महिला खबर
रामेछाप । जिल्लाका अधिकांश खानेपानी योजनामा कोलिफर्मका जिवाणु फेला परेका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा रामेछापले गरेको पानीको परिक्षणका क्रममा जिल्लाका अधिकांश खानेपानीका योजनामा कोलिफर्म जिवाणु फेला परेको जनाएको छ ।
महासंघले जिल्लाका ५३ वटा खानेपानी योजनाको पानी परिक्षण गरेको थियो । पानी परिक्षण गरिएका योजनामध्ये ९५ प्रतिशत भन्दा बढी योजनामा दिशामा पाइने जिवाणु कोलिफर्म फेला परेको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ रामेछापका अध्यक्ष लेख बहादुर कार्कीले बताए । पानी परिक्षणका क्रममा कोलिफर्मसँगै अन्य हानिकारक जिवाणु समेत भेटिएको कार्कीले बताए ।
खानेपानीको स्वच्छताको विषयमा कुरा उठेपछि महासंघले जिल्लाका ७० वटा खानेपानीका योजनाको पानी परिक्षणको काम गरेको थियो । पानी परिक्षणको काम हाल पनि जारी रहेको महासंघले जनाएको छ । ७० मध्ये ५३ को भने पानी परिक्षण भइसकेको र बाँकी सबै परिक्षण सम्पन्न भईसकेपछि त्यसको प्रतिवेदन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछाप र जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई बुझाइने पनि अध्यक्ष कार्कीले बताए ।
जिल्लावासीले उपभोग गर्ने खानेपानी दुषित अवस्थामा रहेको पाइएकोले फिल्टर गरेको पानी उमालेर खानुपर्ने, तथा सोडिस गरेर या पियुसको प्रयोग गरेरमात्र पानी पिउन महासंघले सुझाव दिएको छ । महासंघले एउटा योजनाको ४ वटा नमुना परिक्षण गर्दा पानीको मुहान, पानी संकलन गर्ने ट्याङ्की, धारो र घरमा समेत परिक्षण गरेको बताएको छ ।
पानीमा आइरन, एमोनिया, कोलिफर्म, नाइट्रेड, क्लोराइड, फस्फोरस पानीको कडापन, अम्लीय तथा क्षारीय अवस्था लगायतका ९ वटा आइटममा पानी परिक्षण गरिएको जानकारी महासंघले बताएको छ । खानेपानीका निम्ति जटिल मानिएका ९ वटा अवस्थाको मात्र पानी परिक्षण गरिएको पनि महासंघले जनाएको छ ।
Comment Here!