महिला खबर

दायाँ बाट क्रमस् हिरा भट्टराइ, सीता गुरुङ, विन्दु कोईराला र लक्ष्मी पाण्डे
पोखरा । पोखरा उद्योग वाणिज्य संघको यही भदौ ३१ र असोज १ गते हुन लागेको ३१ औं महाधिवेशनमा अध्यक्षसहित चार महिलाले पदाधिकारीमा उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्षमा हिरा भट्टराइसहित अन्य पाँचजना प्रतिस्पर्धामा उत्रिएका छन् । वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष देव क्षेत्रीसहित विश्वशंकर पालिखे, ईश्वर कर्माचार्य, नारायण कोईराला र धनिराम बरालले अध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन् । भट्टराइ १४ वर्षदेखि संघमा आवद्ध हुनुहुन्छ भने पूर्व उपमहासचिव र वर्तमान कार्य समिति सदस्य हुनुहुन्छ । संघको ६२ वर्षको इतिहासमा पहिलो पल्ट अध्यक्षमा महिलाको उम्मेदवारी परेको हो ।
उद्योग तर्फको उपाध्यक्षका लागि सीता गुरुङ र गोकर्ण कार्की बीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा विन्दु कोईराला सुवेदी, केदारनाथ भट्टराई र सुरेश अधिकारी प्रतिस्पर्धी बनेका छन् । महासचिवमा कांग्रेस कास्कीका कोषाध्यक्ष समेत रहनुभएकी लक्ष्मी पाण्डे र दामु अधिकारीविच प्रतिस्पर्धा हुँदैछ ।
संघको २५ सदस्यीय कार्यसमितिका लागि ५३ जनाले उमेदवारी दर्ता गराएका छन् । सोमवार मनोनयन पत्र लिने सबैले मंगलवार उमेदवारी दर्ता गराएका हुन् । खुल्ला १० सदस्य पदमा २१ जनाले उमेदवारी दिएका छन् । खुल्ला तर्फ सदस्यका लागि ६ जना महिलाको उम्मेदवारी परेको छ । सदस्य पदमा चीनु गुरुङ, सीता बराल, गीता तिवारी, मुना वास्तोला, गोमा ढकाल, पवित्रा देवी गुरुङ रहेका छन् । संघको यति लामो इतिहासमा पदाधिकारीसहित सदस्यमा यतिधेरै महिलाको उम्मेदवारी पनि पहिलो पल्ट परेको हो ।
दर्ता गरिएको उम्मेदवारी उपर दावी बिरोधका लागि बुधवार बिहान ११ बजेदेखि अपरान्ह २ वजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ । उमेदवारी उपरको दावी विरोधको छानबिन पनि सोही दिन सम्पन्न गरी अपरान्ह पाँचबजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ ।
Comment Here!