महिला खबर
रामेछाप । राष्ट्रिय खेलकुद परिषदको ५३ औँ बार्षिक उत्सवको अवसरमा आयोजित प्रथम रामेछाप जिल्लास्तरिय खुल्ला तथा अन्तर विद्यालय चेस प्रतियोगितामा रेणुका र एलिसा उत्कृष्ट खेलाडी घोषित भएका छन्। जिल्लामा प्रथम पटक आयोजना गरिएको सो प्रतियोगितामा खुल्ला तर्फ खिम्ती गाविस निवासी रेणुका श्रेष्ठ र विद्यालयस्तरीयतर्फ मन्थली माविकी एलिसा कार्की उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
स्वीस लिगका लाधारमा खेलाईएको सो खेलमा ५ राउण्डका सबै खेल जित्दै खुल्लातर्फ झम्क कँडेलले उपाधी जितेका छन् भने विद्यालयतर्फ समान राउण्ड जिते पनि ट्राइबेकरमा मन्थली उमाविका दौलत सिं धामीले उपाधि हात पारेका छन्। उनीहरूले उपाधिसँगै क्रमशः नगद सात हजार, पाँच हजार, ट्रफि र मेडल हात पारे।
त्यस्तै खुल्लातर्फ चार अंकका साथ विजय कुमार श्रेष्ठ दोश्रो भए। उनले नगद ५ हजार पाए। यसैगरी साढे ३ अंक प्राप्त गर्ने तीर्थराज प्रसाई तेस्रो भए। उनले नगद रु ३ हजार पाए। त्यस्तै रेनुका श्रेष्ठ उत्कृष्ट भई नगद २ हजार पुरस्कार जित्न सफल भईन्। यस्तै विद्यालयतर्फ गोकुलगंगा मावि, रस्नालुका संजय सुनुवार दोश्रो र तामाकोशी बोर्डिङ स्कूलका अनिस बस्नेत तेश्रो भए। उनीहरूले ट्रफी, मेडलका साथै नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे। त्यस्तै मन्थली माविका एलिसा कार्कीले उत्कृष्ट छात्रा भै नगद २ हजार प्राप्त गरिन।
प्रतियोगिताको विजयी तथा सहभागिहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुषोत्तम कडरियाको सभापतित्वमा आयोजित एक कार्यक्रम बीच प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी , नेपाल बुद्धिचाल संघका केन्द्रिय उपाध्यक्ष श्री ज्ञानेन्द्र खाइजुलगायतले पुरस्कार वितरण गर्नुभयो।
साथै रामेछाप जिल्लाको प्रतिभावान खेलाडी तथा राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडीहरूलाई सम्मान समेत गरियो। सम्मानित हुनेहरूमा १२ औँ दक्षिण एसियाली खेल(जुडो तर्फ) रमेश मगर कास्य पदक, १२ औँ दक्षिण एसियाली खेल(स्क्वास तर्फ) भावना सुनुवार कास्य पदक र एसियन बीच गेम (साम्बो तर्फ) भगवती माझी कास्य पदक विजेता खेलाडीहरू रहेका छन्।
Comment Here!