किन कुरा लुकाउँछन् पीडितहरू ?


प्रकाशित मिति :2016-09-04 10:00:51

परिवार र समाजको दबाबमा कुरा लुकाउन विवश छन् पीडितहरू । खासगरी जलाइएका महिला सुरक्षाको अभावमा तथ्य लुकाउँछन् । यसको परिणाम दोषी पहिचान गर्न मुस्किल हुने गर्छ ।

जनक नेपाल
images56 नेपालगञ्ज । शरीर पूरै जलेकी १९ वर्षीया शिवा हास्मी भेरी अञ्चल अस्पतालको शय्यामा छटपटाइरहेकी थिइन् । अनुसन्धानमा खटिएका प्रहरीले उनलाई सोधे, ‘कसले यस्तो बनायो ? भन हामी कारबाही गर्छौं ।’ शिवाले आफ्ना प्रेमी बाबु खानलाई दोष दिइन् । तर्सिंदै भनिन्, ‘मेरा दाइहरूले होइन ।’ प्रहरी अनुसन्धानपछि भने नरुचाएको केटासँग प्रेम गरी विवाह गर्न खोजेको रिसमा शिवालाई दाजुहरूले नै ०६९ को मङ्सिर २१ गते पेट्रोल खन्याएर आगो लगाएको खुल्यो ।

०७१ असोज २६ गते साँझ एकै समयमा बाँके इन्द्रपुर–९ की पूजादेवी नाउ र खासकारकाँदो–२ भुजई गाउँकी हेमकुमारी धोबी आफ्नै घरमा जलाइए । शरीरको धेरैजसो अङ्ग जलेर उनीहरू गम्भीर घाइते अवस्थामा अस्पताल ल्याइएका थिए । उनीहरूले घटनाको वास्तविकता भने लुकाए । पूजाले टुकी पल्टिएर आगो सल्किएको भनिन् । हेमकुमारीले ग्यालेनमा रहेको तारपिन तेलमा आगो सल्किएर घटना भएको बताइन् । तर, उनीहरूलाई घरायसी झगडामा पतिले आगो लगाएको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो ।

आफूलाई जिउँदै आगो लगाउँदासमेत पीडितहरू घटना लुकाउन बाध्य छन् । तराईका मुस्लिम र मधेसी समुदायका थुप्रै परिवारभित्र यस्ता घटना हुने गरेका छन् । तीमध्ये अधिकांश घटना लुकाइन्छ । यस्ता घटनामा प्रहरीले गहन अनुसन्धान नगरिदिने हो भने न पीडितले न्याय पाउने अवस्था छ, न त दोषी कानुनी दायरामा आउने अवस्था छ ।

शिवा हास्मीले अन्तिम अवस्थासम्म सत्य खोलिनन् । उनको स्थिति झन् खराब बन्दै गयो । थप उपचारका लागि काठमाडाैं लगियो । तीन दिनपछि उनको मृत्यु भयो । प्रहरीले शिवाको बयानलाई आधार बनाई प्रेमी बाबु खानलाई पक्राउ गर्‍यो । तर, छिमेकीले पत्याएनन् । परिवारबाटै आगो लगाएको आशङ्कामा गहिरो अनुसन्धानको माग गर्दै गुलरियामा प्रदर्शन भए । प्रहरी र प्रशासन कार्यालयमा धर्ना दिइयो । चौतर्फी दबाबपछि प्रहरीको गहन अनुसन्धानबाट पत्ता लाग्यो– शिवालाई आगो लगाउने अरू कोही नभएर उनकै दाजुहरू रेहान अहमद र रिजवार अहमद हास्मी थिए । जिल्ला न्यायाधीश वसन्तराज पौडेलको इजलासले रेहान र रिजवारलाई जन्मकैदको फैसला सुनायो । आमा हसिनालाई दुई वर्षको कैदको सजाय दियो । सुरुमा आरोप लगाइएका बाबुले भने सफाइ पाए ।

हेमकुमारीको पनि उपचारका क्रममा काठमाडाैंमा मृत्यु भयो । उनका पति गयाप्रसादविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । लामो उपचारपछि पूजा सन्चो भइन् । तर, उनले पतिविरुद्धको मुद्दा भने फिर्ता गर्न चाहेकी छिन् । उनका पति पवन पुर्पक्षका लागि थुनामा छन् । ‘मुद्दा फिर्ता गर्नुपर्‍यो भनेर फोन गरेको–गरेकै छिन् । मिल्दैन भन्दा पनि दबाब दिइरहेकी छिन्,’ निःशुल्क कानुनी सहायता केन्द्रकी अधिवक्ता सुनिता शर्मा भन्छिन्, ‘पारिवारिक दबाब यति धेरै छ कि मुद्दा फिर्ता नभए घर निकाला हुने स्थिति छ ।’

बाँकेमा जिउँदै आगो लगाउनेजस्ता क्रूर घरेलु हिंसाका घटना दोहोरिइरहेका छन् । ०७० चैत ३ गते बाँके लक्ष्मणपुरकी रिहाना ढपालीलाई उनका पतिले आगो लगाए । माइतीको सहयोगमा आँट गरेर मुद्दा अघि बढाएपछि उनका पति फरार भई भारतमा लुकेर बसेका छन् । ०७१ जेठ ६ गते जयसपुर–५ की चन्दा नाउ र उनका नाबालक छोराछोरीलाई देवरले पेट्रोल छर्केर आगो लगाए । नाबालक दुई सन्तानको ज्यान गयो । गम्भीर रूपमा जलेकी चन्दा लामो उपचारपछि निको भएकी छिन् ।

०७१ जेठ २१ गते परस्पर– ७ का मनोज वाल्मीकिले आफ्नै पत्नी अमृतालाई मट्टीतेल खन्याएर आगो लगाई ज्यान मार्ने उद्योग गरे । तर, अमृताले भान्सामा ग्यास दुर्घटनाले घटना भएको भन्दै घटना लुकाएपछि कारबाही अघि बढेन ।

अमानवीय घरेलु हिंसामा पर्दासमेत दोषीविरुद्ध उजुरी वा बयान नदिनुको पहिलो कारण पीडितलाई कानुनी ज्ञान नहुनु हो । पति वा आफन्तलाई नै कारबाही हुने स्थितिमा आफू झन् धेरै समस्यामा पर्ने र बेसहारा हुने ठानेर धेरैजसो पीडितले मुख नखोल्ने अधिवक्ता वसन्त गौतम बताउँछन् । ‘आफन्तविरुद्ध उजुरी वा बयान दिए घर निकाला हुने डरले धेरैले सत्य बोल्दैनन्,’ उनी भन्छन्, ‘सहज रूपमा न्याय पाउनेमा पनि धेरैजसो पीडित शङ्का मान्छन् ।’

पीडित र परिवारले समयमै घटनाको सही विवरण नदिँदा अनुसन्धान प्रभावित हुने र प्रमाण जुटाउन नसक्दा दोषी उम्किने गरेको प्रहरी बताउँछ । ‘अनुसन्धानका लागि पनि समुदायको साथ चाहिन्छ,’ प्रहरी उपरीक्षक टेकप्रसाद राई भन्छन्, ‘पीडितले नै घटना लुकाए वा बङ्ग्याएपछि प्रहरीलाई गाह्रो हुन्छ ।’ बेलैमा घटनाको जानकारी पाउन सके मात्र पनि अनुसन्धानमा धेरै सहयोग पुग्ने उनी बताउँछन् ।

घरेलु हिंसामा परेका महिलाको स्थिति यतिसम्म दयनीय छ कि उनीहरू घर र माइतीबाटै सहाराविहीन भएका छन् । आफैँलाई जलाएर जेल परेका पति फर्किएपछि उनैसँग बस्नुपर्नेसम्मको बाध्यता छ । दाइजो नल्याएको निहुँमा भएको घर–झगडामा नेपालगञ्जकी हास्रुन इद्रिसीलाई ०६४ कात्तिक २० गते पति र सासूले आगो लगाए । बाँके जिल्ला अदालतले उनका पति बसिम इद्रिसी र सासू रुक्सनालाई दोषी ठहर गर्दै ०६५ माघ ६ गते क्रमशः ७ र ५ वर्ष जेल सजायको फैसला गर्‍यो । हास्रुन छोराछोरी लिएर माइतीघर बसिन् ।

घरेलु हिंसाको सिकार भएकी हास्रुनले सुरुमा चारैतिरबाट सहयोग पाइन् । निःशुल्क सिलाइकटाइ तालिम पाइन् । जीविकोपार्जनका लागि केही राहत सहयोग पाइन् । तर, बिस्तारै बेसहारा भएकी उनी पति जेलबाट फर्केपछि सँगै बस्ने निर्णयमा पुगिन् । जेलमा राम्रो व्यवहार देखाएको भन्दै तीन वर्ष कैद सजाय माफी पाएर बसिम चार वर्षपछि छुटे । ‘हातमुख जोड्नसमेत मुस्किल थियो,’ हास्रुन भन्छिन्, ‘त्यस्तो बेला विगत बिर्सौं, सँगै बसाैँ भनेर उनी (पति) आए । मैले नाइँ भन्न सकिनँ ।’

दैनिक कम्तीमा पनि तीनजना महिला घरेलु हिंसाका गुनासा लिएर आउने गरेको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । ‘महिला हिंसाका जघन्य अपराध गत वर्षको तुलनामा डरलाग्दोसँग बढेका छन्,’ महिला विकास कार्यालयमा घरेलु हिंसाका निवेदन हेर्दै आएकी बिन्दु कुँवर भन्छिन्, ‘प्रभावकारी अभियानबिना यो कम हुने स्थिति छैन ।

राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल मधेसी र मुस्लिम समुदायभित्र शृङ्खलाबद्ध ढङ्गले ‘आगो लगाउने’जस्ता क्रूर हिंसा बढ्नु गम्भीर अनुसन्धानको विषय भएको बताउँछन् । ‘महिला हिंसाको कारण दाइजो हो वा आयसँग जोडिएको छ अथवा लैङ्गिक विभेद हो अध्ययन गर्न जरुरी छ,’ उनी भन्छन् ।

(सञ्चारिका फिचर सेवा)
(जनक, नेपालगञ्जका पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: