चन्द्र बानियाँ
काठमाडौं । सरकारले भारतमा अलपत्र परेका पाँच नेपाली बालबालिकालाई उद्धार गरी बिहीवार काठमाडौं ल्याएको छ । उद्धार गरिएकामा १२ देखि १६ वर्ष उमेर समूहका बालबालिका रहेका छन् । ति मध्ये दुई बालिका र तीन बालक रहेका छन् । उद्धार गरी ल्याइएका मध्ये दुई जनाको ठाउँ ठेगान खुलेको छ भने तीनको खुल्न सकेको छैन । ल्याइएका मध्ये एक जना सल्यानको र अर्काे एक जना जाजरकोटको भन्ने खुल्न आएको छ ।
भारतमा अलपत्र अवस्थामा भेटिएका यी बालबालिका भारतको बालगृहको संरक्षणमा रहंदै आएका थिए । उनीहरूलाई भारतस्थित नेपाली राजदुतावास र माइती भारतको सहयोगमा महिला, बालबालबालिका तथा समाज कल्याण मन्त्रालयले उद्धार गरी काठमाडौं ल्याएको हो । उद्धार गरी ल्याइएका मध्ये दुई बालिकालाई माइती नेपालमा र तीन बालकलाई छोराछोरी नामक गैरसरकारी संस्थामा राखिएको मन्त्रालयका मानव बेचविखन तथा ओसार पसार नियन्त्रण शाखा प्रमुख सुनिता नेपालले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार उद्धार गरी ल्याइएका बालबालिकाको वारेमा विस्तृत जानकारी लिने काम भइरहेको छ । उनीहरू त्यहा कसरी पुगे र के का लागि लगिएको थियो भन्नेवारेमा अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ । शाखा प्रमुख नेपालका अनुसार मानव बेचविखनको उच्च जोखिमपूर्ण अवस्थाबाट उनीहरूलाई उद्धार गरिएको हो ।
Comment Here!