महिला खबर
ललितपुर । महिला महिनावारी हुँदा वर्षभरी भएको छोईछिटोबाट लागेको पाप पखाल्न भन्दै महिलाले मंगलवार सप्तर्षिको पूजा गरेका छन् । सबेरै नदी, खोला, ताल, तलैया र पोखरीमा स्नान गरी पवित्र भई दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरेर महिनावारीका बेला भएको छोइछिटो पखाल्ने परम्परा छ । रजस्वलाका समयमा जानी नजानी छुवाछूत भएको भए तथा त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गरेमा दोष हट्ने र पाप नलाग्ने धार्मिक मान्यता छ ।
तर महिनावारी अछुत नभएको र यसवेला भएको छुवाछुतबाट पाप नलाग्ने आवाज पनि जोडतोडले उठिरहेको छ । ऋषि पञ्चमीमा महिलालाई दिईएको बिदाको विरोध पनि भइरहेको छ । सरकारले एकातिर महिनावारी हुँदा राखिने छाउपडी गलत संस्कृति भन्ने, तर त्यही विकृतिलाई संस्थागत गर्दै ऋषि पञ्चमीमा विदा दिने भन्ने तर्क आइरहेका छन् । ऋषि पञ्चमी कै दिन सामाजिक सञ्जालमा पनि यो परम्पराविरुद्ध चर्को आवाज उठ्यो । ती मध्ये केही यस्ता छन् ।
पत्रकार तथा लेखक केदार शर्मा आफ्नो फेसबुकमा लेख्नुहुन्छः महिलालाई रजस्वला हुनुको ‘अपवित्रताबोध’ बाट मुक्त गराउनमा विवेकशील पति र बाबुहरूको ठूलो भूमिका हुन्छ। सबै पुरुषहरूमा ऋषिपञ्चमीको शुभकामना !
यसैगरि पत्रकार लक्ष्मण कार्कीले लेख्नुभएको छः नारीलाई रजस्वलाको प्रथम दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने मान्यताले लिइदो रहेछ ऋषिपञ्चमीको ब्रत । नपढेलेखेकाले त थाहा पाएनन ल ठिकै छ तर पढेलेखेकाहरू नै यस्तै ब्रतका लागि भाेकभाेकै बसेका छन् । धर्म संस्कृतीका नाममा रहेका विकृती हटाउनेपनि कि मान्दिनका लागि मान्दिने मात्र ? पञ्चमीको ब्रतका लागि कसैलाई शुभकामना नदेर मँ यस्ता गलत परम्पराप्रति भद्र विरोध जनाउँछु।
मानवबादी समाज (सोच) नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले आफ्नो फेसबुक लेख्नुभएको छः आज पशुपतिमा स्वघोषित पापी महिलाहरु पाप पखाल्ने विधिमा व्यस्त । पाप पखालीदिने पुरोहित पुरुषको मालामाल । पुरुष सत्ता त्यसै स्थापित छैन । जसको पुजा गरिन्छ सबै पुरुष सप्तऋषीहरु रहेछन् । महिलाको रजस्वला भएपछि हुने पापलाई पखालिदिनेपनि पुरुष नै अरे जसलाई रजस्वलाको जिन्दगी अनुभव नै हुदैन । क्या विकसित समाज हाम्रो
कमल परियार ट्वीटरमा लेख्नुहुन्छः रजस्वालारुपी छुवाछूत अन्त्य गर्न सप्तर्षिको पूजा गर्ने / गराउनेहरुले…….जीवनभर छुवाछुत भोग्नेहरुका बारे के सोंच्दा हुन् ?
Comment Here!