मैले गरेको काम नराम्रो भए स्रोता दर्शकले ‘फिल्टर’ गर्छन् : ज्योती मगर


प्रकाशित मिति :2016-09-02 11:43:18

नुनुता राई
पछिल्लो समयमा लोक फ्युजनमा चर्चामा रहेको नाम हो ज्योती मगर । रोल्पाको नुवागाउँमा जन्मेकी ज्योती १० वर्षदेखि काठमाडौंमा बस्दै आएकी छिन् । उनले लोकदाहोरीबाट सांगीतिक यात्रा शुरु गरेको करिव १७ वर्ष भयो । उनी नाच्न र गाउनमा उत्तिकै अव्बल छिन् । नेपाली लोकदोहोरीमा नाच्दा लगाउने गरेको कपडा र दाहोरो अर्थ लाग्ने शब्दको कारण उनी पटक पटक विवादमा आउने गरेकी छिन् । उनको सांगीतिक यात्रा र संघर्षको बारेमा महिला खबर डट कमले उनीसँग कुराकानी गरेको छ ।

jyoti

तीज आयो ज्योती मगरलाई कत्तिको छोएको छ ?
म अलि व्यस्त व्यस्तै छु । तर, तीजको कारण होइन साधारणतया म एकनासले व्यस्त नै हुन्छु ।

अहिले विशेष के मा व्यस्त हुनुहुन्छ ?
स्टेज कार्यक्रम गर्न नवलपरासी गएकी थिएँ । अब यो साता दुबई जाँदै छु । यस्तै छ । साँगीतिक कार्यकम मै व्यस्त छु । कलाकारको लागि यो खुशी पनि हो ।

तपाँईको बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल सामान्य बित्यो । आम गाउँको बालबालिकाको जस्तै थियो । गाउँले परिवेशमा हुर्कें ।  गाउँको साधारण खेती किसान गर्ने परिवारमा जन्मेकी हुँ । मेरो बुवा आमा अहिले पनि खेती किसान नै गर्नुहुन्छ ।

साँगीतिक यात्राको सुरुवात कसरी भयो ?
म सानैदेखि लोकदोहोरी सुन्थे । मलाई खुब मन पथ्र्यो । दुई कक्षाबाट नै गीत गाउने प्रतियोगितामा भाग लिन थालेँ । आठकक्षापछि दाङ झरें पढ्नको लागि । स्कुल पढ्दा नै जिल्लास्तरीय लोकदोहोरी प्रतियोगिताहरूमा भाग लिँदा मेरो टिमले धेरै वटा प्रतियोगिता जितेका छौं ।

सांगीतिक यात्राको सुरुवाती दिनमा कस्तो  संघर्ष रह्यो ?
सुरुवातमा त नाम होस, दाम होस भनेर लागियो । त्यो चाहनाको पछि दौडनाले संघर्ष भन्ने नै लागेन । मलाई त अब पो मेरो संघर्षका दिन शुरु भए जस्तो लाग्छ । मैले मेरो क्षेत्रमा एउटा स्थान बनाएँ । अब यसलाई अझ माथि पुर्‍याउन र टिकाउन गाह्रो छ । यसको लागि मैले धेरै मिहिनेत गर्नुपर्छ । यस अर्थमा अहिले संघर्ष गरिरहेकी छु  भन्ने लाग्छ ।

लोकदोहोरीको चल्तापुर्जा कलाकारको रुपमा तपाँईलाई लिइन्छ । खासमा लोकदोहोरी भनेको कस्तो गीत हो ?
खासमा लोकदोहोरी गीत भनेको सवाल जवाफ हो । यसबाट समसामयीक विषयमा रहेर एक अर्काको मनको पीडा, भँडास पोख्न मिल्छ, तर अहिले दुई जनाले गाएपछि लोकदोहोरी भन्ने गरिएको छ । यसले पछिल्लो पुस्तालाई अलमलमा पारेको छ लोकदोहोरी बारेमा । लोकगीत सम्बन्धि ज्ञाताहरू हुनुहुन्छ । उहाँहरूले लोक गीत र लोक दोहोरीबीचको फरकलाई स्पष्ट पार्न  जरुरी छ ।

तपाँईले गाउने गीत चाँही कस्तो गीत हो त ?
मैले गाउने फ्युजन लोकगीत हो । भाका लोक हुन्छ । संगीत पश्चिमा शैली मिसिएको हुन्छ । यसलाई विशुद्घ लोकगीत भन्न मिल्दैन ।

jm1

अनि यस्तो गर्दा विशुद्घ लोकगीतको परिभाषा विग्रदैन ?
म लोक गीत र हाम्रो राष्ट्रिय तरकारी खाना गुन्द्रुक उस्तै हो भन्छु । किन भने गुन्द्रुक पनि अचार खाएपनि भयो तरकारी खाएपनि भयो । यसलाई इच्छा र चाहना अनुसार बनाएर खाना मिल्यो । त्यस्तै लोकगीतलाई पनि विशुद्घ लोकगीत बनाएर गाए पनि भयो । मैले गाउने गीत जस्तो फ्युजन बनाए पनि भयो । यो त अहिले ट्रेन्ड नै चलेको छ । बजारमा आएका भनिएका अधिकांश लोकगीत यही शैलीको छ ।

समाजमा अझैपनि महिलालाई हेर्ने दृष्टिकोण परम्परावादी छ । तँपाईले म्युजिक भिडियोमा लगाएको कपडा भड्किलो, समाजमा विकृति छाएको आरोप लाग्ने गर्छन् नि ?

