सन्दर्भः ऋषिपञ्चमी व्रत, छोरा अब त बोलन


प्रकाशित मिति :2016-09-05 06:06:47

जो छोराले आफूलाई जन्माएकै कारण आमालाई पापीनीको संज्ञा दिने ढाेंगी, अन्धविश्वासी र संवेदनाहिन मानसिकताविरुद्ध बोल्न थाल्नेछन् । आमाको सम्मान, स्वतन्त्रता र आत्मसम्मानका खाँतिर मुठ्ठी कस्नेछन् त्यसदिनमात्रै आमाले न्याय पाउनेछिन् ।  

लोग्शरी कुँवर
LOKSARIतपाइको जीवनमा सबैभन्दा प्रिय व्यक्ति को हो ? भनेर हामीले कसैलाई सोध्यौं भने, उत्तर सहजै आउँछः ‘आमा’ । अपवाद बाहेक संसारका हरेक मान्छेले आमा बराबरको माया अरु कोहीबाट पाउँदैन । र त उसका लागि सबैभन्दा प्रिय अनि सर्वश्रेष्ठ व्यक्ति पनि आमा नै हुन्छिन् । आमा शब्दले हरेकलाई भावुक बनाउँछ । अरुको मायासँग तुलना गर्नै नमिल्ने आमाको त्यही अपार मायाकै कारण बनेका कयौं फिल्म, लेखिएका किताब र रचिएका साहित्यहरूले कसको  पो मन पगाल्दैन होला ? जस्तोसुकै कठोरका आँखा रसाउँदैनन् होला !

हो, आमाको यतिविघ्न गुणगान गाउने, संसारमा  सबैभन्दा उच्च स्थान दिने तिनै आमाप्रति भने हामी कति संवेदनशील छौं भनेर हेरेनौं  । आमाको महिमा बुझेन मान्छेले । आमा शब्द सुन्नेबित्तिकै आँखा रसाउँछन्, मुटु पग्लिन्छ, दिल धड्किन्छ, तर ति आमाको पबित्र गुणलाई भने कथित मान्छे बुझ्ने हेक्का राख्दैन । अझ प्रष्टै भन्ने हो भने कथित धर्मको आडमा आफूलाई धार्मिक, आस्तिक र सामाजिक भनेर गर्व गर्नेहरू नै आमाको गुणलाई लात्ता हानिरहेका छन् । मेरी आमाले मलाई जन्म नदिएको भए म यो धर्तीमा कसरी आउँथे भन्ने कुराको सामान्य हेक्का समेत छैन उनीहरूलाई । के मेरी आमा महिनावारी नभइदिएको भए म जन्मिन्थेँ त ? भनेर आफैँले आफैँलाई प्रश्न गरेन मान्छेले । र त महिनावारी हुनुलाई पापको रुपमा व्याख्या गर्ने धर्म, सांस्कृतिक परम्परा र अन्धविश्वासविरुद्ध प्रिय छोराहरू नै बोल्दैनन् । चुपचाप समर्थन गर्छन् आफ्नी आमाप्रतिनै गरिएको तुच्छ र अमानवीय व्यवहारलाई पनि ।

प्रसंग हो ऋषिपञ्चमी तिथीको । महिनावारी भएका बेलामा अरुलाई छुँदा, मठ, मन्दिर, नदी नाला, रुख, गाई भैंसी, घर छोएर गरेका असंख्य पापबाट मुक्ति पाउन आज व्रत बसिन्छ । छाउ अर्थात महिनावारी हुँदा गर्न हुँदैन भनि बर्जित गरिएका यी काम गरिएका छन् भने त्यसलाई नष्ट गर्ने ठूलो कडी नै ऋषिपञ्चमीको व्रत हो । ऋषिपञ्चमीको ब्रत कथाले त्यही भन्छ ।

