निरज सापकोटा
रामेछाप । गाउँको नाम बडीमुहान, तर पानी लिन डेढ घण्टा हिँडेर तामाकोशी पुग्नुपर्ने । त्योपनि धमिलो । सुनारपानीबाट भर्खरै विवाह गरेर बडीमुहान आएकी अस्मिता बसेललाई शुरुका ३–४ दिन आफ्नो घरमै पिउने पानी घाँटीबाट गएन । वर्षायामको तामकोसीको भेलबाटै उठाएर ल्याएको पानी उनको भान्छामा पिउन योग्य भएर गाग्रोमा थियो । गाग्रोको पीँधमा तैरिएको बालुवा, त्यसमाथिको पानी उनले पिउने आँटै गर्न सकिनन् ।
‘मेरो विहे भएको छ महिना भयो, सुनारपानीबाट म विहे गरेर यहाँ आएकी हुँ । अहिले पानी लिन कोसी जान लागेको’ रित्तो गाग्री डोकोमा बोकेर कोशीतिर झर्दै गरेकी अस्मिता वसेलले बताइन् । उनले भनिन् ‘शुरु–शुरुमा त पानी पिउने आँट नै आएन, यति धमिलो पानी गाग्रोमा तैराएर पिउनु पर्ने, तर सबै गाउँले यही पानी पिउँछन् । यही पानी लिन पनि दैनिक एक घण्टा भन्दा बढी हिँड्नुपर्छ ।’
जान आउन दुई घण्टा लगाएर कोशीको प्रदुषित पानी लिन आउने अस्मिता एक्ली होइनन् । मन्थली नगरपालिकाभित्रै पर्ने बडीमुहानका सम्पूर्ण गाउँले विहान, बेलुका दैनिक एकदेखि डेढघण्टा हिँडेर पानी लिन तामाकोसी झर्छन् । नुहाउँछन्, धुवाउँछन् र भरेको गाग्री डोकोमा राखेर र घरतिर उकालो लाग्छन् । ‘वर्षायाममा समेत गाउँमा कुनै पनि पँधेरो नभरिएको र मुल नफुटेको झण्डै १० वर्ष भयो’ बडीमुहानकै हरिमाया माझीले भनिन् । उनलाई थाहा भएसम्म पहिला गाउँ मै पानीको ठूलो मुहान भएकै कारण त्यो गाउँको नाम बडीमुहान रहन गएको हो । ‘ त्यो मुहान सुकेपछि हिजोआज हामी सबैजनाको पानीको मुहान तामाकोसी नै हो, हिउँद होस् कि वर्षा, जस्तो पानी आउँछ त्यही उठाएर लाने हो, अब हामीलाई त यस्तो धमिलो पानी पनि पचिसक्यो’ हरिमायाले भनिन् ।
पानी लिन आएकी गीता माझीको टाढा पानी लिन जानुपर्न कारणले पढाइ छुट्ने गरेको छ । उनी भन्छिन् ‘पानी बोक्ने टाढा जानुपर्ने कारण कहिलेकाँही विद्यालयमा ढिलो पुग्छु, पानी बोक्न कोसीमा आउँदा, जाँदा समय लाग्छ, यही पानीले गर्दा कहिलेकाँही स्कूल समयमा पुगिँदैन ।’
उनका वुवा र दाजुहरू मजदुरी गर्छन्, सिजनमा खेतीपाती, पानी बोक्ने काममा प्रायः आफूहरूले नै गर्नुपर्ने उनले बताइन् । दैनिक जनजीविकाका लागिमात्र होइन बडीमुहानबासीहरू गाइवस्तुलाई खुवाउने पानी समेत कोसीबाट ओसार्छन् । बुधमाया भन्छिन् ‘मान्छेले खाने पानी र वस्तुभाउलाई खुवाउने पानी सबै कोसीबाट नै बोक्नुपर्छ । बोकेर खुवाउनुपर्ने पानी भएकोले वस्तुभाउले अगाउन्जेल पानी खान पाउन मुस्किल हुन्छ । अब खेतबारी छ । पानी छैन, हरियो सागपात लगाउन पनि के ले पो सह आउँछ र ।’
रामेछाप जिल्लाका २२ वटा गा.वि.स.लाई सुक्खाग्रस्त घोषणा गरिएको छ । जिल्लाका सदरमुकामसँग जोडिएका गाविसहरुमा नै खानेपानीको हाहाकार छ । सदरमुकाम मन्थली बजारभित्रै पनि खानेपानीका लागि बिजुलीमा भर पर्नुपर्ने बाध्यता छ । तामाकोसी किनारमा इनार खनेर त्यहीँबाट लिफ्ट गरि तानिएको पानीको भर पर्दा बत्ति नभएका बेला ४ दिनसम्म पानी धारमा आउँदैन । जिल्लाका सुक्खाग्रस्त क्षेत्रमा सुनकोसी र तामाकोसी नदीले अधिकांस क्षेत्र भेट्दछ, तथापी पानीको अर्को मूल र व्यवस्था नहुँदा ती क्षेत्रका बासिन्दा खानेपानीको सुविधाबाट बञ्चित भएका छन् । पानीको व्यवस्था भएका स्थानमा पनि लिफ्टमात्र एउटा विकल्प बनेको छ ।
Comment Here!