सँधै बलात्कार भो, खोइ मलाई न्याय ?


प्रकाशित मिति :2016-09-05 13:10:17

चन्द्र बानियाँ
top storyबिर्सनै नसकिने छन् ती विगतहरू । खोई अहिले म कसरी सम्झिउँ ? राम्रो कमाइ हुने मिठो सपना देखेर त्यतिखेर कुवेत गएँ । तीन महिनाको काखे छोरीलाई घरमै छोडेर गएकी थिएँ । १८ महिना कुवेत बसें । कमाइको त के कुरा गर्नु र । फर्कंदा सास फेर्न सक्नेमात्र थिएँ । अहिले सम्झिँदा म कसरी बाँचेर आएँ भन्ने लाग्छ ।

मेरो नाम विनु हो  (नाम परिवर्तित) । घर बर्दिया जिल्ला । घरको आर्थिक अवस्था निक्कै कमजोर थियो । छोरो अढाइ वर्षको भइसकेको थियो । काखकी छोरी तीन महिनाकी । श्रीमान काम पनि नगर्ने । कमाइ गरेर पनि नल्याउने । काम र कमाइको कुरा गर्‍यो भने सँधै झर्किने, रिसाउने । झगडा मात्र गर्न खोज्ने । कसरी परिवार चलाउने र बच्चा कसरी हुर्काउने  भन्नेमा आफूलाई सँधैको चिन्ता । श्रीमान घरको  पटक्कै वास्ता नगर्ने । जीवनदेखि वाक्क दिक्क जस्तै थिएँ म ।

नगर्नु विहे गरिएछ, दुःख पाएँ, बरु माइतीमै बसेकी भए हुने रैछ भन्ने जस्ता कुरा मनमा खेल्थे । माइतीले नगरेका पनि होइनन् । तर सँधै गरेर साध्य पनि त भएन । यसरी नै भविष्यको चिन्ताले दुःखजिलो गरेर काखकी छोरी र ठुलो बाबु हुर्काउँदै थिएँ । गाउँकै यमलाल पौडेल दाइले कुवेत जाने सल्लाह दिए । ति दाइका अनुसार कुवेत जाँदा सजिलो काम धेरै  कमाइ हुने ।  तीन महिनाको छोरी काखमै रहेकीले मैले छोडेर जाने भन्ने सोच्नै सक्दिनथें ।  उनी भारत नेपाल आउ जाउ गरिरहन्थे । अरुलाई पनि उनी विदेश काम गर्न पठाउने मिलाउने काम गर्थे । अरुको देखेर र घरको अवस्थाले आफुलाई पनि जाउँ जाउँ लाग्थ्यो । तर छोरीको चिन्ताले निर्णय गर्न सक्दिथे ।  म एक्लै भएर निर्णय लिन नसकेको होला भनेर ति दाइले गाउँकै अरु ६/७ जना दिदी बहिनीलाई पनि कुवेत जाने भनेर भनेर मिलाए छन् । उनीहरूले मानेछन् । सबै चिनेका भएकाले मैले पनि जाने निर्णय लिएँ । विदेश जानेवारे श्रीमानसँग  पनि सोधें । सल्लाह गरें । जे गर्छेस गर भनेर श्रीमानले कुनै निर्णय दिएनन् । उनले वास्तै गरेनन् । त्यसपछि मैले आफैँ निधो गरें । म गएर परिवारको भविष्य बन्छ भने म जान्छु भनेर मैले  निर्णय लिएँ ।

त्यस्तै ६ वर्षअघि  पुस माघ तिरको कुरा हो । यमलाल पौडेलसँगै हामी सबै भारत तिर लाग्यौं  । जाने हामी सबै उस्तै पारिवारिक अवस्थाका । सबै विवाहित उस्तै उमेरका थियौं । ढेड घण्टा हिंडेपछि  दिल्लीको लागि बस चढ्यौं । दिल्ली पुगेपछि एउटा होटलमा बस्यौं । बस्दा कोही कता कोही कता भयौं ।  धेरै कोठा भएको ठुलो घर थियो । सांझ भएपछि धेरै मान्छे आउ जाउ हुने घर रहेछ । धेरै मान्छे देख्दा खै कस्तो कस्तो जस्तो लाग्यो । पुगेको दिन त्यस्तै भइ हाल्यो । भोलीपल्टको कुरा हो ।  त्यो यमलाल दाइ मेरो कोठामा आए । कुवेत जान एक हप्ता लाग्ने भयो । अब यहीं बस्नु पर्छ । संगै बसौं भने । रक्सी खाएका रहेछन् । मलाई ह्वास्स गन्हायो । विदेशको ठाउँ के भनौ के नभनौं भयो । अनि मौन रहें । साँझको कुरा थियो । उनको कुरा, हाउ भाउ र क्रियाकलाप फरक महशुस गरें । छुन र समाउने गर्न थाले । दाइ किन यस्तो भनेर मैले नगर्न आग्रह गरें । तर उसले पटक्कै मानेनन् । मैले भने अनुसार नगरे पैसा कमाउने ठाउँ पुग्न सकिंदैन, पठाउँदिन भने । बरु म कुवेत जान्न । यस्तो गर्न म सक्दिनँ भन्दा उसले नमाने मार्नेसम्मको धम्की दियो । नमान्दा मलाई कुट्यो पनि ।  त्यसपछि मैले मेरा छोराछोरी सम्झें । मेरो सानो काखे छोरी सम्झें । बेस्सरी रोएँ । उनीहरूको भविष्यलाई सम्झें । छोरा छोरीको मायामा उसले जसो भन्यो तसै गरें । तीन हप्तासम्म उसले मलाई त्यहाँ लुटिरह्यो ।

तीन हप्तापछि कुवेत जाने भनेर उसैले भन्यो । दिल्लीको एअरपोर्टसम्म उसैले पुर्‍यायो । एअरपोर्ट पुगेपछि प्लेन चढदा यो देखाउनु भनेर एउटा सानो किताव जस्तै दियो । पहिले देखेको थिइनँ ।  हेरेपछि थाहा पाएँ । यो त मेरो फोटो टाँसिएको पासपोर्ट पो रहेछ । पासपोर्ट देखेको र  हात  परेको पहिलो चोटी हो । प्लेन चढाउँदा उसले भन्यो, यो प्लेन जहाँ रोक्छ त्यही बस्नु । लिन त्यही कोही आउँछन्  ।

त्यसपछि म प्लेन चढ्ने लाइनमा गएँ । गाउँबाट सँगै आएका दिदी बहिनीलाई हेंरे । कसैलाई देखिनँ । प्लेन चढें । चिनेको मान्छे कोही देखिनँ । प्लेनमा बसुन्जेल मन भरी अनेक कुरा खेल्यो । नसोचेको काम गर्नु परेकोमा मन रोइ रह्यो ।  आफ्नै गाउँको दाइ शंका गर्ने ठाउँ कहीँं देख्दिनथें । परेको बेला  सहयोग गरेकै थिए । मलाईमात्र हैन  गाउँका अरुलाई पनि सहयोग गर्थे । सात जनाको पासपोर्ट बनाउन लागेको खर्च सबै उनैले व्यहोरेका थिए । गाउँमा कहिल्यै केही नभनेका ती दाइले मलाई किन त्यसो गरे भन्ने लागि रह्यो । मनमनै सरापें । त्यसको कहिल्यै भलो नहोस भनें । अनि अब जाने ठाउँ कस्तो होला भनी सोच्थे । सजिलो काम । धेरै पैसा कमाइ हुन्छ भनेको सम्झें । कमाएर फर्किएपछि छोराछोरीलाई राम्रो बोर्डिङ्ग स्कुलमा पढाउने सपना देख्दै म कुवेत पुगें ।

प्लेनबाट ओर्लिएपछि यताउती हेरें । चिनेको मान्छे कोही देखिनँ । एक जना पुरुष म तिरै लम्कंदै आएको देखें ।  हातमा  मेरो फोटो बोकेकोले पक्केै त्यो मलाई लिन आएको भन्ने लाग्यो ।  नजिक हुनासाथ त्यो मान्छेले मेरो नाम भन्यो । अरु पनि के के भन्दै थियो मैले केही भाषा बुझिनँ ।  यही रहेछ भन्ने लाग्यो  । उसले जता लग्यो म उतै लागे ।  अलि पर पुगेपछि त्यहीको महिलाले लगाउने कपडा लाउन दियो ।  अनुहार छोपिने गरी लगाएँ । त्यसपछि फेरी उसले जता लैजान्छ त्यतै गएँ । एउटा घरमा लग्यो । तीन चार जना मान्छे थिए । त्यहीको भाषामा उसले चिनायो । म केही बुझ्दिनथें । जे भने पनि टाउको हल्लाउँथे । हुन्छ भन्ने स्वाकारोक्ति दिन्थें । शायद मलाई आदेश भयो , अब यही घरमा काम गर्नुपर्छ । मालिक्नीले भने अनुसार घरको काम गर्नुपर्छ । घर पुछ्ने, कपडा धुने र खाना पकाउने काम लगाउने भने । कति पैसा दिने ? काम गरे वापतको पारिश्रमिकका वारेमा केही भनिएन ।

म पुगेको एक हप्तापछि त्यो घरमा ठुलो भोज भयो । दिनभरीको कामले थकित थिएँ । सबै आ–आफ्नो कोठातिर लागे । म पनि   सुत्न कोठामा गएँ । कोठामा छिरेको एकछिनपछि नै घरको मालिक मेरो कोठामा आए । उनीसँगै अरु चार जना पुरुष पनि  आए । अनि  ढोकामा भित्रबाट चुकल लगाए । सबै जना मलाई बलात्कार गर्न अघि सरे । मैले हात जोडें । उनीहरूको खुटृा ढोगें । कसैले मानेनन् । केही समय प्रतिकार गरें । उनीहरु मध्ये केहीलाई टोकी दिएँ । तर पनि छोडेनन् । नमानेपछि कुटपीट गर्न थाले । कसैले हात, कसैले खुटृा र कसैले टाउको समाउन थाले । एक्लो मैले ति चार जनाको प्रतिकार गर्न सकिनँ । म एैय्या एैय्या भनेर रोएँ । कराएँ । त्यहां कसैले सुनेन । लाग्यो मेरो मर्ने दिन आजै लेखेको रहेछ । रुँदारुँदै म बेहोस भएछु । भोलीपल्ट मालिक्नीलाई भनें । उल्टै गाली गरी । १८ महिनाका हर रात मेरा यसरी नै विते । बेहोस बनाउने सुइ हालेर समेत उनीहरू मलाई हर रात लुट्थे ।

म बसेको घरमा प्रायः हप्तामा एकचोटी भोज हुन्थ्यो । एक दिन मलाई बाहिर आएको गाडीबाट सामान ल्याउन भनियो ।  सामान झिक्ने क्रममा पछि थाहा भयो गाडीको ड्राइभर नेपाली रहेछन् । सबै कुरा मैले उनलाई भनें । उनकै सहयोगले म त्यहाँबाट निस्केर नेपाली दुतावासमा पुगें । घर छोडेर गएपछि पहिलो चोटी नेपालमा फोन गरें । बर्दियाकै एकजना दिदीलाई फोन गरें । आफू बेचिएको र दुःख पाएको सबै कुरा बताएँ । एक महिनासम्म त्यही बसें । नेपाली भएको ठाउँमा पुगें  भनेर ढुक्क थिएँ । तर त्यहाँ भएको व्यवहारले मलाई झनै दुःखी बनायो । छिःछि दुरदुरको दुव्र्यवहार र दुर्वचनले अस्हैय बनायो ।  लाग्थ्यो आफ्नो भन्ने कोही रहेनछन मेरा । जे होस अहिले म नेपाल फर्किएकी छु । श्रीमानले स्वीकारेनन् । गाउँमा बस्न गाह्रो भयो । म शक्ति समूहको सुरक्षित आवास गृहमा बसेर सीप सिक्दै छु । भविष्यको लागि आँट बटुल्दै छु । सामाजिक काममा लाग्ने सोच बनाएर आफूलाई तयार गरिरहेकी छु ।   अहिले म २७ वर्षकी भएँ । छोरा छोरीको भविष्यको ठुलो चिन्ता छ । मैले आठ कक्षा पढ्दा छोडेकी थिएँ । त्यो पढाइलाई फेरी म निरन्तरता दिएर अघि बढ्ने सोच्दै छु । मैले जस्तो दुःख कसैले नपाउन् । मलाई जस्तो बेचिन कसैलाई नपरोस ।  म कामना गर्छु ।

नाम परिवर्तित विनु बेचिने नेपाली चेली मध्येको एक प्रतिनिधि उदाहरण मात्र हुन ।  राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनका अनुसार नेपालबाट वर्षेनी नौ हजारदेखि बाह्र हजारको संख्यामा नेपाली महिला अहिले पनि बेचविखनमा पर्ने गरेका छन् । वैैदेशिक रोजगारको सिलसिलामा दैनिक नेपाली भुमि छोड्ने पन्ध्रसय  युवा युवती मध्ये कति बेचिदा हुन ? सोचनीय छ ।

(बानियाँ रेडियो नेपालका वरिष्ठ सम्वाददाता हुन् । उनले ढेड देशकदेखि यस्ता सामाजिक विषयमा कलम चलाउँदै आएका छन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: