टिकट पाएँ भने जसरी पनि जित्छु : लक्ष्मी खतिवडा


प्रकाशित मिति :2016-09-07 15:10:43

नुनुता राई
ललितपुर । लक्ष्मी खतिवडा यतिबेला एउटा इतिहास रच्ने तयारीमा छिन् । आगामी असोज ३ देखि ५ गतेसम्म नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलको महाधिवेशनमा पहिलो महिला सभापति बन्ने दौडमा छिन् । खतिवडा झन्डै तीन दशकदेखि काँग्रेसको राजनीतिमा सक्रिय छिन् । सुनसरीबाट राजनीतिमा प्रवेश गरेकी लक्ष्मी तरुण दलको प्रभावशाली नेता मध्ये पर्छिन् । आगामी असोजमा हुने तरुण दलको सभापतिको उम्मेद्वारी दिने तयारी गरिरहेकी छिन् । उनै लक्ष्मीसँग उनको तयारी र नेपाली राजनितीमा महिलाको अवस्थाको बारेमा महिलाखबर डटकमले गरेकोे कुराकानी ।

l1

महाधिवेशन नजिकिँदै छ । तयारी कस्तो चलिरहेको छ ?
एकदम रफ्तारमा चलिरहेको छ ।  जिल्ला  अधिवेशन हुने क्रम चलिरहेको छ । नेपाल तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी अन्तर्गत तीनवटा जिल्लाको अधिवेशन गराउने जिम्मेवारी पाएकी थिएँ । सोलुखुम्बु, मुगु र काठमाडौंको । यो भन्दाअघि काठमाडौंको जिल्ला अधिवेसन सम्पन्न हुन नसक्दा  जिल्लाले महाधिवेशनमा भाग लिन पाएको थिएन । संगठनभित्र करिव असम्भव ठानिएको यो अधिवेशन सफलतापुर्वक सम्पन्न भएपछि मनबाट एउटा ठूलो बोझ हटेको छ । केही जिल्लाको अधिवेशन अझै नसकिएकोले महाधिवेशन सरेको छ । त्यसैले अधिवेशन सक्न दौडधुप चलिरहेको छ । त्यसैमा व्यस्त छु ।

तपाई तरुण दलको सभापतिको बलियो उम्मेद्वार भन्छन् । आफैँले आफैँलाई कस्तो उम्मेद्वारको रुपमा प्रस्तुत गर्न चाहनुहुन्छ ?
आफूले गरेको योगदान, संघर्ष र चूनौति जस्लाई पनि भयंकर गरेजस्तो लाग्छ । त्यो तपाईलाई पनि लाग्छ । तर अरुले त्योभन्दा बढी गरेका हुन सक्छन् । म आफैँ सभापतिको दाबेदार हुँ । आठ, दश जना साथी दौडमा हुनुहुन्छ । त्यो मध्येमा २, ३ जनाले चुनाव लड्ने हो । जस्तो म आफूले आफैँलाई अब्बल देख्छु । मेरो संघर्ष र चूनौति मलाई थाह छ । मैले पार गरेका अप्ठ्यारा, म यहाँसम्म आइपुग्नलाई गरेका दुःख र योगदानले म यो पदको लागि योग्य ठान्छु । तर फेरि म जत्तिकै संघर्ष गरेका अझ म भन्दा बढी संघर्ष गरेका साथीहरू अझै सडकमा हुनुहुन्छ । उहाँहरू दौडमा पनि हुनुहुन्न । त्यसैले काँग्रेस पार्टी आफैँमा ऐतिहासिक ठुलो पार्टी हो । यत्ति हुँदाहुँदै पनि लाईनमा बसेर कोही ढोकाबाट नभएर झ्यालबाट छिर्न खोज्छन् । यस्ता मान्छेलाई रोक्नुपर्छ । मेरो परिश्रम, संघर्ष र सिंगो जवानीको लगानी छ यहाँ । बाँकी त केही छैन । न घर छ । न परिवार छ । न मैले अरु कुनै सुख सुविधाको लागि सोचे । पेसामा गएको भए पनि म ५४ सालको अधिवक्ता हुँ । यत्तिबेला स्थापित अधिवक्ताको रुपमा हुन्थे हुँला । ती सबै छोडेर यहाँ लगानी गरेको छु । मैले मेरो राष्ट्रको बारेमा केही गर्नुपर्छ, हामीले पनि गरेनौं भने कसैले गर्दैन भन्ने भावानाले म अहिलेको अवस्थामा छु ।

laxmi

पार्टी गुटबन्दीका कारण तपाई भन्दा कमजोर उम्मेद्वार आउन सक्ने सम्भावना कत्तिको छ ?
स्वाभाविक ढंगले गुटको राजनीति छ  । काँग्रेस भनेकै ऐतिहासिक रुपमा दुइटा काँग्रेस मिलेर बनेको पार्टी हो । त्यसैले जन्मिँदै यसमा गुट छन् । गुट भनेको प्रजातान्त्रिक पार्टीको सुन्दर पक्ष हो । यसलाई अन्यथा लिन पनि मिल्दैन । जसको विचार मिल्छ हामी एक आपसमा सँगै बसेर चिया खाने न हो । तपाई मन नमिल्नेसँग त बसेर गफ गर्नुहुन्न नि । इन्ट्रेस्ट म्याचिङ र लाइक माइन्डेड मान्छेहरू एकठाउँमा बस्ने न हो गुट भनेको । तर गुटबन्दीका कारणले कहिले काहीँ समस्या हुन्छ । गुटबन्दीको कारण  धेरै राम्रो भएको पनि छ ।

जो मान्छेले संघर्ष बुझेको छैन । हिजोको इतिहासबारे जानकार छैन । अध्ययन गरेको छैन । काँग्रेसको इतिहाससँग साक्षात्कार नगरी यसमा पैसा छ भन्दै पावर देखाउन आउनेलाई निरुत्साहित गर्ने । तर संघर्ष गरेकै मध्येबाट आफ्नो जिम्मेवारी प्रति प्रतिवद्ध भएर, राजनीति बुझेर आउँछ भने म पछि परें भन्ने ढंगको मात्र पनि कुरा हुँदैन  । यो त जागिर होइन । जनताले लिने हो यसको लोकसेवा परीक्षा त । लोकतन्त्रको लोकसेवा जनता हो । हामीले संगठनको चुनाव लड्यौँ भने थाहा पाउने हो ।

राजनीतिमा महिला नेतृत्वमा आउन नसक्नुको कारण गुट बनाउन नसक्नु र नचाहनु हो भनिन्छ नि ?
त्यस्तो होइन । महिला ‘पावर एक्सरसाईज’ गर्न सक्दैनन् । एकदम स्वभाविक कुरा भन्दैछु म । अनावश्यक आश्वासन दिन सक्दैनन् । म अध्यक्षको उम्मेद्वार हो भन्ने भएपछि केन्द्रीय सदस्य उठ्छु दिनु भन्ने २० जना भेटिसकें, तर मैले सल्लाह गर्नुपर्छ भनेँ । तर यदि यही कुरा कुनै पुरुषलाई भन्ने हो भने ए भईहाल्छ नि म गर्छु भन्छन् । महिलाले ढाँट्दैनन । राजनीति  सामान्य कुरा होइन यो ठुलो हो । जस्तो अहिले लोकसेवामा एक से एक महिला गएका छन् । मेरा जुनियरहरू सहसचिवको र्‍याङ्कमा छन् । महिला राजनीतिबाट पलायन हुनु परिवारको सहयोग हुँदैन, पैसा हुँदैन । यसले पावर एक्सरसाईजमा प्रभाव पर्छ । अर्को कुरा महिला दारुपानी खाँदैनन् । खाएपनि राती अबेरसम्म बस्दैनन् । अन्र्तकृया हुँदैन । यसले पनि प्रभाव पार्छ । पुरुषहरू पिएर रातभर गफ गरेर बस्छन् । अनि भनिन्छ नि खाएपछि सत्य बोल्छ । यसले विपक्षीका कमजोरीहरू उसको रणनिती पनि थाहा हुन्छ । कुनैपनि महिला पिएर त के नपिई अबेरसम्म अर्को पुरुषसँग बसेर गफ गरेमात्र पनि विभिन्न चारित्रीक लाञ्छना लगाईन्छ । यस्ता कुराले नेतृत्व लिन महिलालाई गाह्रो बनाउ“छ ।

1

पुरुष नेताले महिला लहैलहैमा राजनीति गर्न आउँछन् , अनि त्यसरी नै हराएर जान्छन् भन्ने जस्ता आरोप लगाउँछन नि ?
धेरै आफ्नै रहरले आएका छन् । शुरुमा त कतिलाई ल्याइन्छ नै । थोरै लहै—लहैमा लागेका छन् । ल्याइए पनि महिलाले विस्तारै आफूलाई सक्षम बनाएका छन् । जब महिला  बलियो रुपमा आफूलाई प्रस्तुत गर्न सक्ने क्षमतावान हुँदै जान्छन्, तब उनीमाथि हिंसा सुरु हुन्छ । अब यो मेरा सहयोद्घा भई भनेर विभिन्न किसिमले हिंसा गर्न थाल्छन् । त्यसबेला महिलाले आफूलाई बलियो भएर चूनौतिको सामना गर्न सक्ने क्षमताको विकास गर्न सक्यो भने उ निरन्तर अगाडी बढ्छ । हिंसा गर्न खोज्नेहरू पछि हट्छन् । चूनौति सहन नसक्ने हिंसाको प्रतिकार गर्न नसक्ने पलायन हुन बाध्य हुन्छन् । उनीहरू फेरि फर्केर आउनै सक्दैनन् । नेपाली राजनीतिमा महिलाको सहभागिता कम हुनुको मुख्य कारण यो पनि हो ।

राजनीतिमा महिला स्थापित हुन पुरुषको साथ जरुरी छ ?
छ भन्ने कि, छैन भन्ने । अहिलेसम्मको अवस्था हेर्दा यस्तै देखिन्छ । हाम्रो समाज पितृसत्तात्मक छ । जस्तो राष्ट्रपति विद्यादेवी भण्डारी हुँदा जुन खालको म्यासेज जानुपथ्र्यो त्यो गयो त ? उहाँ संघर्षबाट खारिएर, राजनीतिको एकदमै तल्लो तहबाट एकदमै दु: ख गरेर आएको मान्छे होइन । उहाँ राष्ट्रपति हुनु लैंगिक हिसावले  अत्यन्तै सकारात्मक कुरा हो । तर जुन ढंगको म्यासेज जानुपथ्र्यो त्यो गएन । उहाँ राष्ट्रपति हुनुमा मदन भण्डारीको नाम उहाँको योगदान र के पी ओलीको साथ हुन्थेन भने उहाँ राष्ट्रपति हुनुहुन्थेन ।

अर्को सभामुख ओनसरी घर्ती संघर्ष गरेकी हुन् लडेर सारा गरेर आएकी हुन् । अत्यन्तै तल्लो तहबाट दुःख गरेर आफ्नो बलियो स्थान बनाएकी छिन् । यति हुँदाहुँदै पनि वर्षमान पुन त्यहाँ हुँदैनथे  भने उनी पनि सभामुख हुने थिइनन् । भनेपछि महिला नेतृत्व क्षमता विकासको सुचक कहाँनेर जोड्ने त ? यो प्रश्न हो की होइन ? यस्को उत्तर खोज्ने बेला भयो कि भएन ? महिलाको विषयमा नेपाल त के अमेरिका मै अहिले हिलारी क्लिण्टनलाई राष्ट्रपति उम्मेद्वार हुन उनका पति विल क्लिन्टनको नामले मद्दत गरेन र ? अवश्य ग¥यो । नेपालमा मात्र नभएर विश्वमा महिलाको अवस्था यस्तै छ । यी कुराहरू अन्र्तसम्बन्धित छन् । त्यसले गर्दा यस विषयमा गहन अध्ययन हुन जरुरी छ ।

यसको अर्थ राजनीतिमा महिलालाई प्रयोग गरिन्छ ?
जब कुनै महिलालाई सहभागिता बढाउने हिसावमा सहभागी गराईन्छ, अथवा ल्याइन्छ भने त्यस्तो अवस्थामा हुन्छ । तर तपाई आत्मनिर्णय सहित आउनुभो भने कसैले प्रयोग गर्न सक्दैनन् । यसमा लैंगिक कुरा पनि हुन्छ । हाम्रोमा त्यो क्रम विकास हुन्छ कि हुँदैन । विकृति विसङगति भन्छन् । हुँदा के हुन्छ, नहुँदा के हुन्छ । त्यो फरक पाटो हो । बहुस्त्री गमनलाई पुरुषले अधिकारको रुपमा लिने गरेका छन् । एउटा पुरुषले आफ्नी पत्नी बाहेककी अथवा प्रेमिकासँगको सम्बन्ध सगर्व घोषणा गर्छ । तर महिलाले त्यस्तो सम्बन्ध बनाउन नै चाहँदैनन, बनाउँदैन । भएपनि त्यो कुरा लुकाउन खोज्छ । यही विषयलाई पुरुषले गर्वका साथ लिन्छ । फेरि यही कुराले महिला लान्छित हुन्छे । हाम्रो सामाजिक संरचना यस्तो छ । यसले पनि महिला प्रयोग हुन्छ भन्ने कुरालाई सहयोग गर्छ ।

2

तपाई एउटा इतिहास बनाउने होडमा हुनुहुन्छ । तपाईलाई आउन नदिने चलखेल पनि होला । टिकट पाउने सम्भावना कत्तिको छ ?
मलाई नेताले टिकट नदिने कारण एउटामात्र छ, त्यो के हो भने म आजको दिनसम्म आफ्नै बलबुताले आएँ । मैले भनेको लक्ष्मीले मान्दिनँ, मैले भनेको कुनैपनि कुरा यीनले अक्षरस पालना गर्दिनन्, यत्ति हो ।

म कुनै पनि नेताको घर धाउँदिन । यत्तिबेला यो अवस्थामा मेरा सहयोद्घाहरूलाई कसैलाई पनि घरमा भेट्न सकिन्न । म कार्यक्रममा जान्छु । लेख्छु, पढ्छु । यो भन्ने वित्तिकै मैले नेताको मर्यादा नराखेको भन्ने हुँदैन । रामचन्द्र पौडेल १५,१६ वर्ष जेल बस्नुभाछ । उहाँले पार्टीमा त्यत्रो लगानी गर्नु भएको मान्छे हो । शेर बहादुर दाईलाई मैले भोट दिइनँ । उहाँ निर्वाचित सभापति हो । उहाँहरूलाई मैले सम्मान नगर्ने भन्ने प्रश्नै छैन । तर, उहाँहरूलाई अर्को थप नेता जन्माउनु छैन । जसको कारण यत्रो वर्षसम्म भ्रातृसंस्थाको अधिवेशन रोकियो । यद्यपी म एउटा इमान्दार कार्यकर्ताको नाताले मेरो उहाँहरूप्रतिको सम्मान सदैव रहन्छ । म चाकडी गर्न जान्दिनँ । सम्मान गर्नु, मर्यादा राख्नु र चाकडी गर्नु फरक कुरा हुन् ।

महिला राजनीतिमा किन असफल भएका होलान त ?
पहिलो कमजोर पक्ष भनेकै हाम्रो कार्यदिशा स्पष्ट नहुनु हो । म जित्छु, हारे भने ? टिकट पाउँछु पाईन भने ? हरेक चीजका विकल्प सोचिनुपर्छ । सोच्दै नसोची हिँड्दा खाल्डो आएपछि त परिन्छ । खाल्डो आउनु अगाडी जोगिने क्षमता त राख्नुपर्‍यो नि ! सफल हुनका लागि दृढ संकल्प गरेर अघि बढ्नुपर्छ । अहिलेको पुस्ता फेसबुकको लाईक र टुईटरको फलोअर हेर्छन् । उनीहरू सामाजिक सन्जालमा पाउने कमेन्ट र लाईकलाई पनि इन्डिकेटर मान्छन् । त्यही अनुसार अघि बढ्छन् । राजनीति त्यसरी चल्दैन । कत्तिबेला के हुन्छ आफू सकृय भइएन भने स्वभाविक रुपमा असफल भईन्छ । काम नगर्ने अनि आशा राख्दा विपरीत रिजल्ट आउँछ । जसले निराशा भई पलायन हुन बाध्य बनाउँछ ।

जस्तो मैले तरुण दलको सभापतिमा उठ्छु भनेकी छु । मैले त स्वयं सभापति बाहेक अरु हुन्न भनेर देखाउन सक्नुपर्छ नि । सभापति बाहेक अरु हुन्न भनेर बलियो आधार बनाउन त आफैँ सक्नुपर्छ । आफ्नो निर्णयमा नेतालाई झुकाउन सक्ने त क्षमता देखाउन सक्नुपर्छ नि । अब मैले टिकट पाएँ भने म जसरी पनि जित्छु । यो मेरो बलियो दावा हो । मैले अहिले सम्म ७२ जिल्ला घुमेकी छु । त्यहाँको अवस्था बारे जानकार छु । टिमको भोट क्रस गराउने भनेको तपाईको व्यक्तिगत सम्बन्ध र कामले हो ।

तपाईलाई राजनीतिमा टिक्न केले मद्दत गरेको छ ?
राजनीतिमा लागेका मान्छेको एक किसिमको दु: ख कष्ट हुन्छ । फेरि पनि मान्छेको समर्पण हुन्छ । निष्ठा हुन्छ । यो पनि एउटा नशा हो भन्छु म । मलाई राजनीतिप्रति प्रेम छ । जसको कारण आफ्नै बलबुताले यहाँसम्म आएकी छु । न मेरो बाउ राजनीतिज्ञ हो न दाई । मलाई कसैको सहयोग पनि छैन । म मेरो संघर्षले यहाँसम्म आएकी छु । मेरो बलियो पक्ष भनेको नै मेरो आत्मविश्वास हो । मेरो संघर्ष यहाँ भनेर सकिन्न । तपाईले टेकेको जमिन हल्लिन्छ । कुनै दिन किताव नै लेखौँला । मलाई पनि निराशा नछाएको होइन ।

५६ साल ताका मलाई निराशाले छोपेको थियो । त्यस बेला पाञ्चागं निर्णायक समितिको अध्यक्ष मंगलराज जोशीसँग भेट भो । कुराकानी गर्दै गर्दा मैले राजनीति छोड्ने विचार व्यक्त गरेँ । उहाँले त्यसबेला के भन्नुभो भने ‘हैन नानी सबै छोडेर जोगी हुँदा पनि नेतै हुनुपर्छ’ भन्नुभो । त्यसपछि जोगीको नेता हुनुभन्दा राजनीतिक नेता बन्छु भन्ने लाग्यो, छोडिनँ । मान्छेलाई कुनै न कुनै चीजले बाँधेको हुन्छ । कतिपय ठाउँमा मेरो भाषण सुनेर मेरो पृष्ठभूमि थाहा पाएपछि गर्व गर्छन् । महिला भएर पनि यस्तो हिम्मत गरेर यो स्थान बनाउन सफल भएको भनेर गर्व गर्छन् । यीनै हुन मलाई थप हौसला दिने ।

3

भर्खरै सुनसरीको अधिवेशनमा मैले बोलिरहँदा अगाडी बसिरहेकी एउटी बहिनी रोइन । मैले देखिरहेकी थिएँ । बोलिसकेर तल झरे अनि सोधें, उनले भनिन परिवारको साथ विना यो स्थानमा आउनु भनेको सामान्य होइन यो साधारण महिलाका लागि असम्भव हो । म तपाईप्रति गौरवान्वित भएर आँशु थाम्न नसकेको हो । यस्तो धेरै ठाउँमा भएको छ । म राजनीतिमा टिक्न यस्तै कुराहरूले उर्जा दिन्छ । संगठनका सदस्यहरूको माया म प्रतिको विश्वास र साथ नै हो । र अर्को कुरा जीवनलाई अर्थपूर्ण बनाउन पनि म यो फिल्डमा छु ।

तपाई ७२ जिल्लामा पुगिसक्नुभयो । जिल्लामा महिलाको अवस्था कस्तो छ ?
काँग्रेस ठुलो पार्टी हो । केही पाउने भन्दा केही नपाउने कै जमात ठूलो छ । यो पार्टीमा लागेर धेरै क्षमतावान व्यक्ति केही नपाएरै मरे । म यो सालमात्र कर्णाली गएँ । यो भन्दा अगाडी म कर्णाली गएकी थिइन । त्यहाँ गएर आइसकेपछि मलाई के लाग्यो भने हामी सुगम ठाउँमा बसेका छौं । हामी जस्तै नेपाली नागरिकता लिएर बसेका नागरिक सामान्य भन्दा सामान्य स्वास्थ्य उपचार शिक्षा लिन पाएका छैनन् । त्यहाँको औसत आयु ४० वर्षको हाराहारी छ । मुगुको अधिवेशनमा जाँदा त्यहाँको एक जना महिलाले म केन्द्रीय प्रतिनिधी जान्छु भन्नुभयो । म स्टेजमा थिएँ ।

 उहाँ मेरो ठ्याक्क अगाडी हुनुहुन्थ्यो । उहाँले जुरुक्क उठेर म पनि जान्या हुँ भन्नुभो । मैले उहाँलाई आमा तपाई कत्ति वर्ष पुग्नु भो भनेर सोधें । उहाँले म ३५ वर्ष पुँगे भन्नुभो । म ४३ वर्ष पुगेको मान्छेले जम्मा ३५ वर्ष पुगेको महिलालाई आमा भनेर संवोधन गरेँ । त्यसबेला त्यो संवोधन स्वाभाविक देखिन्थ्यो । उहाँको शारीरिक अवस्थाले । यस्तो अवस्थाको पछाडी के हो त ? सबै क्षेत्रमा सरकार जवाफदेही हुँदैन । जसले देखेर आयो उसले खोतल्न पर्छ कि पर्दैन त ? भन्ने कुराले मलाई गम्भीर बनाएको छ । हामी पनि कुनै न कुनै रुपमा जिम्मेवार हुनुपर्छ ।
मलाई यहाँनेर विपीको भनाई जोड्न मन लाग्यो विपीले भन्नुभाछ, ‘संविधानको अध्ययन गर्दा ती संविधानका चिसा अक्षरमुनि कुनै न्यानो आत्म स्पन्दित भईरहेको छ कि छैन भनेर विचार गर्छु ।’ संविधानले जनताका कुरा संवोधन गर्नुप¥यो । सिंगो राष्ट्र अखण्डताको कुरा गर्दा राष्ट्रभित्र विभेद हुनुभएन ।

तपाईको उम्मेद्वारी केका लागि ? तपाइ सभापति भएपछि तरुणले के गर्छ ?
मेरो लागि यो एउटा चूनौतिको विषय हो । अहिले समाजमा सम्बन्ध विच्छेदको संख्या बढ्यो भन्छम हामी । यो सामाजिक परम्परा हिजोको थियो, त्यो परम्परा विश्रृङखलित हुँदै आयो भन्छौं । यो हुनुमा वैदेशिक रोजगारी एउटा कारण हो । अनेक संख्यामा वैदेशिक रोजगारीमा हामी गयौँ घरमा दुलही एक्लै छन् । सँगै समाजमा केही बेरोजगार पुरुष पनि छन् । यी यावत कारणले गर्दा यसमा असर गरेको छ । साथमा वैदेशिक रोजगारीले चेतना पनि दिएको छ । पहिला पहिला शौचालय नबनाउने हामी वैदेशिक रोजगारीबाट आएसँगै गाउँघरमा शौचालय, स्नानकक्ष बनाउन थाल्यौँ । देशदुनियासँगै सुविधा भोग्यौँ । परिवर्तनको संवाहक कतार, मलेसिया पुगेर आएका युवा पनि हुन् । सुनेको भन्दा देखेकोले प्रभावकारी बनाउन सहयोग पुग्छ । वैदेशिक रोजगारीले घरमा टेलिभिजन हातमा मोबाईल बोक्ने हैसियत दिएको छ । जसले गर्दा विश्वको सूचनामा पहुँच हुनुको साथै समाचार गाउँ गाउँमा पढ्न तथा हेर्न सकिने भएको छ ।

यति विकासका कुराहरू हुँदा/हुँदै पनि सामाजिक विसङ्गतिका परिणाम पनि वैदैशिक रोजगारीसँग जोडिएर आएको छ । कृषिमा आत्मनिर्भरता थियो त्यो कम हुँदै गएको छ । अहिले हामी हलो जोत्नु भनेको अथवा घरको काम गर्नु भनेको अपमानित पेशा ठान्छौँ। हामी विदेश गएर चर्पी सफा गर्न सक्छौं, तर घरमा आएर ढलेको लोटा उठाउँदैनौ । यो संस्कारको रुपमा विकसित भईरहेको छ । त्यसले गर्दा मेरो मुल उद्देश्य भनेको वैदेशिक रोजगारीलाई विकल्पसहित निरुत्साहित गर्ने हो । युवा स्वरोजगारका लागि आएको पैसालाई साँच्चीकै युवासम्म पु¥याउनु चाँही मेरो उद्देश्य हो र ठूलो चूनौति पनि ।  युवा सहकारी, ग्रामीण उद्योगधन्दा, कृषिमा आधारित उद्योगको विकासमा लगानी गर्ने वातावरण  बनाउँछु ।  जो साँच्चिकै उद्यम गर्न चाहान्छन्,  उनीहरूलाई तालिमसहितको ऋण दिने व्यवस्था गर्न हरदम प्रयास गर्छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: