लिलाराज भटटराई
सुनसरी । मानव वेचविखन तथा ओसार पसारविरुद्धको दिवस मनाइरहँदा पूर्वाञ्चलवाट गतवर्ष हराएका ८३२ महिलाको कहाँ छन् अत्तो पत्तो छैन । यो तथ्यांक पूर्वाञ्चलका १६ जिल्लास्थित प्रहरी कार्यालयमा आएका उजुरीको मात्र हो । हराएका महिला मध्ये कतिको उजुरी प्रहरीमा नआउने भएकाले हराउने महिलाको संख्या यो भन्दा वढी हुने अनुमान गर्न सकिन्छ । सो अवधिमा पूर्वाञ्चलवाट १८२ जना वालिका हराएकोमा ४२ जनामात्र भेटिएका छन ।
गत आर्थिक वर्ष ०७२\७३ मा पूर्वान्चलमा ९४२ जना महिला हराएको उजुरी प्रहरीमा आयो । ती मध्ये ११० जनामात्र भेटिएको प्रहरीको रेकर्ड छ । यो तथ्यांक हेर्दा ८३२ जना महिला हराइरहेका छन् । २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा पूर्वाञ्चलका १६ जिल्लामध्ये सवैभन्दा वढी मोरङवाट महिला हराएका छन् । मोरङवाट २३० जना महिला हराएको प्रहरीले जनाएको छ । यसैगरि झापावाट १७० जना महिला हराएका छन् । पूर्वक्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले दिएको तथ्यांक अनुसार उदयपुरवाट ८४, इलामवाट ७७, भोजपुरवाट ६९, संखुवासभावाट ५४ र सुनसरीवाट २७ जना महिला हराएका छन् ।
सो एक वर्षको अवधिमा हराएका मध्ये ११० जनामात्र भेटिएको जानकारी आएको प्रहरीले जनाएको छ । यसैगरि गत साउनदेखि अहिले सम्ममा २१ जना महिला हराएको उजुरी प्रहरीमा आएपनि १ जना मात्र फेला परेको छ । तीनजना वालवालिका हराइरहेका छन् । यसअधि आर्थिक वर्ष २०७१\७२ मा ९९९ जना महिला हराएको उजुरी परेकोमा १२८ जनामात्र महिला भेटिएका थिए ।
क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरका सञ्चार सम्र्पक अधिकृत गंगा प्रसाद पौडेल हराएका भनेर उजुरी आउने, तर भेटिएको जानकारी नदिने हुँदा पनि हराइरहेकाको सँख्या धेरै देखिने गरेको वताउनुहुन्छ । उहाँका अनुसार हराएका महिलालाई दलालले भारत पुर्याउने गरेको पाइएको छ । माइती नेपाल क्षेत्रीय कार्यालय प्रमुख गोविन्द घिमिरे पनि धेरै जसो नेपाली महिलालाई दलालले भारतको यौनवजारमा पुर्याउने गरेको वताउनुहुन्छ । उहाँका अनुसार भारतीय सर्कस र घरेलु कामदारका रुपमा पनि हराएका महिला पुग्ने गरेका छन् ।
वर्षेनी मानववेचविखन तथा ओसार पसारविरुद्धको दिवस मनाइन्छ । तर अरु दिन यसविरुद्ध प्रभावकारी कार्य हुन नसक्दा महिला हराउने क्रम वढदै गएको छ । यसवर्ष सोमवार मानव वेचविखन तथा ओसार पसारविरुद्धको दशौं राष्ट्रिय दिवस एउटै लक्ष्य एउटै सार मानव वेचविखनको अन्त्य हाम्रो साझा सरोकार भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम गरेर मनाइदैछ । सन् २००२ मा काठमाडौंमा सम्पन्न एघारौँ सार्क शिखर सम्मेलनबाट पारित महिला तथा वालवालिका वेचविखनविरुद्धको सार्क महासन्धिलाई नेपालले २०६३ भदौ २० गतेका दिन अनुमोदन गरेको दिनको स्मरणमा प्रत्येक वर्ष यसै दिन दिवस मनाउन थालिएको हो ।
‘
Comment Here!