तीज :बह विसाउने चौतारी


स्वच्छन्द भएर मनको बह विसाउने चौतारी हो महिलाका लागि तीज ।

प्रकाशित मिति :2016-09-03 10:00:18

दुर्गा कार्की
Durgaकाठमाडौं । सानो हुँदा चाडपर्व कहिले आउँछ भनेर औंला भाँचेर बसिन्थ्यो । जनै पुर्णिमादेखि नै यो क्रम सुरु हुन्थ्यो । जनै पुर्णिमा भन्दा तीजको प्रतिक्षा तिब्र हुन्थ्यो । मामा घर जान पाइने । आमा त तीजमा एकदमै कम माइत जान पाउनुहुन्थ्यो । किनकी घरमा फूपुहरू आउनुहुन्थ्यो । उहाँहरूलाई पकाएर खुवाउनुपथ्र्यो । अलिपछि दिदीको पनि विहे भयो । मेरी दिदी पनि कहिले तीज आउला र माइत जान पाउँला भनेर दिन गनेरै बस्नुहुन्थ्यो ।  तीजमा माइत आउँदा घरकामात्रै होइन विहे गरेर गएका साथीसँगी पनि भेट्न देख्न पाइन्छ भन्ने आश हुन्थ्यो उहाँको ।

हामी भने मामा घर जान पाइने खुशीले रमाउँथ्यौं । तीज लागेपछि मामा घरमा छुट्टै रमाइलो हुन्थ्यो, जुन हाम्रो गाउँमा हुँदैनथ्यो । मामा घरको गाउँमा रातीको खाना खाइसकेपछि गाउँका सवै महिला एउटा घरमा जम्मा भएर तीजको गीत गाउने चलन थियो । यो तीज आउनुअघि देखि नै सुरु हुन्थ्यो । हामी मामाको आँखा छलेर मावलका दिदीवहिनीसँग गीत गाउँने ठाउँमा जान्थ्या‌ंै । मामाहरूलाई हामी गएको थाहा हुँदैनथ्यो, थाहा पाए गाली गर्नुहुन्थ्यो ।

तीजमा मामा घरले तान्ने अरु कारण धेरै भएपनि यो एउटा बलियो कारण थियो– भाञ्जी हुनुको माया । सानीमाहरू टाढा थिए त्यसैले तीजमा भान्जीहरू हामीमात्रै हुन्थ्यौं  । तीजमा मामाघर जाने हामी दुई दिदीबहिनीबीच होडवाजी हुन्थ्यो । सँगै जान एकदमै कम पाइन्थ्यो ।
मामा घर जान नपाए घरमा पनि रमाइलो हुन्थ्यो । फूपु र दिदीहरु गाउँका अरु दिदीहरू आउने गफ गर्ने छुट्टै रमाइलो । दर खाने दिन बेलुकाको खाना खाएर सुतेपछि आमाले रातीपनि खान उठाउनुहुन्थ्यो । राती खानुपर्ने कारण भने थाहा थिएन । तीजमा राती खानुपर्छ भन्नेमात्रै बुझेकी थिएँ । राती सवैजनाले खीर खान्थ्यौं । ब्रत बस्नुपर्ने कारणले राती खानुपर्छ भन्ने थाहै थिएन किनभने हामी कहिल्यै ब्रत बसेनौं । ब्रत बस्दा आमा दिदीहरूले दुध, पानी खाएरै बस्नुहुन्थ्यो । पानी पनि खानुहुन्न वा थुक समेत निल्न हुन्न भन्ने कुरा काठमाडौं आएपछि मात्रै मैले सुनेकी हुँ ।

भोलीपल्ट तीजको दिन हामी पढ्ने स्कुलमा निकै रमाइलो हुन्थ्यो । पुरै गाविसका महिला स्कुलमा भेला हुन्थे, नाच्ने गाउने वातावरण असाध्य रमाइलो हुन्थ्यो ।

गीत धेरैजसो आफ्नो घरपरिवारले आफूमाथि गरेको व्यवहार, दिएको दुःख र श्रीमानका बारेमा हुन्थे । आफ्नो इच्छा विपरित बुवाले आफ्नो विवाह गरिदिएकोदेखि पढ्न नपाउँदा आफूले पाएको दुःख, यसैकारण श्रीमान र घर परिवारको हेपाइसम्मका कुरा गीतमार्फत उनीहरूले व्यक्त गर्थे । यस्तै गीत सुन्न यो दिनको तिब्र प्रतिक्षा हुन्थ्यो । हामी सवै त्यहाँ जान्थौं ।

अहिले सम्झँदा लाग्छ गाउँका महिलालाई सवै भन्दा ठुलो स्वतन्त्रता दिवस तीज रहेछ । वर्षभरीको कडा बुहार्तनपछि पाएको दुईदिनको विदामा गीतमार्फत उनीहरूले आफ्ना असन्तुष्टि र खुशी दुबै पोख्थे र मन हल्का पार्थे । दिदीवहिनी र आफ्ना दामलसँग भेटेर सुखदुख साट्थे । अहिलेजस्तो फोन थिएन । माइती भेट्न यस्तै चाडवाड कुर्नुपथ्र्यो । मलाइ लाग्छ फोन र जतिसुकै प्रविधिको विकास भएपनि गाउँँमा यो अवस्था अझै छ । त्यसैले शहरका भन्दा गाउँका महिलामा तीजको प्रतिक्षा व्यग्र हुन्छ ।

पछिल्लो समय तीजमा विकृती बढ्यो भन्ने गुनासाहरू आउन थालेका छन् । त्यो विकृति खाने लाउने कुरादेखि लिएर तीजमा बस्ने ब्रतसम्ममा जोडिएको छ । यो विकृति विस्तारै गाउँमा पनि भित्रिन थालेको छ । पहिलाका जस्ता सुख दुःखका गीत गाउँमा पनि हराएका छन् । तथापी सहरका महिलालाई आफ्नो रवाफ देखाउन तीजको प्रतिक्षा होला, तर गाउँका महिलालाई बाबुआमाको अनुहार हेर्न, साथीसँगीसँग भेट्न र बिहे अगाडीको झझल्को साथ बाँच्न तीजको तिब्र प्रतिक्षा हुन्छ । घरको सम्पुर्ण घर व्यवहार र दुःख विर्सेर स्वतन्त्रतापुर्वक खुला आकाशमा उड्न तीजको प्रतिक्षा हुन्छ । आमाले पकाएको चोखोमिठो खान पाउँदाको खुशी छदैंछ ।

स्वच्छन्द भएर मनको बह विसाउने चौतारी हो महिलाका लागि तीज । त्यसैले हामीले शहरमा तीजमा बढेको तडकभडक र ब्रतका नाममा गरिने अनावश्यक विकृतिलाई चिर्दै आम महिलाको स्वतन्त्रता र मेलमिलापको दिवशका रुपमा मनाउन प्रोत्साहन गर्नु आवश्यक छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: