महिला खबर
काठमाडौं । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकमारी झाले आर्थिक रुपमा सक्षम र आत्मनिर्भर नभएसम्म मानव बेचविखन रोक्न नसकिने बताउनु भएको छ ।
मानव बेचबिखनविरुद्धको दसौं राष्ट्रिय दिवस को अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति झाले कमजोर व्यक्ति जहिले पनि जोखिममा पर्ने भएकाले महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा रहेको बताउनुभयो ।
पछिल्लो समयमा मानव बेचबिखनको रुप परिवर्तन भएको भन्दै सभापति झाले यस्ता जघन्य अपराध रोक्न आर्थिक सवलीकरण र जनचेतनाका लागि काम गर्न आवश्यक रहेको औंल्याउनुभयो ।
धर्म पुत्र र धर्म पुत्री बनाउने नाममा भविष्यका कर्णधार बालबालिका देश भित्र र बाहिर बेचबिखनको जोखिममा परेको भन्दै सभापति झाले चिन्ता व्यक्त गर्नुभयो । मन्त्रिमण्डल बनेको यति धेरै दिन हुँदासम्म पनि महिला मन्त्री नहुनु भनेको महिलाको विषयमा प्रमुख दल पनि जिम्मेवार छैनन् भन्ने बुझ्न सकिने उहाँको आरोप थियो ।
कार्यक्रममा बोल्दै एमालेका सांसद पेम्वा लामाले मानव बेचविखनको रुप परिवर्तन हुनु भनेको अहिले पनि समाज दासता उन्मुख भएको बताउनु भयो । बेचबिखन यौनसँगमात्र सम्बन्धित नभएर बाँधा श्रम, अंग बेचविखनलगायतको रुपमा देखिएको उहाँको भनाइ थियो ।
मानव बेचबिखन खासगरी महिला तथा बालबालिका ओसारपसारको नियन्त्रण, रोक तथा सजायसम्बन्धी संगठित अपराधविरुद्धको महासन्धि अनुमोदनका बारेमा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता गीता पाठक संग्रौलाले युएन प्रोटोकल अनुमोदन गर्न ढिला भईसकेको बताउनुभयो । युएन प्रोटोकल अनुमोदन भएमात्र अहिलेको समस्यालाई कम गर्न सहज हुने भन्दै छिटोभन्दा छिटो अनुमोदन गर्न दवाव दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल(एटवीन) का अध्यक्ष मीना विष्टले बाह्सँगै आन्तरिक बेचबिखन पनि बढेकाले यसको नियन्त्रण गर्न ढिला भएको बताउनुभयो ।
महिला बालबालिका तथा समाज कल्ययाण मन्त्रालय र महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल(एटवीन) को संयुक्त आयोजनामा भएको कार्यक्रममा सांसद कमला कुमारी घिमिरे, कान्ता भट्टराई, पार्वत गुरुङ, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मी लगायतले मानव बेचविखनको अवस्थाको बारेमा मन्तव्य राखेका थिए ।
Comment Here!