सर्मिला बुढाथोकी

श्रीमानसंग राधिका
दोलखा । दोलखा भीमेश्वर नगरपालिकाकी राधिका बुढाथोकीको दिनचर्या अहिले काठमाडौंको गल्ली गल्लीमा मजदुरी गरेर वित्ने गरेको छ ।
विपन्न परिवार, कमाई गर्ने श्रीमान विरामी, यसरी मजदुरी गर्नु राधिकाको बाध्यता बनेको छ । कमाई गरेर परिवार पाल्ने श्रीमान दुईवर्षदेखि विरामी परेपछि घर खर्च र श्रीमानको उपचारका लागि राधिका दिन रात नभनी मजदुरी गरिरहेकी छिन् । पारिवारीक गुजारा, कोठा भाडा र हप्ताको ५ हजार श्रीमानको लागि उपचार खर्चको जोहो गर्न राधिकालाई निक्कै मुस्किल परेको छ ।
राधिकाका श्रीमान् ३६ वर्षीय चिरन बुढाथोकी काठमाडौंमा मजदुरी गर्दै पारिवारीक गुजारा चलाई रहेका थिए । दुईवर्ष अघिको कुरा हो काम गरिरहँदा एक्कासी खुट्टा सुनिएपछि सहकर्मीले अस्पताल जान सुझाव दिए । सहकर्मीकै सुझाव अनुसार अस्पताल पुगेका चिरनलाई डाक्टरले दुवै मिर्गौैलाले काम गर्न छोडी सकेको जानकारी गराएपछि उनको जीवनमा त संकट पैदा भयो नै उनको पारिवारमा समेत अन्धाकार छायो ।
साना साना दुई छोराछोरीको पढाई खर्च र श्रीमानको उपचार खर्चका लागि कठिन मजदुरी गर्न बाध्य २५ वर्षकी श्रीमती राधिकालाई यति बेला न गरी खानु न मरिजानु भने जस्तै भएको छ । राधिका भन्छिन् – श्रीमानको उपचारमा १० लाख रुपैयाँ भन्दा बढी त आफूसँग भएको नगद खर्च भै सक्यो, पाँचलाख रुपैयाँ ऋण लागेको छ, खै कसरी उपचार गर्ने, कसरी दैनिकी टार्ने र कसरी ऋण तिर्ने । श्रीमानको किड्नी फेर्न सकिए समस्या केही हदसम्म भएपनि समाधान हुने र श्रीमानलाई समेत बचाउन सकिने आश लिएकी छन् राधिकाले । तर समस्या फेरिपनि पैसाकै छ । डाक्टरले १०/१५ लाख भए मृगौला फेर्न सकिने बताएका छन्, आर्थिक व्यवस्था गर्न सके श्रीमानलाई म आफ्नै मिर्गौला दिने थिएँ – राधिकाले भनिन् । श्रीमानकै उपचारका लागि काठमाडौंमा भौतरिएकी राधिकाको चित्कार सुनेर उनका दुई छोराछोरीलाई भने नायक राजेश हमालको सहयोगमा जर्मनी संस्थाले पढाईदिन थालेको छ । छोरा छोरीको लागि अहिले खासै तनाव नभएपनि श्रीमान् बचाउन मिर्गौला प्रत्यारोपणको लागि कसरी आर्थिक व्यवस्थापन गर्ने भन्ने समस्याले सताईरहेको छ उनलाई ।
आर्थिक अभावकै कारण श्रीमानलाई उचित हेरचाह समेत गर्न नसकेको उनको गुनासो छ । हुन त अहिले मिर्गौला पीडितका लागि सरकारले हप्ताको दुई पटक डायोलोसिस गरिदिने नीति ल्याएको छ । तर राधिकाको श्रीमान्को हप्तामा चार पटक डायोलोसिस गर्नुपर्ने भएकोले मासिक २० हजार रुपैयाँ भन्दा बढी खर्च जुटाउनु पर्छ । राधिका भन्छिन् – अहिले डायोलोसिस गर्ने पैसा जुटाउनै मुश्किल छ कसरी मिर्गौला प्रत्यारोपण गर्न खर्च जुट्ला र ।
Comment Here!