‘विकृति’ नबनोस् संस्कृति


प्रकाशित मिति :2016-09-01 11:02:49

आज कुनैपनि पतिले ‘मेरो दीर्घायुको लागि तिमी व्रत बस्नैपर्छ’ भनेर बाध्य पार्दैनन् । न त ‘खुट्टा पखालेर पानी खाउ’ नै भन्लान् । व्रत र पूजापाठ गर्नु आत्मिक शान्तिको लागि हो र यो स्वतस्फूर्त हुनुपर्छ

रामेश्वरी पन्त
rameshoriतीजको रौनक बढेसँगै अहिले सोसल मिडियामा महिला दिदीबैनीहरूको पहिरन र खानपानको खुबै चर्चा हुनेगरेको छ । विदेशी महँगा सारी र लेहेँगादेखि लिएर तारे होटल र पार्टीप्यालेसहरूमा आयोजना गरिएका ‘दर खाने’ कार्यक्रमका तस्बिर प्रदर्शन र चर्चा परिचर्चाले विभिन्न किसिमको बहस सिर्जना गरेको देखिन्छ । विश्वबजारिकरण र पूँजिवादले खर्लप्पै पार्न आँटेको नेपाली समाजमा हराउँदै गएको तीजको मौलिकता र भड्किलो सहरिया संस्कृतिको प्रसारप्रति जोकोहीको मनमा पनि कुरा खेल्नु स्वाभाविकै लाग्दछ ।

कुनैबेला धार्मिक आस्था र विश्वाससँग जोडिएको ‘चेलीमिलन’को पर्व तीज अर्थात् ‘हरितालिका व्रत’ आज मात्र ‘खाने, पिउने र रमाइलो गर्ने’ पर्वको रुपमा विकसित भएको छ । व्रत बस्ने जम्मा एक दिन भएपनि दरखाने दिनले एक महिनादेखि नै निरन्तरता पाइरहेको छ । बिहे गरेर पराइघर गएका चेलीहरू वर्षा र खेतीपातीको मौसम सकिएपछि थकाई र न्यास्रो मेट्न माइत जाने र आमा, दिदीबैनी र संगीसाथीहरूसँग सुःखदुःख पोख्ने अवसरको रुपमा जुराइएको तीजपर्व आज ‘माइत नगए पनि हुने, तर रमाइलो चाहिँ गर्नपाइने’ अवसरको रुपमा विकसित हुँदैछ । आफ्नो मौलिकता गुमाएर ‘भड्किलो र बजारु’ बन्दै गएको तीजले एकातिर संस्कृतिको निरन्तरताको नाममा विकृतिलाई पक्षपोषण गरिरहेको देखिन्छ भने अर्कोतिर ‘धनाढ्य’ र ‘बोक्रे’हरूका कारण निम्नवर्गीय परिवारमा पनि मौलाएको जबर्जस्ति देखासिकीले अनावश्यक आर्थिक भार थोपरेको छ । पालैपालो दर खुवाउने वा मोटो रकम उठाएर पार्टीप्यालेसहरूमा दरखाने चलन सिधै कथित ‘इज्जतको सवाल’सँग गएर ठोक्किन पुग्छ । साँस्कृतिक चाडपर्वहरूमाथि पूँजिवादको यो जबर्जस्ति हमलामा कोको पीडित हुन पुग्छन् भन्नेकुराको व्याख्या गरिरहनु पर्दैनहोला ।

तीजको धार्मिक पाटोः

b11
हिन्दु धार्मिक संस्कृतिको रुपमा परंपरागत रुपले मानिंदै आएको तीज पर्व र ‘हरितालिका व्रत’को धार्मिक इतिहास खोज्दै जाँदा यो लिङ्गपुराणसँग जोडिएको पाइन्छ । पिता दक्षप्रजापतिले पति शिवको अपमान गरेको सहन नसकी रिसको आवेगमा अग्निकुण्डमा हामफालेर देहत्याग गरेकी सतीले अर्को जन्ममा पार्वतीको रुपमा हिमालयकी पत्नी मेनकाको गर्भबाट जन्म लिन्छिन् र पूनः शिवलाई नै पतिरुपमा प्राप्त गर्न अनेक कठोर व्रत र तपश्या गर्न थाल्छिन् । यो जान्दाजान्दै पनि पार्वतीका पिताले नारदको सल्लाहमा विष्णुसँग पार्वतीको बिबाह गर्ने तयारी गर्छन् । यो कुरा थाहा पाएकी पार्वती साथीहरूको सहयोगमा भागेर जंगलको एकान्त गुफामा गई अन्न जल त्यागेर शिव आराधनामा लीन् हुन्छिन् । पार्वतीको कठोर व्रतवाट प्रशन्न भएका शिवले उनलाई दर्शन दिई पत्नीरुपमा स्वीकार्छन् र उनीहरूको बिबाह सम्पन्न हुन्छ । भाद्र शुक्ल तृतीया हस्त नक्षत्रमा वालुवाको शिवलिङ्ग बनाई शिवआराधना गरेर पार्वतीले इच्छित पति प्राप्त गरेको हुँदा यसैलाई आधार मानेर हिन्दू नारीहरू(बिबाहितले सुखद दाम्पत्यको लागि र अबिबाहितले इच्छित वर प्राप्तिको लागि)ले यस दिन निराहार मात्र होइन, जल सम्म पनि नपिएर व्रत बस्ने परंपराको विकास भएको धार्मिक मान्यता छ ।

शिव पति पाउन पार्वतीले गरेको हरितालिका व्रत अहिलेको ‘हड्ताल’ वा ‘आमरण अनसन’ जस्तै हो । जलसम्म पनि नपिई व्रत बस्नुको पार्वतीका लागि एउटै लक्ष प्राप्तिका दुई उद्देश्य थिए–पहिलो कठिन तपद्वारा शिवलाई खुसी पार्नु र दोस्रो घरबाट बिद्रोह गरी भागेर अनशन बसि माता पितालाई विष्णुसँगको अनिच्छित कन्यादान रोक्न विवश पार्नु । यी दुबैमा पार्वती सफल भएको दिन हो भाद्र शुक्ल तृतीया । यस दिनलाई धेरैले आ–आफ्नै किसिमले व्याख्या गर्ने गरेको पाइन्छ । जे जसरी व्याख्या गरिएतापनि यसको धार्मिक पाटो नै बलियोगरि समाजमा स्थापित छ ।

यही धार्मिक आस्था र विश्वासका कारण तीजको दिन पानीसम्म नपिई व्रत वस्नुपर्नेहुँदा अघिल्लो दिन सबै चलीवेटीहरू सम्भव भएसम्म माइतीमा जम्मा हुने र मीठोमसिनु खानेगर्दछन् र मध्यरातसम्म नाचगान गर्दछन् । मध्यरात कटेपछि भोलिपल्टलाई पनि आड पुग्नेगरि खीरलगायत मीठोमीठो खानेकुरा खान्छन् । यही मध्यरातमा खाइने खानालाई नै साँचो अर्थमा ‘दर’ भनिन्छ किनकी यही खानाले नै भोलिपल्ट दिनभरिनै ‘दरो’गरि व्रत बस्न सकियोस् र आफ्नो कामना सिद्ध होस् । अझै पनि हाम्रा गाउँघरतिर साँचो अर्थमा ‘दर’ खाइन्छ । वर्षाभरिको खेतीपातीबाट फुर्सदपाएर चेलीहरू माइतीजाने र रमाउँदै दर खाएर तीज मनाउने परम्पराले गाउँघरतिर अझै मौलिकता गुमाउन पुगेको छैन होला ।

गुम्दै तीजको मौलिकताः

b22
अहिले ‘अर्थ’(पुँजिबाद)ले ‘दर’को अर्थ फेरिदिएको छ र तीजको अघिल्लो दिन खाइने ‘दर’ अब एकमहिना अघिदेखि नै तारे होटल, पार्टीप्यालेस र क्याफेहरूमा खुवाउने संघसंस्था र व्यक्तिहरूको स्तर अनुसारको ‘दरैदर’ भएको देखिन्छ । नहोस् पनि किन ? हाम्रा गाउँघर अचेल रित्तिंदै जाने र गाउँबाट शहरमा थुप्रिने क्रम तिब्र छ । गाउँका बाँझा खेतबारी हेर्ने र रित्तिएका माइतीआँगन टेक्ने जाँगर कसलाई पो होला र ! बूढा बाबुआमालाई ‘फुर्सद भएन’ भनेर मोबाइल फोनबाटै बोलिदिए पुगिहाल्छ बिचरा ! बरु पैसा भए शहरमै तीज गज्जबको । दिदीबैनी पनि चाहिएन, आमाबाबु पनि चाहिएन, टोलछिमेक, संघसंस्था भए पुगिहाल्यो । मस्तले खायो, नाच्यो गायो । पुँजिबादले चाडपर्वलाई शहरिकरण, बजारिकरण र बिकृतिकरण मात्र गरेको छैन, यसले मान्छेलाई मानवीकरणबाट व्यक्तिकरण पनि गरेको छ । यही व्यक्तिकरणले हाम्रा सांस्कृतिक मुल्यमान्यतालाई आधुनिकीकरण गर्ने नाममा भ्रष्टिकरण पनि गर्दै लगेको महशुस हुँदैछ । महिलाहरूले सुखदुख र वेदना पोखेर नाचगान गर्ने रमाउने तीज आज रत्यौलिएको छ । सुन्न र हेर्न नसकिने शव्द र दृश्यले तीजको गरिमालाई कुरुप बनाउँदै लगेको छ ।

शहरिया तीज भड्किलो खर्चालु बन्दै गएपछि यसले सर्वसाधारण परिवारमा पार्ने आर्थिक भार र मानसिक असरलाई ध्यानमा राख्दै गएको वर्षभन्दा अघिल्लो वर्ष राज्यको कुनै एक निकायबाट ‘तीजलाई भड्किलो पार्नेहरूका पुरुषलाई कारबाही गरिनेछ’ भनिएबाट त्यो वर्ष तीजको तडकभडक खुला रुपमा त्यति भएन । गएको वर्ष भूकम्पले गर्दा पनि अलि कम नै भयो । तर यो वर्ष भने फेरि एक महिनाअघि देखि नै शहरहरू तीजले रंगिएका छन् । महँगा तारे होटलमा तीजको दर खानु अब सामान्य लाग्दैछ । आज एक संस्थाको, भोली अर्को संस्थाको, पर्सि अर्कोको पालो । खानेहरूलाई पालो पुर्‍याउन मात्र होइन, पालैपालो अलगअलग पहिरनमा ठाँटिनुपर्ने बाध्यता पनि कम सकसपूर्ण छैन । पैसावालहरूलाई त फरक नपर्ला, तर उनीहरूका कारण सकसमा परेका श्रीमतीहरूको ‘चाहना’ पुर्‍याउन महिनाभरको खर्चटार्नुपर्ने पैसा एकैपटकमा स्वाहा पर्नुपर्ने र नपुगे ऋणै भएपनि काढ्नुपर्नेहरूको मर्म पनि सानो हुन्नहोला । मैले यसो भनिरहँदा ‘महिला भएर महिलाकै बिरोध गरेको’ ठानिएला तर वास्तविकता यही हो ।

b33

महिलाका सरोकारमा खुलेका विभिन्न संघसंस्थाको तीज र उनीहरूले गर्ने खर्चले महिला सशक्तिकरणमा केकत्तिको भूमिका खेल्छ र आम विपन्न महिलाको स्तर उकास्न सकेको छ कि छैन ? भन्ने प्रश्न पनि महत्वपूर्ण हुनुपर्ने हो कि ? त्यसो त अस्तिभर्खर विभिन्न सञ्चारमाध्यममा पढ्न र सुन्न पाइयो–राष्ट्रपति निवासमा पनि धूमधामले तीज मनाइयो रे ! राष्ट्रपति विद्यादेवी भण्डारीले थुप्रै विशिष्ट ‘पुरुष’हरूलाई पनि दरखाने निम्तो दिएकी थिइन् रे ! शितलनिवासमा राज्यको ढुकुटीबाट(?) खुवाइने दरमा केही विशिष्ट महिलासमूहको उपस्थितिमा नाचगान प्रस्तुत गर्दै तीजको मौलिकता र हिन्दू संस्कृतिको जगेर्ना गरिएको थियो भन्ने पनि सुनियो । त्यसो त त्यहाँ साधारण महिलाको पहुँच पुग्ने कुरै भएन । हुन त यी खबरसँगै ‘पहिरोको डरले रातभर जंगलको बास गर्ने महिला र बालबालिकाका कथा’ र ‘यसपाली पनि त्रिपालमै तीज’ जस्ता खबर पनि नलेखिएका वा नभनिएका पनि होइनन्, तर यी खबरहरू शितलनिवाससम्म पुग्छन् कि पुग्दैनन् कुन्नी ?

रातारात ‘धर्म निरपेक्ष’ घोषणा गरिएको गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्नुभन्दा अघिल्लो दिनसम्म कम्युनिष्ट बिचारधारा बोकेर राजनीति गरिरहेकी विद्यादेवी भण्डारीले हिन्दू साँस्कृतिक पर्व तीजको सम्मान गर्दै दरको आयोजना गरेकोमा आपत्ति जनाएको होइन, तर प्रश्न यो हो कि कुनै जाति, धर्म र वादभन्दा माथिको राष्ट्रको सर्वोच्च पदमा तीन करोड नेपालीको अभिभावक बनेर बसेकी उनले एउटा धर्मविशेषलाई मात्र यति महत्व दिएर अनावश्यक खर्चगर्नु जरुरी थियो ? हो ! उनी हिन्दू धर्म मान्ने भएकोले तीजको व्रत बस्न सक्छिन्, परिवार र आफन्त जम्मा गरेर दर खुवाउन सक्छिन्, तर तीजको नाममा फजुल खर्च र आडम्बर देखाउन पदीय गरिमाले अनुमति दिन्छ जस्तो लाग्दैन । बरु संस्कृतिको नाममा यतिबेला शहर बजारमा देखिएका र तडकभडक र फजुल खर्च रोक्नको लागि हाम्रा ‘आधुनिक र संभ्रान्त’ महिला दिदीबैनीहरूको नाममा उनको एउटा सानो सम्बोधन नै काफी हुने पो थियो कि ?

राष्ट्रपतिले मात्र होइन, कम्युनिष्ट भनिएका पार्टीका कार्यालयहरूमा पनि धूमधामले तीजको दर खुवाइएको सुनियो । धर्मलाई ‘अफिम’ भन्दै ‘माओको मन्त्र’ जप्ने कम्युनिष्ट नेताहरू, जसले जनयुद्धकालमा मन्दिरमा दिसा पिसाब गर्न आदेश दिन्थे रे, आज तिनैले धर्मसँग जोडिएको तीजमा दर खुवाउने कार्यक्रम गर्नुलाई ‘साँस्कृतिक रुपान्तरण’ भनेर व्याख्या गरेर मात्र पुग्लाकी विगतमा छरेका भ्रमप्रति आत्मालोचना पनि जरुरी होला ? अनि नयाँशक्ति नेपालको ‘दर उत्सव’लाई केमा लगेर जोड्ने हो ? यी कार्यक्रमहरूमा उपस्थित महिला दिदीबैनीहरूलाई दर खानेमात्र होइन, तीजमा व्रत बस्न पनि भनिएको छ कि छैन होला ? तीजको मर्म त व्रतमै हुन्छ होला नि हैन र ?

अन्तमा…

आज शिक्षित भनिएका महिलाहरू एकातिर धर्म, व्रत र पूजापाठले महिलालाई पुरुषको दास र भाग्यवादी बनाएको भन्दै हिंड्छौं भने अर्कोतिर एकमहिना अघिदेखि नै रातोसारीमा सजिएर तारे होटलमा दरखान जान संकोच मान्दैनौं । यो कस्तो बिरोधाभास हो ? व्रत बस्नु कुनै कालखण्डमा महिलाको लागि बाध्यता थियो होला, तर आज पनि बाध्य पारिन्छ भनेर कसैले भन्छ भने त्यो पूर्वाग्रह मात्र हुनेछ । आज कुनैपनि पतिले ‘मेरो दीर्घायुको लागि तिमी व्रत बस्नैपर्छ’ भनेर बाध्य पार्दैनन् । न त ‘खुट्टा पखालेर पानी खाउ’ नै भन्लान् । व्रत र पूजापाठ गर्नु आत्मिक शान्तिको लागि हो र यो स्वतस्फूर्त हुनुपर्छ । तीजको दिनमा शिवमन्दिरमा लाग्ने महिलाको घुइँचो पक्कै पनि कुनै निरंकुश शासकको आदेशमा उभ्याइएका मिलिसिया पक्कै होइनन् होला । अघिल्लो दिन कोचीकोची दर खाएपछि भोलिपल्ट एकदिन भोकै बसेपनि केही फरक पर्दैन, तर पानी पनि नखाई दिनभर मन्दिरमा लाइनमा खडा हुनु चाहीं आफैँलाई हानी पुर्‍याउनु हो त्यसैले सके पानी खाएर, नसके फलफूल खाएर व्रत बस्नु नै बुद्धिमानी हुन्छ । आफू स्वस्थ्य रहे नै एउटी महिलाले परिवारलाई स्वस्थ्य राख्न सक्छिन् ।

र यो पनि–

संस्कृति हाम्रो धरोहर हो, हाम्रो पहिचान हो र राष्ट्रको गरिमा हो । हरेक धर्म र जातजातिसँग जोडिएर आएका विभिन्न संस्कृति र चाडपर्वहरूको संरक्षण र जगेर्ना गर्नु सबैको कर्तव्य हो । संस्कृतिको मौलिकता जोगाउने हामीले नै हो, तर संस्कृति जोगाउने नाममा भित्रिने आर्थिक, सामाजिक र नैतिक विकृतिलाई रोक्नु पनि सबैको कर्तव्य हुन्छ ताकी भोलीका हाम्रा सन्ततीलाई उनीहरूले गर्व गर्नेगरि हाम्रा साँस्कृतिक र धार्मिक मूल्यमान्यताहरू हस्तान्तरण गर्न सकौं । सबै दिदीबैनीहरूलाई तीजको शुभकामना !!

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: