महिलाको समानुपातिक सहभागिता नभएको दल दर्ता हुँदैन : प्रमुख निर्वाचन आयुक्त
महिला खबर
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले महिलाको समानुपातिक सहभागिता नभएको दल दर्ता नहुने बताउनुभएको छ । उहाँले केन्द्रमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न वडा र गाँउस्तरबाटै महिलाको सहभागिता गराउन आवश्यक रहेको बताउनु भएको छ ।
निर्वाचन आयोगद्वारा निर्वाचन सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न तयार गरिएको विधेयक माथि सुझाव दिन गएका नागरिक समाजका प्रतिनीधिसँग बोल्दै प्रमुख निर्वाचन आयूक्तले उक्त कुरा बताउनु भएको हो । आयुक्त यादवले भन्नुभयो ‘दल दर्ता गराउन आउने राजनीतिक दलले समानुपातिक रूपमा महिलाको सहभागिता नगराएको अवस्थामा दर्ता फिर्ता पठाई समानुपातिक सहभागिता गराएर ल्याउन बाध्य पार्ने छु ।’
उहाँले जनसंख्याको आधारमा महिलाको प्रतिनिधित्व गराउने कुरामा पनि निर्वचन आयोगले दलहरूको ध्यानाकर्षण गराएको जानकारी गराउनुभयो । निर्वाचन आयोगले लैङ्गिक समावेशी नीति पास गरिसकेकाले अव हुने निर्वाचनमा महिलाको प्रतिनिधित्व बढ्ने दावी गर्नु भयो ।
जागरण नेपालकी अध्यक्ष शर्मिला कार्कीले १६५ निर्वाचन क्षेत्रमा कम्तिमा ३३ प्रतिशत महिला जितेरै आउनु पर्ने व्यवस्था हुनुपर्ने बताउनु भयो । दल दर्ता गराउँदा राजनीतिक दलका सम्पुर्ण संरचनाहरूमा पधादिकारीसहित एक तिहाई महिला भएको दलमात्र दर्ता गराउन आग्रह गर्नुभयो ।
जागरण नेपालले संयोजन गरेको सुझाव पेश गर्ने कार्यक्रममा नीति वकालतको लागि महिला सञ्जाल, महिला सुरक्षा दवाब समूह, दलित महिला संघ, महिला कानुन र विकास मञ्चलगायत ११ संस्थाको सहभागिता रहेको थियो । अफ्ना सुझावलाई वेवास्ता नगरियोस भनेर महिलाहरूले फ्रेममै हालेर प्रमुख निर्वाचन आयुक्तलाई बुझाएका थिए ।
Comment Here!