महिला खबर
काठमाडौं । सरकारले मानव बेचबिखनसम्बन्धी नयाँ कानुन बनाउनुपर्ने र भएका कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव एक कार्यक्रमका सहभागीले दिएका छन् ।
चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जालको चौथो राष्ट्रिय सम्मेलनमा सहभागी वक्ताले बेचबिखनमा परेका महिलाको उद्धारलाई प्रभावकारी बनाउनुपर्ने र पीडितलाई न्याय दिलाउन सरकारले छिटो पहल गर्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।
सहभागीले नेपालका कति महिला, बालबालिका बेचबिखनमा परेका छन् र कुन कुन मुलुकमा बढी बेचबिखनमा पर्ने गरेका छन् भन्ने तथ्याङ्क नभएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।
सम्मलेनमा भूकम्पपछि मानव बेचबिखन बढेको र भारतमा मात्र बर्सेनि १३ हजारभन्दा बढी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको बताइएको थियो । अहिले भारतमात्रै दुई लाख नेपाली महिला तथा बालिका यौन व्यवसायमा संलग्न रहेको सञ्जालले जनाएको छ ।
सम्मेलनमा बोल्दै सञ्जालका अध्यक्ष भारती सिलवाल गिरीले नयाँ दिल्ली, हङकङ, तिब्बतमा धेरै महिलाको बेचबिखन हुने गरेको बताउनुभयो । भूकम्पपछि महिलालाई रोजगारीको प्रलोभनमा, सहज र राम्रो जीवनयापन हुने लोभ देखाएर बेचबिखनमा पार्ने गरेको उहाँको भनाइ छ ।
उहाँले यौन व्यवसायका लागिमात्र नभई मानव अङ्ग तस्करीका लागि समेत महिला तथा बालबालिकाको प्रयोग गर्ने गरेको बताउनुभयो । खुल्ला सीमाका कारण भारतमा महिला, बालिका बेचबिखनमा बढी पर्ने गरेपनि विभिन्न संस्थाको सक्रियतामा केही कमी आएको उहाँले बताउनुभयो ।
Comment Here!