म एउटा कलाकार हो । मैले समाजको चाहना र आवश्यकता अनुसार प्रस्तुत हुन सक्नुपर्छ । यदि मैले गाउने गीतले, लगाएको कपडाले विकृती ल्यायो भन्ने हो भने मेरो गीत त यहीँ समाजले हेर्ने र सुन्ने हो । कलाकार जहिले पनि समाजको इच्छा र चाहना अनुसार चल्ने हो । समाजले नरुचाएको गीत संगीत कसरी चल्छ ? समाजले निर्धारण गरेको बाटोमा हिँड्नुपर्छ । यदि साँच्चै मैले गाउने गीतले विकृति ल्याएको हो भने मलाई फिल्टर गरेर पठाउनु हुन्छ नि । ज्योती मगर भनेर चिनिनुमा पनि दर्शक स्रोताको हातमा छ । ज्योती मगर नाम लोक क्षेत्रबाट विलिन हुन पनि स्रोता, दर्शक कै हातमा छ । समय परिवर्तनशील छ । समय अनुसार चल्ने हो । कलाकार भनेको समाजको ऐना हो । समाजमा जे छ त्यो कलाकारले प्रस्तुत गर्ने हो । मैले पनि त्यही गरिरहेकी छु । अहिले गुन्युचोली लगाएर हिँड्छ ? आधुनिक समय छ । यदि मैले गरेको काम नराम्रो छ भने म स्वत फिल्टर भएर जान्छु । यसमा दुईमत छैन ।

अहिले महिलाले समाजका कतिपय परम्परावादी सोच तोड्दै आएका छन् । तर जुन तरिकाले तपाँईले तोड्नुभएको छ , यसलाई कसरी लिने ?

हो हाम्रो नेपाली दिदीबहिनीहरू धेरै परम्परावादी सोँचहरु तोड्न थालेका छन् । यो समयको माग हो । कतिन्जेल हामी महिला भए कै कारण सिमित घेरामा बस्नु पर्ने ? हाम्रा पनि त रहर इच्छा हुन्छन् । हो अहिले हामी नेपाली महिला आफ्नो इच्छा रहर अनुसार चल्न थालेका छौं, तर यही हाम्रा रहर र इच्छालाई फेरि पनि विकृती भित्र्याएको आरोप लगाउन थालेका छन्  परम्परावादीहरूले । हामी महिलालाई केही थाहै छैन जसो गरेर अनेक आरोप लगाउन पछि पर्दैनन् । तर हामीले आफूले गरेको कामप्रति गर्व गर्नुपर्छ । हामी समाजमा रहने मान्छे हौं । हामी समाज र समय अनुसार चल्न पाउनुपर्छ । मैले जुन किसिमको गीत गाएको छु ।, यही समाज कै सेरोफेरोमा रहेका विषयवस्तु हुन् । हो म अलिकति फरक तरिकाले प्रस्तुत हुन्छु । समाज जस्तो छ त्यस्तै मेरो गीत छ । मैले भर्खरै गाएको तीज गीत जान्न बाबा जान्न,,,को अर्थ कत्ति गहिरो छ । यहाँ पुरुषले खुलेआम सडकको किनारमा पिसाव गर्दा केही नभन्ने अनि महिलाले हाफपेन्ट लगाउँदा छाडा भईस भन्ने ? मैले त्यस्तो महिलाको ईज्जतमा औँला उठाउने कार्य गरेको छैन । मैले मेरो ईच्छा र चाहना अनुसार लगाएको छु । समाजमा चल्तीमा रहेको कपडा पहिरिएको छु । यसलाई शसक्तीकरण हो भन्छु म । समाज भन्दा विपरीत गएर होईन महिलाले पनि आफ्नो सपना र रहर पुरा गर्न पाउनुपर्छ भन्ने लाग्छ ।

सन्चार माध्याममा तपाँईका बारेमा आउने समाचारलाई कसरी लिनुहुन्छ ?
कतिपय समाचारहरू नकारात्मक हुन्छन् । आफैलाई हाँसो लाग्ने खालको पनि हुन्छ । मेरो पेशालाई नै असर गर्ने खालका समाचार आउँदा त म खण्डन गर्छु । तर कतिपयलाई म वास्ता गर्दिनँ । एक त मेरो बारेमा कस्ता कस्ता समाचार आए भनेर थाह पनि हुँदैन । अर्को कतिपयले समाचार बिकाउनको लागि पनि विभिन्न मसालेदार समाचार बनाउने होडले पनि यस्ता समाचार आउँछन् । त्यस्तालाई के भन्ने जस्तो लाग्छ ।

तपाँईलाई त पारिवारीक जमघट भएको कार्यक्रममा बोलाउँदैनन् भन्छन नि ?
अँ, केही हदसम्म सत्य हो । जसले मलाई चिन्नुभएको हुँदैन उहाँहरूमा केही सञ्चार माध्यममा आएको नकारात्मक समाचारको असर हो । उहाँहरूमा भ्रम छ । तर मलाई चिन्नु भएकाहरूबाट त्यस्तो हुँदैन । प्रत्यक्ष भेटेपछि उहाँहरूको त्यो भ्रम टाढा हुन्छ । कुनै पनि कार्यक्रममा दर्शकको उपस्थिति अनुसार म प्रस्तुत हुने गर्छु । मैले तीन पुस्ता बाजे, छोरा, नाती एकै ठाउँमा भएको कार्यक्रममा प्रस्तुती दिईसकेकी छु ।

आम मान्छेले बुझने ज्योती मगर कस्तो कलाकार हो ? कसरी लिईदिउन भन्ने लाग्छ ?
आम मान्छेले बुझ्ने ज्योती मगर एकदम हाईफाई भएर हिँड्ने, दुःखले नछुने, शहरीया किसिमको । अलिक हाउडे, विन्दास स्वभावको । तर म रियल लाईफमा एकदम साधारण नेपाली महिला हुँ । म गाउँमा जन्मेकी हुँ । गाउँले जीवन नजिकबाट भोगेकी छु । दुःख बुझ्छु । गाउँले महिलाको अवस्था बुझेकी छु । म एउटा कलाकार हुँ मलाई साधारण नेपाली कलाकारको रुपमा स्वीकार्नुहोस भन्न चाहन्छु । म प्रतिको नकारात्मक भ्रम पनि छ । समाचारमा आए जस्तो म छाडा पनि छुइन ( हाँसो ) म नेपाली महिला हुँ । छिट्टै भावनामा बग्छुु । नेपालीले पचाउन सक्ने जत्तिको खुल्छु, खुलेकी छु । परिवार बसेर हेर्नु नहुने किसिमको कार्य गरेको छैन । यत्ति बुझिदिनु भए पुग्छ ।

पुरुषले महिलालाई कसरी लिने गरेको पाउनु भएको छ ?
महिलालाई हल्का रुपमा लिन्छन् । हाम्रो कलाकारिता क्षेत्रमा पनि महिलालाई क्षमता भन्दा रुपले चलेको मान्ने पुरुषहरू छन् । रुप भईन्जेल चल्ने अलि उमेर ढल्केपछि सकिन्छ भन्ने बुझाई छ । यस्तो हुँदा एउटा पुरुष कलाकारले महिला कलाकारको क्षमता नहेरी रुपको आधारमा मुल्याङ्कन गरिँदा दु्:ख लाग्छ । उमेरको हद पुरुषलाई पनि लाग्छ भन्ने नै सोँच्दैनन् ।

महिला कलाकारलाई गायन क्षेत्रमा अप्ठ्यारो छ ?
अप्ठ्यारो छ । महिला भएकै कारण यस्तो गीत नगाउ, यस्तो कपडा नलगाउ , फलानासँग नहिँड । मेरो बारेमा नकारात्मक समाचार बन्नुको कारण पनि यही हो । मैले लगाएको कपडामाथि धेरै टिप्पणी हुनुको कारण पनि यस्तै सोँचको उपज हो । हाम्रो समाज नै पुरुषवादी संरचनाबाट निर्मित छ । विहे गरेपछि श्रीमानको सेवा गरेर बस । सासुससुराको सेवा गरेर बस । घर सम्हालेर बस । भन्ने धारणाबाट सन्चालित छ  अझै पनि हाम्रो समाज । घरेलु हिँसा सहन पनि बाध्य हुनुपर्छ । यो सबै तोड्न सक्ने अगाडी आउँछन् । नसक्ने हराउन बाध्य हुनुपर्छ । अगाडी आएकाहरू त्यस्तो सोँचबाट ग्रसितको आँखाको तारो बनिरहनुपर्छ ।

ज्योती मगरले कुनै हिंसा भोग्नु परेको छ ? अबको पाँच वर्षपछि ज्योती मगर कुन अवस्थामा होला ?
म अविवाहित भएको कारण हिंसा त भोग्न परेको छैन । अबको पाँच वर्षपछि अझै हिट गीतहरू दिएको हुनेछु । विहे गरें भने घरजम गरेको हुनेछु (हाँस्दै) । संगीत क्षेत्रमा त बुढी भईन्जेल पनि हुन्छु नै (फेरि हाँसो )।

तस्विर सबै ज्योती मगरको फेसबुकबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: