तीज र पञ्चमीको परिवर्तित सन्दर्भ


प्रकाशित मिति :2016-09-05 12:33:14

हाम्रो  आँखाबाट आँशु, नाक, कानबाट फोहोर र योनीबाट मासिक रक्तश्राव हुनु सामान्य प्रक्रिया हो । तर सैयौं वर्षदेखि चलि आएको चलन भन्दै कति पढेलेखेकाहरूले यसलाई चुपचाप मानी आएका छन् । यसले उनीहरूको सिद्धान्त र व्यवहार प्रतिको फरक दृष्टिकोण प्रति प्रश्न खडा गरिदिएको छ ।

शरु जोशी श्रेष्ठ     
Saru joshiसमाज परिवर्तनशिल छ, त्यसमापनि नेपाली समाज त अझै गतिशील र परिवर्तनशील छ । यी परिवर्तन सकारात्मक रुपमा सबै क्षेत्रमा आवश्यक छ । यी परिवर्तनले हाम्रा चाडबाडमा के कस्ता नयाँ मोड लिए वा समय सापेक्ष रुपान्तरण भए, विष्लेषण आवश्यक छ, सन्र्दभ तीज र पञ्चमीको ।

बाल्यकालमा मैले बुझेको वा सुनेको तीज विवाहित महिलाले सारी फेर्ने र नीरहार व्रत बस्ने पर्व । यसलाई ब्याख्या गर्दा एक नारी पात्र सासुले अर्काे नारीलाई असाध्यै शोषण गरेको प्रसंगको गीत गाइन्थ्यो  । हुनत त्यसबेला बुहारीको चर्को कार्यबोझ, माइति जान तीज वा दशैं पर्खनु पर्ने हुँदा धेरै गाह्रो थियो होला, तर होलसेलमा माइती जति राम्रो घरका परिवारका जति सबै दुःखैमात्रै दिने गीत कसोकसो एकपक्षलाई न्यायगर्दा कतै अर्को पक्षमा अन्याय पो भयो की जस्तो पनि लाग्छ ।

खैर कुरा त्यो भन्दा पनि तीजमा श्रीमानका लागि व्रतबस्नै पर्ने बाध्यता, अझ, पानी नै नखाई ब्रत लिनुपर्ने आवश्यकता चै सरोकारको विषय हो । तीजको कडा व्रतको बाध्यताले केही पढेलेखेका महिला पनि पिरोलिएको पाइन्छ । विशेषरुपमा संयुक्त परिवारमा सँगैको सासु वा जेठानी देउरानीले कडा वर्त बस्दा पीयर प्रेसरले पनि अन्य महिलामा व्रत बस्ने बाध्यता हुन्छ । कतिपय महिलाले देखासिकिमा पनि इच्छा वा रमाइलोको लागि व्रत लिन्छन् ।

तीजमा विशेष गरेर श्रीमानको दीर्घायुका लागि व्रत बस्ने हुनाले कतिले अरु दिन चाहि होइन, तर त्यो एकदिन चै श्रीमानको खुट्टा ढोग्ने चलन छ भनेको सुनिन्छ । यसमा पनि परिवर्तन आएको छ, मुख्यरुपमा पशुपतिनाथ मन्दिरमा महिला बेहोस भएका समाचारले धेरै चेतना जागेको छ । वास्तवमा खुट्टा ढोग्नु, अन्नपानी नखाइ व्रत बस्नु सही होइन, बरु श्रीमानश्रीमतीबीच, परिवारमा समझदारी बढाउनु, एक अर्काको दु: ख, सुख बुझ्नु, साथदिनु चै ठुलो कुरो भन्ने छलफल चल्न थालेको छ ।

1

अक्सर तीजताका दर खाने विषयलाई सञ्चारमाध्यममा  मुख्य बिषय बन्ने गर्छ । खासगरि महंगो खर्च, तामझाम, प्रतिस्पर्धाका रुपमा दर खाने पर्व स्थापित हुनु न महिलाको लागि ठीक हुन्छ न मुलुकका लागि नै । तीजको मौलिकतालाई संरक्षण गर्नुपर्छ र अनावश्यक तडक भडक बढन नदिन बेलैमा सजग हुनुपर्छ भन्ने कुरा पनि बलियो सँग उठिरहेको छ । तर परिवर्तनको नाममा बिरोधका लागि बिरोधपनि सही होइन । तीजलाई आमा छोरी, सासु बुहारी, दिदीबहिनी, आफन्त, साथी भेट्ने रमाइलो गर्ने पर्वको रुपमा लिनुपर्छ । यो पर्व वुमनहुड, सिस्टरहुड अर्थात नारीत्वको पर्वका रुपमा रुपान्तर हुनुपर्छ भन्न थालिएको छ ।

महिलाले तीजपछि लगत्तै पन्चमी मनाउँछन् । वर्षभरि महिनामा चार दिन महिनावारी हुँदा महिला अशुद्ध हुन्छन् र वर्षभरी जान अन्जान चुल्हा, पुजा छोइएको छ भने  पञ्चमीका दिनवर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता छ । यो पर्वमा जानी नजानी धेरै महिला व्रत बसेर आफूलााई चोख्याउँछन् । आश्चर्यको कुरा त समानता कुरा गर्दै निष्ठाका साथ पन्चमीको व्रत बसिन्छ । एकातिर परिवर्तन र समानताको कुरा अर्को तिर यस्ता चलनलाई निरन्तरता हामीले पीतृ सत्तालाई आफैँ प्रवद्र्धन गरिरहेका हुन्छाैं ।

चलिआएको चलन, एकदिनव्रत बस्दा के पो बिग्रन्छ, आबुइ छुइ भएका बेला कहाँकहाँ छोइयो होला ! यो एकदिनव्रत बसेपछि मन ढुक्क हुन्छ भन्दै धेरैले पञ्चमीको व्रतलाई सावित गर्नुहुन्छ । कोही सबै कुरा गर्छु, तर पापलाग्ने कुरा गर्न डर लाग्छ भन्नुहुन्छ । कोही जातले पाको, हामीले यसलाई मान्दा अरुलाई टाउको दुख्नुपर्ने कुरा छैन पनि गर्नु हुन्छ । यसले परिवर्तन चाहिने, तर यथास्तिबाद चै नत्याग्ने अभ्यासले निरन्तरता पाइनै रहन्छ ।

यस प्रसंगमा मलाई आफैँले दिएको एक रेडियोे अन्तवार्ताको अनुभव भन्न सान्र्दभिक लाग्यो । अन्र्तर्वातामा मलाई प्रश्न सोधियो समानताका लागि कतिपय कुरा परिवर्तन गर्न व्यक्ति स्वयंले पनि पहल गर्नुपर्छ । तपाई आफैँले  चै के गर्नुभएको छ ? सुनाइ दिनुस त हाम्रा श्रोतालाई ।  सो प्रश्नले सिधै मेरो ज्ञान र प्रयोगको नाडी छाम्न खोजेको जस्तो लाग्योे  ।

त्यसपछि मेलै मेरो हरिद्धारको अनुभव रेडियोमा सुनाएँ ।  १० वर्षअघि अफिसको काममा दिल्ली जाँदा हामी केही साथी हरिद्धार गएका थियौं । पवित्र नदी गंगाको छेउमा सबैले पुजा गर्दा रहेछन् । हिन्दु धर्मावलम्बी भएकीले म पनि त्यो कर्मकाण्डमा सरिक भएँ । पण्डितले नाम, गोत्र सोधी मन्त्र जप्न थाले । पुजा गर्दागर्दै महशुस भयो मलाई महिनावारी भएछ । म एकछिन स्तब्ध भएँ किनकी त्यहाँ म धर्म संस्कृतिसँग साक्षात्कार गरी रहेकी थिएँ । यस प्रथाविरुद्ध बोल्नु, वकालत गर्नु र व्यवहारमा प्रयोग गर्नु दुईवटा कठिन बाटो वीच उभिएँ म । हिन्दु संस्कारको पाप र पुण्यको शिक्षामा हुुर्किएकी मलाई पनि झट्ट के गरौं के गराैं भयो ।

2

चुपचाप घरमा बसेर यो संस्कार नमान्नु मेरो अनुकूलतामाथि यो तर पवित्र गंगाको धारमा बसेर, बकाइदा कर्मकाण्ड गर्नु मलाई साहस कि दुस्सहास जस्तो महशुस भयो । मैले मन्दिर चारैतिर हेरें, छेउमै मन्दिरभित्र गंगामाता हाँसेर बसिरहेकी थिइन्, यसैगरी दक्षिणकाली, भद्रकाली, नीलसरस्वती, दन्तकाली, पाथीभरा माता आ—आफनो स्थानमा मन्दिरमा बस्छिन् । उनीहरू महिलाका आदर्श प्रतिनिधि पात्र हुन् । तर ती महिनामा चार दिन नछुने हुने, बीटुली भएर पर सर्दिनन् भन्दै मैले आत्मविश्वासका साथ पुजा सम्पन्न गरेँ । वास्तवमा त्यो दिन मैले आफ्नै विचार र सोचसँग संर्घष गरे र आफ्नै कुंसस्कार प्रति विजय प्राप्त गरें ।

हुनत मासिक धर्म, पर सर्ने, नछुने जे नाम दिएपनि यसको पछाडि राम्रा मनसाय पनि छन् । महिलाले घरधन्दामा समय विताउनु पर्ने र कहिल्यै आराम गर्न नपाउने हुनाले यस्तो बेला सफा सुग्घर  बस्न आराम गरुन् भनेर ‘पर सरेका’ भन्ने नियम बनाइएको हो । बबिता बस्नेतले एक लेखमा अछाम र डोटेली महिलाले आफूलाई मनपर्ने समय भनेको छुइमा बार्ने चार दिनभनेको उल्लेख गर्नु भएको छ । किनभने खाना पकाउन ुपर्दैन, यस्तो फुसर्द पाउनु कति महिलाका लागि रमाइला क्षण भएका पक्षपनि छन् ।

कतिपय भन्छन्, तर अब जमाना परिवर्तन भैसक्यो, पहिले जस्तो छैन । यस सन्दर्भमा उज्यालो फाउण्डेसनले इम्पावहर २०१६ ( EmpoeHER 2016) का १६ युवा च्याम्पियनले गरेको एक परियोजना मननिय छ  । १६ मध्येका एक च्याम्पियन सेफिना जोशीले आफ्नो परियोजना #पिरियडपोजेटिभम# मा १३४ पढेलेखेकालाई अनलाइन सर्भे गरेर सोधिन् महिनावारिमा भेदभाव गरिन्छ कि गरिँदैन ? यो प्रश्न १९ प्रतिशत पुरुषलाई पनि गरिएको थियो । जवाफमा १४ प्रतिशतले महिनावारीमा विभेद हुँदैन भनेका थिए भने ८६ प्रतिशतले विभेद छ भनेका थिए । अर्थात महिनावारी र योसँग जोडिएको विभेद अझै पनि गम्भिर बिषय हो जसमा गहन बहस आवश्यक छ ।

सन् १९९५ मा ‘महिला र विकास’ विषयमा स्नातकोत्तर गर्ने बेला मैले महिलाको यौनिकता : जुठाई र चोख्याइ विषयमा २५ पेजको ‘असाइन्मेन्ट’ लेखेकी थिए । पछि मैले २—४ कक्षा पढेका मेरो सासु र आमासँग महिलाले जन्माएको छोरा वा उसबाट चल्ने संसार चै चोखो हुने, तर सृष्टि चलाउने आमा चैं जुठो कसरी हुने भनेर यो पर सर्ने, चार दिन बार्ने र चोख्याइन पर्ने कुरा गलत हो भनेर कुरा राखेकी थिएँ ।  पितापुर्खाको पालादेखि गरिआएको भनेर हामीले पनि यस चलनलाई अघि बढायौं, गलत चलनमा सुधार ल्याएनौं बरु मलजल हाल्यौ भने हामीले विवेकको प्रयोग गरेको ठहर्दैन भन्दा दुबै आमाहरूले हो त नी भनेर मेरो सोचमा सहमति जनाउनुभयो । उहाँहरूले अझ तर्क दिनुभएको थियो घरमा कोही नभए नुहाएर पकाउन हुन्छ, विदेशमा रहँदा हुन्छ, भनेर सबैले आ–आफ्नो सहुलियत अनुसार गर्छन् भन्दै दुबै आमाहरूले  मेरो सोचप्रति सहिछाप लगाउँदा म नतमष्तक भएकी थिएँ । नत्र कतिपय आमा–सासुहरूले अरुले जे सुकै गरुन्, मेरो घरमा चैं जुठो –चोखोको रछ्यान विचार हुनैपर्छ, मेरो शेषपछि जे होला, तर मेरो जीवन हुन्जेल यस्तो गर्न पाइदैन भनेको पनि सुिनन्छ । वास्तवमा हामीले आफूले सिकेको ज्ञान कति आफैँ प्रयोग गर्छौ भन्ने पनि महत्वपुर्ण बिषय हो ।

33

हाम्रो  आँखाबाट आँशु, नाक, कानबाट फोहोर र योनीबाट मासिक रक्तश्राव हुनु सामान्य प्रक्रिया हो । यो संस्कारलाई आफ्नै तरिकाले चुपचाप बहिष्कार गर्ने पनि धैरै छन् । कतिले त यसलाई खुशीसाथ कुनै चाड पर्वमा नजाने एक्सक्युजको रुपमा पनि प्रयोग गर्छन् । कति पढेलखेकाले घरमा बार्ने चलन छ भनेर खुरुखुरु मानिरहेका छन् । यो गलत त हो, तर मेरो परिवार असाध्यै नहुने छ म चाहिँ घरमा कुरा गरेर रिस्क लिन्न भन्छन् । यसले पढेलखेकाहरूको सिद्धान्त र व्यवहार प्रतिको फरक दृष्टिकोण प्रति प्रश्न खडा गरिदिएको छ । यसले महिलाको सम्मानमा धक्का पर्ने कुरालाई निरन्तरता दिएको छ । केहिदिन अघि, साथी नामक सस्ंथाले ‘तीज टकको’ आयोजना गर्‍यो । कार्यक्रमका चार मध्ये दुईजना वक्ता पुरुष थिए । बैकंर अनिल शाहले भने ‘सँगै सँधै पुजाकोठामा धुप बाल्ने छोरीलाई महिनाको चार दिन तिमी धुप नबाल बा भन्न मिल्दैन ।  यो त विभेदकारी सोच हो जो हाम्रो दिमागमा छ, तर हामी आफ्नो दिमाग र घर भित्रको छाउपडी देख्दैनौं ।’

सञ्चारकर्मी विजय पौडेलले यो महिनावारी हो यसलाई नछुने, जुठो भन्ने शब्दको प्रयोग गरिनु वा बुझिनु नै सबैभन्दा गलत हो भनेका थिए । अबका तीज र पन्चमीमा परुष, धर्मगुरुहरु र परिवारसँग छलफल चलाइ यसलाई समय सापेक्ष र रुपान्तरण गर्दै लैजानु पर्छ । मुलुकले परिवर्तनका लागि धेरै कोशिस गरिरहेका बेला राम्रो संस्कारलाई प्रवद्र्धन र गलत संस्कारलाई खण्डन वा सुधार गर्नुपर्छ, अनि हाम्रो कुरा गराई र व्यवहारमा पनि तालमेल हुन्छ ।

[email protected]

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: