अर्चना के.सी ।  स्वास्थ्य जाँच गर्न आएका विरामीले सुरुमै महिला नर्समात्रै हुन्छन् भन्ने मानसिकता लिएर पसेपछि उनीहरूलाई जाँच्नु भन्दा पनि आफैँ डाक्टर हुँ भन्ने कुरा कसरी प्रष्ट्याउनु भन्ने कुराले पिरोल्न थाल्छ डाक्टर के.सीलाई ।

काठमाडौंमा जन्मेकी अर्चना के.सी विरामीको यस्तो व्यवहार पितृसतात्मक समाजको उपज ठान्दछिन् । ‘हामीले अझै समाजको परम्परागत सोचमा परिर्वतन ल्याउनै सकेका छैनौं’ उनी भन्छिन् ।  सबै बौद्धिक बर्गले समाजको सोचमा परिर्वतन ल्याउन पहल गर्नुपर्ने डाक्टर अर्चनाको भनाई छ । आफ्नो जिम्मेवारी पुरा गरिरहँदा पुरुष र महिला डक्टरबीच समाजले गर्ने  विभेद युक्त व्यवहारले खिन्न लाग्ने गरेको डाक्टर के.सीको अनुभव छ । उनी भन्छिन्– ‘महिला डाक्टरलाई त अधिकांश विरामीले सहयोगी वा नर्स भनेरमात्र बुझ्ने गर्छन् ।’

६ महिनादेखि स्थायी दरबन्दीमा जिल्ला अस्पताल जिरीमा कार्यरत डाक्टर अर्चना के.सी अझै पनि छोरी मान्छे डाक्टर हुन्छन् भन्ने पत्याउनै गाह्रो मान्ने देखेर अचम्म लाग्ने गरेको बताउँछिन् ।  भन्छिन् –‘म डाक्टर नै हुँ भन्दा अक्मकाउँछन्, पत्याउनै गाह्रो मान्छन् ।’

महिलाको नेतृत्व र परिश्रम स्वीकार्न नसक्ने समाजमा नजानेकाले गर्ने विभेद भन्दा जानेकाले गर्ने विभेद पूर्ण व्यवहारले कहिले काहीँ निराश बनाउने गरेको अनुभव उनी सुनाउँछिन् । अस्पतालमा कार्यरत पुरुष स्वास्थ्यकर्मी अहेब नै भएपनि अधिकांश विरामीले डाक्टर भनेर बोलाउँछन्, उनीहरूलाई विश्वास गर्छन् । महिला डाक्टरलाई विश्वास गर्ने थोरै भेटिने गरेको डक्टर के.सीको भनाई छ । ग्रामिण क्षेत्रमा मात्र नभएर महिलालाई डाक्टर भन्न नरुचाउने जमात सहरमा पनि थुप्रै भेटिएको उनले बताईन् ।

राजधानीका अस्पतालमा काम गर्दापनि भर्ना भएका बिरामीको अवस्था के छ भनेर बुझ्न गयो भने सिस्टर डाक्टर कतिबेला आउनुहुन्छ भनेर सोध्ने गरेको अर्चना बताउँछिन् । उनी भन्छिन्– ‘डाक्टर म नै हुँ भन्यो भने सबै विरामी आपसमा मुखामुख गर्छन्, पुरुष र महिलाले डाक्टर बन्न गर्नुपर्ने मेहनत उस्तै हो । नेपालकै सन्दर्भमा पुरुष भन्दा महिला डाक्टर उत्कृष्ट भएका उदाहरण पनि छन्, तर समाजले हेर्ने दृष्टिकोणमा चाहि परिवर्तन भएको छैन ।’

भर्खरै एमविविएस सकेर करारमा दोलखाको प्रस्तावित चरिकोट अस्पतालमा आएकी डाक्टर श्रद्धा आचार्यको पनि उस्तै अनुभव छ । ‘समाजमा छोरा र छोरी बीच हुने विभेद त छदैंछ, पेशामा पनि महिला पुरुषबीच विभेद हुँदा नरमाईलो हुन्छ’   डा आचार्यले भनिन् ।

  निरक्षर वर्गले डाक्टर भनेर नपत्याउँदा दुःख लाग्दैन, तर यहाँ त पढे लेखेकै मानिसले हामी महिलालाई डाक्टर भनेर स्वीकार गर्दैनन् । महिलालाई डाक्टर नै नमान्ने बौद्धिकहरूको शिक्षा प्रति शंका लाग्ने गरेको डाक्टर आचार्यको भनाइ छ । दोलखा जिल्लामा अहिले जिल्ला अस्पताल जिरी र प्रस्तावित चरिकोट अस्पतालमा गरी ४ जना महिला डाक्टर कार्यरत रहेको जिल्ला स्वास्थय कार्यालय दोलखाले जनाएको छ । उनीहरू सबैको अपेक्षा महिला पनि डाक्टर हुन्छन् भन्ने सबैले बुझ्नु पर्छ र विश्वास गर्नुपर्छ भन्ने रहेको छ । साथै यसको लागि पुरुष सहकर्मीले पनि सहयोग गर्नुपर्ने उनीहरूको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: