महिला खबर
ललितपुर । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले वि स २०७२ सालको पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास ‘चीरहरण’ लाइ दिने भएको छ । सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैंया नगद प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानले गत साउनमा विज्ञप्तिमार्फत रामलाल जोशीको कथासंग्रह ऐना, निलम कार्की निहारिकाको उपन्यास चीरहरण, कुमार नगरकोटीको उपन्यास मिस्टिका, गिरीश गिरीको वीरगञ्ज मेरो शहरको कथा, भूपिनको कवितासङ्ग्रह सुप्लाको हवाइजहाज गरी पाँच कृतिको सूचि सार्वजनिक गरेको थियो । ती कृतिमध्येबाट मूल्याङ्कनकर्ताहरूको निर्णय बमोमिज चीरहरण उपन्यासलाई यो वर्षको पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने निर्णय भएको लामिछानेले जानकारी दिनुभयो ।
गत वर्ष प्रतिष्ठानले पुरस्कारको लागि आवेदन दिनुपर्ने व्यवस्था खारेज गरी प्रकाशित कृतिहरू प्रतिष्ठान स्वयंले बजारबाट खरिद गर्ने र पुरस्कारको अन्तिम घोषणा हुनुअघि पाँच उत्कृष्ट कृतिको मनोनयन गरी सार्वजनिक गर्दै आएको छ ।
यसैगरि पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलाले पाउनुहुने भएको छ । काइँलाले पाँच दशकभन्दा बढी समयदेखि नेपाली र लिम्बु साहित्यको श्रीवृद्धिको लागि कलम चलाउँदै आउनुभएको छ ।
नेपालका अन्य स्थानीय भाषा र तिनका साहित्यको उत्थान तथा अनुसन्धानमा योदगान पुर्याएको, उनको नेतृत्वले सुरु गरेको तेस्रो आयाम आन्दोलनले नेपाली साहित्यमा वैकल्पिक चिन्तनलाई प्रवेश गराए लगायतका योगदानको कदर र सम्मान गर्दै प्रतिष्ठानले यो वर्षको साधना सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।
सम्मानित सर्जकले अभिनन्दनसहित सम्मानपत्र र दुई लाख रुपैँया नगद पाउनेछन् ।
Comment Here!