के गरिन्छ व्रत बस्दा ?
ऋषिपञ्चमी व्रतको पुजा उपासनामा अपामार्ग (एउटा बिरुवा) र माटो (विशेषगरी हात्तीले टेकेको) महत्वपूर्ण मान्छिन् । अपामार्ग दतिउनका लागि र माटो हात धुनमा प्रयोग गरिन्छ । महिनावारी भएका बेलामा गरेका पाप पखाल्न ऋषिपञ्चमी व्रत बस्ने परम्परासँगै हात्तीले टेकेको माटोले योनी र गुदद्वार सफा गरिन्छ । त्यस्तै तीन सय पैंसट्ठीवटा ब्रस आकारका अपामार्गका टुक्राले दाँत माझिन्छ भने त्यसका पातहरू नुहाउनका लागि प्रयोग गरिन्छन् ।

राज्य अन्धविश्वासलाई संरक्षण गर्दै
आज नेपाल सरकारले महिला कर्मचारीहरूलाई बिदा समेत दिने गरेको छ । यो भनेको २०७२ असोज ३ गते जारी नेपालको संविधानविरोधी काम हो ।  संविधानको भाग–३ धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १७ को स्वतन्त्रताको हक, धारा १८ को समानताको हक, धारा २४ को छुवाछूत तथा भेदभावविरुद्धको हक, धारा ३८ को महिलाको हक र धारा ३८ को उपधारा २ को प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक, उपधारा ३ को महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनि गरिएको संवैधानिक व्यवस्थाकोविरुद्ध  छ ।

हाम्रो मुल कानुनलेनै महिलाहरुलाई कानुनी रुपमा यति धेरै अधिकार दिएको अवस्थामा महिनावारी भएका बेलामा अरूलाई छोएर गरेको पापबाट मुक्ति दिलाउने उद्देश्यले राज्यले महिलालाई ब्रत बस्न सरकारी बिदाको व्यवस्था गर्नु निन्दनीय काम हो । यो भनेको राज्यको मूल संविधानमा महिलालाई सुरक्षित मातृत्व र प्रजनन् सम्बन्धी हक हुनेछ भनि गरिएको कानुनी व्यवस्थाको खिल्ली उडाउनु हो ।

एकातिर महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनि कानुनी व्यवस्था गर्ने अनि अर्कोतिर त्यही कुरालाई संरक्षण गर्नका लागि सरकारी बिदा नै दिने ! यो कस्तो खालको संवैधानिक व्यवस्था ? यो भनेको त महिनावारी हुनु पाप हो, महिनावारी भएकी महिलाले कसैलाई छुनु समेत हुँदैन भन्ने गलत मान्यतालाई प्रश्रय दिने हो  ? यदी होइन भने किन राज्यले नै महिनावारीलाई पापको रुपमा व्याख्या गर्ने ऋषिपञ्चमी व्रत बस्न महिलालाई प्रेरित गरिरहेको छ ?

छोरा तिमी कहिले बोल्छौं ?
महिनावारी हुनु महिलाले प्राकृतिक रुपमा पाएको निःशुल्क बरदान हो । पुरुष चाहेर पनि, पैसा तिरेर पनि महिनावारी हुन सक्दैनन् । तर महिला भने नचाहेरै पनि हरेक महिना महिनावारी हुन्छिन् । त्यो प्रकृयालाई कसैले पनि रोक्न सक्दैन । जुन सृष्टिकै लागि गौरव र महिलाको लागि गर्वको विषय हो ।

ऋषी पञ्चमी व्रत कथा रच्ने, कथा प्रस्तुत गर्नेदेखि लिएर मठ मन्दिरमा महिनावारी भएकी महिलालाई प्रवेश गर्न नदिने व्यक्ति सबै पुरुष हुन् । अझ महिनावारी भएका बेला गरिएका पाप पखाल्न सरकारी बिदा नै दिएर महिलाहरूलाई ब्रत बस्न प्रोत्साहित गर्नेहरू पनि पितृसत्तात्मक सामाजिक, राजनीतिक, सांस्कृतिक संरचनाका पक्षपोषक पुरुष नै हुन् ।

नेपाली समाज, त्यसमा पनि अझ हिन्दु परिवारमा घरको मुली पुरुष नै छन् । त्यसको प्रभाव समाजका हरेक संरचनामा परेको छ । यसो भनिरहँदा यहाँ पुरुषको मात्रै एकलौटी र तर्कहिन बिरोध गर्न खोजिएको हैन । मात्रै के हो भने संसारमा आमालाई सबैभन्दा उच्च स्थान दिने छोराले यदि आफ्नी आमाको आत्मसम्मानका लागि ऋषिपञ्चमी व्रत जस्तो कथित धार्मिक तथा सांस्कृतिक पर्वविरुद्ध किन बोल्दैनन् भन्ने हो । मौनता किन तोड्दैनन् ? भन्ने हो । त्यसैले अब पनि छोराहरू आफ्नी आमाको आत्मसम्मानका लागि बोलेनन्, मौनता तोडेनन् भने धिक्कार हुनेछ उनीहरूप्रति । र सराप्ने छ आमाको ह्रदयले ।

महिलाका निम्ति बनेका निकाय किन मौन ?
महिला, बालिबालिका तथा समाज कल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोगलगायत संसदको महिला, बालबालिका तथा जेष्ठ नागरिक समिति र महिलाको प्रतिनिधित्व गर्छौ भन्ने सांसद महिलाले समेत ऋषिपञ्चमीमा महिलालाई बिदा दिने कुराको बिरोध नगर्नु अन्धविश्वास र कुरीतिलाई समर्थन गर्नु हो ।

महिलाको स्वतन्त्रतापूर्वक र सम्मानित ढंगले भेदभावरहित वातावरणमा बाँच्न पाउने हकविरुद्धको यो चाड महिलाको आत्मसम्मान, गतिशिलता र स्वतन्त्रताविरुद्धमा हुँदाहुँदै पनि महिलाकै हक हितका लागि काम गर्ने ठेक्का लिएका निकाय मौन रहनु चिन्ताको विषय हो । आपत्तीको विषय हो ।

प्रजनन शिक्षाको कमी
महिनावारीलाई धर्म र परम्परागत विश्वाससँग जोडेर हेर्नु लाजमर्दो कुरा हो । महिनावारी बार्ने चलनका कारण किशोरी तथा महिलाको मानसिक तथा शारीरिक सन्तुलनमा असर परिरहेको छ । हाम्रा धर्मले र जसको कारणले हाम्रो समाजले पनि महिलामा हुने यो एकदमै सामान्य शारीरिक प्रकृयालाई अझै सामान्यरुपमा लिईसकेको देखिँदैन । यसको कारण भनेको प्रजनन् शिक्षाको कमी हो । प्रजनन् शिक्षाको ज्ञान भएका मान्छेले महिनावारीलाई प्राकृतिक नियमा रुपमा बुझेर सामान्य रुपमा लिने गरेका छन् । उनीहरू त्यसलाई कुनै पाप वा कमजोरीको रुपमा बुझ्दैनन् र बुझाउँदैनन् ।

पुरुषलाई सफा हुनु पर्दैन ?

कुनै युगमा मान्छेहरूलाई दाँत मुख सफा गर्नुपर्छ, नुहाउँनु पर्छ भन्ने लाग्नैथ्यो होला । अनि दाँत मुख सफा गर्ने बिरुवा अपामार्गको सहज उपलब्धता पनि थिएन होला । त्यसैले मान्छेहरूमा दाँत मुख सफा गर्नुपर्छ भन्ने चेतना जगाउन, अपामार्गको महत्व बुझाउन र महिलाको संवेदनशील अंग मानिने योनी सफा राख्नुपर्छ भन्ने बुझाउनका लागि वर्षमा एक दिन यसो गर्न सिकाईएको हुनसक्छ । जुन एकदमै जायज थियो । युग अनुकूल थियो । किनकी आज हामी विज्ञानको युगका मान्छे भनेर गर्व गर्नेहरू नै महिनावारी (प्राकृतिक नियम)को समयमा अरुलाई छुँदा पाप लाग्छ भन्ने कुरामा विश्वास गर्छौ । हाम्रो राज्य नै त्यसलाई आत्मसात गर्छ भने त्यो बेलाका जान्ने बुझ्ने भनिएका ऋषीमूनीहरूले वर्षमा एक दिन भएपनि यसो गर है भनेर सिकाएको कुरालाई गलत मान्नु मूर्खता बाहेक केही होइन । तर, त्यो यूगमा पनि धर्तिमा सायद महिलामात्र अवश्य थिएनन् । यदी त्यसो हो भने दाँत मुख र गुप्ताङ्ग सफा गर्न किन महिलालाई मात्र प्रेरित गरियो होला ? के त्यतिबेलाका सबै पुरुष यस्तो कुरामा पोख्त थिए होलान त ? अनि वर्षभरी दाँत नमाझ्ने महिलालाई व्रत बसाएर एकै दिन (३६५ पटक) अपामार्गले दाँत मुख सफा गर्न, ३६५ पटक नै गुप्ताङ्ग सफा गर्न प्रेरित गर्ने ऋषीले त्यही कुरा पुरुषलाई चाँही किन नसिकाएका होलान् ?  के पुरुषले दाँत मुख अनि गुप्ताङ्ग सफा नराख्दा पनि हुने हो त ? अवश्य होइन । यो महिलालाई आफ्नो सौन्दर्यमा सँधै निखार ल्याईरहनु पर्छ र पुरुषलाई आफूतिर आकर्षित गरिरहनु पर्छ भन्ने मान्यताको उपज हो । जबकी पुरुष पनि त महिलाको नजरमा सभ्य, शालिन हुनुपर्छ, होइन र ?

र अन्तमा,
यहाँ रजस्वला बारे गरिएको गलत प्रचार, बुझिएका र बुझाइएका भ्रम, लोकाचार र निषेधको संस्कृति हटाउन जरुरी छ । र अब महिला मात्रैले केही गर्न खोजेर सायद सम्भव हुँदैन होला । महिलाले ब्रत नबसे भैगोनी, जर्वजस्ती व्रत बसाउन कसले पो लाउँछर भन्दै ओठे प्रश्न गर्नेहरूलाई जवाफ त हुनसक्छ । तर त्यो आवश्यक छैन । किनभने औपचारिक रुपमा डिग्री, पिएचडी गर्नेका श्रीमती, आमा, दिदीबहिनीहरूनै ऋषिपञ्चमीको ब्रत बसेर मुक्ति पाएको भ्रममा बाँचिरहेछन् भने उनीहरूले गरेको डिग्री, पिएचडीको प्रमाणपत्र नै जलाइदिँदा अनर्थ नहोला । शिक्षाले त मान्छेमा चेतना पो ल्याउनु पर्ने हैन र ? कथित शिक्षितको नाममा अन्धविश्वासलाई जगेर्ना गनेहरूले म शिक्षित हुँ भन्दै सान गर्नुको के अर्थ ? जुन शिक्षाले मान्छे, मान्छेबिच फरक देख्ने धार्मिक अतिवादका विरुद्ध एक शब्द बोल्दैन । आफैँलाई जन्माउने आमाको सम्मानका खाँतिर मुख खोल्दैन र सहन्छ चुपचाप । अनि हेर्छ रमिता । तर पनि भन्छ, मेरी आमा संसारमा सबैभन्दा सर्वश्रेष्ठ छिन् । उहाँको स्थान कसैले लिन सक्दैन । यदी त्यसो हो भने अब पालो छोराहरूको हो । जो छोराले आफूलाई जन्माएकै कारण आफ्नी आमालाई पापीनीको संज्ञा दिने ढाेंगी, अन्धविश्वासी र संवेदनाहिन मानसिकताविरुद्ध बोल्न थाल्नेछन् । टाउकोमा कफन बाँधेर आफ्नी आमाको सम्मान, स्वतन्त्रता र आत्मसम्मानका खाँतिर मुठ्ठी कस्नेछन्, त्यसदिनमात्रै आमाले न्याय पाउँनेछिन ।  जय आमा !

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: