रमला सिंगक
सुनसरी । तीजको अवसरमा महिलाहरु फेशनेवल सारी चोलो, लेहेङ्गामा सजिएर दरखादै रमाइरहेका बेला सुनसरीका युवा महिला फुटबल खेलाडीले भने फरक शैली अपनाएका छन् ।
उनीहरूले फुटवल प्रतियोगिता आयोजना गरेर तीजलाई सृजनात्मक बनाएका छन् । सुनसरीको महेन्द्रनगर स्थित सप्तकोशी युवा क्लवले आयोजना गरेको अन्तरक्लव सुनसरी जिल्ला महिला फुटवल प्रतियोगितामा सहभागी भएर तीजलाई महिला खेलकुदसंग जोडेका छन् ।
तीजको अवसरमा आयोजित उक्त प्रतियोगिताको उपाधी धरानको मेरिल्याण्ड इंग्लिस स्कुलको गल्र्स फुटवल टिमले जितेको छ । मेहन्द्रनगर– ४ स्थित बसन्त ऋतु माविको खेल मैदानमा सम्पन्न खेलमा मेरिल्याण्ड स्कुलले टाइव्रेकरमा सप्तकोशी गर्लस फुटबल टिम महेन्द्रनगरलाई ३–२ गोल अन्तरले हराउदै उपाधी हात पारेको हो ।
मेरील्याण्डले जुनियर धरान गल्र्स टिमलाई ४–० अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । शप्तकोशी गल्र्स फुटवल टिमले बराहक्षेत्र गल्र्स फुटवल टिमलाई १–० अन्तरले हराउदै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगितामा वेस्ट प्लेयर अफ द टुर्नामेन्ट मेरील्याण्ड स्कुलका गोल किपर सीमा आलेमगर, मस्ट हार्ड वर्किङ प्लेयर सप्तकोशीका विमला थापा भइन् । विजेता र उप विजेता टिमले ट्रफि, मेडल र प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय महिला फुटवल प्रशिक्षक तथा सुनसरी जिल्ला महिला फुटबल समिती अध्यक्ष भगवती राना मगर, सुनसरी जिल्ला महिला फुटबल समितीका कोषाध्यक्ष निसा राई र सप्तकोशी युवा क्लव महेन्द्रनगरका कार्यक्रम संयोजक कपिल आचार्यले वितरण गरेका थिए ।
राष्ट्रिय महिला फुटवलका प्रशिक्षक भगवती रानाले भनिन्, ‘तीजको रमाइलोमा महिला फुटवल प्रतियोगिता गरिएको हो । यस्ता गतिविधिले महिलालाई अनुत्पादक रमाइलोमा भन्दा सृजनात्मक क्षेत्रमा लाग्न प्रेरित गर्ने भएकाले तीजको अवसरलाई रोजेका हौं ।’ उनले महिला फुटवल प्रतियोगिताकालागि गतिलो प्रायोजक पाएमा नगर राशी सहितको ठूलै प्रतियोगिता पनि संचालन गर्न सकिने बताइन् ।
Comment Here!