छोरी पाएको निहुँमा ज्यान गुमाउँदै र घर निकालिँदै महिला


प्रकाशित मिति :2016-09-06 14:59:11

यमुना खनाल

छोरीमात्र जन्माएको भनेर मानसिक यातना खेपिरहेकी श्रदा सदाय

छोरीमात्र जन्माएको भनेर मानसिक यातना खेपिरहेकी श्रदा सदाय

सिरहा । सिरहाको गोबिन्दपुर गाविसकी एक महिलाको सुत्केरी भएको २२ दिनपछि रहस्यमय मृत्यु भयो । उनलाई परिवारले छोरी जन्माए मारी दिने धम्की केही महिना अगाडीदेखि दिँदै आएको भन्दै उनका माईतीले छोरीको हत्या नै भएको बताएका छन् । यता सिरहाको अर्नामा प्र.पी. गाविसका राम आशिष महराले छोरा नभएको भनेर नाति नातिनी भईसकेपछि १२ वर्षीया बालिकासँग विवाहको तयारी गरे । तर प्रहरी र अधिकारकर्मीको पहलमा विवाह रोकियो । यी घटना  उदारण मात्र हुन् । छोरा जन्मेनन् भने तराईका धेरै महिलाका श्रीमानले कि त दोस्रो विवाह गर्छन् , कि त उनीहरूले ज्यानै गुमाउनु पर्छ , धेरैले रात दिन मानसिक र शारीरिक यातना समेत खेपेर तीनै श्रीमान र परिवारसँग जिवन बिताईरहेका छन् ।

छोरा वा छोरी जन्माउने भन्ने कुराको निर्धारण महिलाको नभई पुरुषमा भर पर्ने कुरा विज्ञानले समेत प्रमाणित गरिसकेको तथ्य छ, तर अशिक्षित परिवारमा मात्र होईन शिक्षित परिवारले समेत छोरा नजन्माएको भन्दै बुहारी  वा श्रीमतीलाई यातना दिने गरेका छन् ।

सिरहाको गाढा गाविसकी श्रद्धा सदायले वर्षेनी चार वटी छोरी  जन्माइन् । सुकुम्बासी बस्ती की यी महिलाले गर्भवती र सुत्केरी हुँदा आराम गर्न र पोषणयुक्त खाना खान पाईनन् । दुईजना छोरी  खेर गयो । अहिले डेढ वर्षकी छोरी छन् । बर्षेनी बच्चा जन्माउँदा उनको शरीर छिनी सकेको छ । उनलाई अहिले उठ्न बस्नै समस्या हुने गरेको छ । तर उनलाई अहिले शारिरीरक पीडा भन्दा छोरा जन्माईनस् भनेर श्रीमानले दिने  यातना खप्न गाह्रो भएको छ ।

उनी अहिले सासु, ससुरासँग बस्छिन् ।  श्रीमान् वैैदेशिक रोगारीका लागि कतारमा छन् । गएको डेढ वर्ष भइसक्यो घरमा एक रुपैयाँ पनि पठाएका छैनन् । सात समुन्द्रपारी रहेका श्रीमानले श्रीमतीलाई दुःख सुःख सोध्नु त परको कुरा सँधै फोन गरेर घर छाडी हाल् भनेर बिदेशबाटै गाली गर्छन् र धम्की दिन्छन् ।

उनले भनिन् ‘श्रीमानले फोन गरेर छोरा जन्माउन सकिनस, मेरो जिन्दगी बर्बाद बनाइदिइस्, आजै घरबाट  निस्किहाल् भनेर गाली गर्नुहुन्छ ।’ सासु ससुरालाई  समेत किन घरबाट मलाइ ननिकालेको भनेर फोन गर्ने गरेको उनले रुँदै सुनाईन् ।

श्रद्धाले ठूलो मानसिक यातना सहेपनि कतै उजुरी भने गरेकी छैनन् । श्रीमान विदेशबाट फर्केपछि पनि त्यस्तै दुःख दिए प्रहरीमा उजुरी गर्ने उनले बताईन् ।

34

छोरा नजन्माएको, दाइजो नल्याएकोलगायतका आरोपमा महिलामाथि हिंसा भईरहेपनि प्रहरीसम्म भने आई पुग्दैनन् । छोरा भएन भनेर हिंसामा परें भन्दै प्रहरीसम्म आएको  रेकर्डमा छैन भन्नुहुन्छ  ईलाका प्रहरी कार्यालय लहानका डीएसपी राज कुमार के.सी । के.सी भन्नु हुन्छ ,‘छोरा नभएकै कारण धेरै महिला पीडित छन् ।’ ‘बहुविवाह, घरेलु हिंसा, कुटपीट  जस्ता समस्या लिएर आएका महिलाको घटना अनुसन्धान र खोज तलास गर्दै जाँदा छोरा नभएकाले हिंसा भएको देखिन्छ ।’

जुनसुकै कारणबाट हिंसा  भएपनि प्रहरीसम्म आईपुगेका घटनामा मिल्न सक्ने घटनालाई छलफल गरेर परिवारमा पुनस्थापना गर्ने ,नमिल्ने घटनालाई कानुनी प्रकृयाबाट अगाडी बढाईरहेको के.सीले जानकारी दिनु भयो ।

महिलामाथि हुने सबैखाले हिंसा न्युनिकरणका लागि प्रहरीले सचेतनामुलक  कार्यक्रम ,सडक नाटक र अहिले ‘प्रहरी मेरो साथी ’ अभियान मार्फत पनि काम गरिरहेको के.सीले बताउनु भयो ।

आफ्नो शरीरको आफैँले निर्णय लिन सक्ने अवस्था महिलाहरूको नरहेकाले उनीहरूमाथिको हिंसाले चरमरुप लिइरहेको अधिकारकर्मी रेनु कर्ण बताउनुहुन्छ । ‘छोरा नजन्माउन्जेलसम्म मेसिनले जस्तै आठ वटीसम्म भएपनि छोरी जन्माउनै पर्ने छोरा नभए चरम यातना खपेर बसेका धेरै महिलाहरू छन्’ उहाँ भन्नुहुन्छ ।

महिलामाथि भइरहको यस्तो हिंसाविरुद्ध छुटै  कानुनको आवश्यकता रहेको कर्णको भनाई छ । सबै खाले हिंसाको अन्त्य गर्न महिला शसक्त हुनै पर्ने र यसका लागि महिला शसक्तिकरण कार्यक्रम ल्याउनुपर्नेमा उहाँको जोड छ ।

छोरा नजन्माएकोले हिंसा भयो भनेर महिला बालबालिका कार्यालयमा पनि महिलाको गुनासो नगएको अधिकृत अनिता तामाङ्ग बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘नराम्री र काली भई, काम गर्ने ढंग छैन ,केही गर्न जान्दिन, काम गर्दिन,भन्ने जस्ता आरोप लगाएर कुटपीट भएको,खान नदिएको गुनासो लिएर आउँछन्, तर घटनाको अन्त्यसम्म खोज्दै जाँदा छोरा नभएकाले यी सबै हिंसा भएको खुल्छ ।’

महिला बालबालिका कार्यालयले महिला शसक्तिकरण गरेर महिलामाथि हुने हिंसा न्युनिकरणका लागि समूह मार्फत संगठित गर्ने , सहकारीको माध्यमबाट उनीहरूलाई सहयोग गर्ने खालका कार्यक्रम संचालन गरिरहेको उहाँको दावी छ  । महिलाको आयआर्जनका लागि  कृषक समूहमार्फत शसक्तिकरणका कार्यक्रम सञ्चालनमा रहेको तामाङ्गले जानकारी दिनुभयो । क्षमता, नेतृत्व र सीप विकास गर्ने र  महिलाका लागि बनेका नीति नियमको बारे जानकारी दिइ महिला शसक्तिकरण गरिरहेको उहाँले बताउनुभयो ।

हिंसामा परेका महिलालाई व्यवसाय सञ्चालनका लागि २० हजार बिउ पुँजी उपलब्ध गराउने , महिलालाई उपचार खर्च, हिंसामा परेका असाय महिलालाई यातायात खर्चलगायतका सहयोगका कार्यक्रम गर्ने गरेको उहाँको भनाइ छ  ।

उहाँ भन्नुहुन्छ ‘महिलामाथि हुने सबै खाले हिंसा न्युनिकरण गर्न महिलाको शिक्षामा  पहुँच बढाउनु पर्छ, भएका नीति नियम र कानुनको जानकारी ग्रामिण क्षेत्रमा बसोबास गर्ने शिक्षाबाट बन्चित महिलासम्म पुर्‍याउनुपर्छ । महिला शसक्त हुने हो र आफूमाथि भएका हिंसाविरुद्ध प्रतिबाद गर्न सक्ने हो भने महिलामाथि हुने हिंसा न्युनिकरण हुन्छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: