असुरक्षित गर्भपतनका कारण महिलाको ज्यान जोखिममा


अस्पतालको गेटमै रहेको पसलबाट खुलेआम अवैध औषधि बिक्री वितरण

प्रकाशित मिति :2016-09-11 14:15:24

प्रकाश सिंह

अत्यधिक रक्तस्रावका कारण जोखिममा रहेकी धौलि लुहार

अत्यधिक रक्तस्रावका कारण जोखिममा रहेकी धौली लुवार

बाजुरा । बडिमालिका ७ कोर्ध बस्ने ३२ वर्षीया धौली लुवारले समदरमुकाममा रहेको स्थानिय मेडिकलबाट खाएको गर्भपतनको औषधिका कारण ज्यान जोखिममा परेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको गेट नजिकै रहेको मष्टामहादेव आयुर्वेद पसलबाट पन्ध्रसय रुपैयाँको गर्भपतनको औषधि किनेर  खाइ असुरक्षित रुपमा गर्भपतन गराउँदा उनी जिल्ला अस्पताल बाजुरामा जिवनमरणको दोसाधमा छटपटाइरहेकी छन् ।

धौलीले ६ दिन पहिला मष्टामहादेव आयुर्वेदबाट गर्भ तुहाउने औषधि किनेर खाएकी थिइन् । त्यसको केही समयमै अत्याधिक रगत बग्न थाल्यो । तरपनि  उनी उपचारका लागि अस्पताल नगइ घरमै बसिन् । रगत बगेर   अवस्था गम्भिर हुँदै गएपछि मात्र जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना भएको स्वास्थ्यकर्मीले वताएका छन् ।

गर्भपतनपछि अत्यधिक रगत बगेका कारण  उनको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. मोहन नाथले वताएका छन् । धौलीको रगतमा ३ प्वान्ट ८ हेमोग्लोबिनको मात्रा रहेको छ । उनमा रक्त अल्पता पनि धेरै भएका कारण ज्यान निकै जोखिममा रहेको छ भने अर्को तिर उनलाई रगत दिने व्यक्ति समेत नपाएकाले ज्यान जोखिममा रहेको नाथले वताएका छन् ।

गर्भपतन वा सुत्केरी महिलाको ८ प्वान्इट भन्दा तल हेमोग्लोबिनको मात्र घटेमा ज्यान जोखिममा हुने गरेको छ । उनलाई पत्रकार महासंघ बाजुराका अध्यक्ष मदन जैशीले एक पोका रगत दिएका थिए । उनलाई बि नेगेटिभ रगत आवश्यकता रहेको छ ।

धौलीका श्रीमान जनक लुवारले आफूले स्थानिय आयुर्वेदबाट औषधि किनेर खुवाएको बताएका छन् । ‘यस्तो होला भन्ने थाहा भएन, तर अहिले आफ्नी श्रीमतीको ज्यानै जोखिममा गएपछिमात्र यो गैरकानुनी भएको थाहा पाएँ’  उनले भने । मष्टामहादेव आयुर्वेदले अवैध रुपमा गर्भपतन औषधि बिक्री गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

उक्त आयुर्वेद सञ्चालक मोहन बहादुर धामीले मिफेप्रिस्टोन २०० एमजी र मिसोप्रोस्टल २०० एमसिजी  ( Mifepristone 200mg one Tablet & Misoprostal 200mcg four Tablet) नामक औषधि  उनलाई दिएको वताएका छन् । आफूले यस्तो औषधि बिक्री गर्न पाउने नपाउने कुरा आफैलाई थाहा नभएको उनले वताए । धौली जस्तै बाजुरामा धेरै महिला यसरी गैरकानुनी गर्भपतन गरिरहेका छन् । सुरक्षित गर्भपतन गर्नका लागि सरकारले व्यवस्था गरेको भएपनि बाजुरामा भने अनुमति नलिएका औषधि पसलबाट गर्भपतन गराउने धन्दा बढदै गएको छ । जसका कारण महिलाको स्वास्थ्य पनि जोखिम बन्दै गएको छ ।

गर्भपतन गराउन नर्स, डाक्टरले तालिम लिएको हुनुपर्छ । त्यसैगरी गर्भपतन गराउने स्वास्थ्य संस्था पनि सुचिकृत भएको हुनुपर्छ । संस्था र व्यक्ति दुबै गर्भपतन गराउन पाउने व्यवस्था भएपनि यो क्षेत्रमा भने मनोमानी रुपमा गर्भपतन भईरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थिले वताउँछन् ।

‘तर गाँउघरमा गैरकानुनी रुपमा एचए, अहेब, अनमी र अरु स्वास्थ्यकर्मीले समेत गर्भपतन गराईरहेका छन् ।’ कानुनत १२ हप्तासम्मको मात्रै गर्भपतन गराउन पाइन्छ । अवस्थिका अनुसार शारिरीक, मानसिक अवस्था ठिक भएमात्र गर्भपतन गराउनुपर्छ । तर, कुनै परिक्षण बिना नै औषधि खुवाएर गर्भपतन गराउने आम प्रचलन छ । धेरै रगत बग्ने, तल्लो पेट दुख्ने, गन्हाउने पानी बग्ने समस्या हुनु यसैको परिणाम हो ।’

‘सुरक्षित गर्भपतन सेवा विस्तार रणनीतिक तथा कार्य सञ्चालन सेवा निर्देशिका २०६६’ अनुसार स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाबाट गर्भपतन सेवा प्रदान गर्ने व्यक्ति र संस्था दुबैले प्रमाण–पत्र लिएका हुनुपर्छ । तर गाँउमा खोलिएका औषधि पसलबाट अदक्ष जनशक्तिका भरमा गर्भपतन गराउने काम भईरहेको छ । बाजुरामा जिल्ला स्वास्थ्य कार्यलय बाजुरा र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र मात्र सुचिकृत संस्था हुन् । ति संस्थामा पनि व्यक्ति सुचिकृत नभएमा गर्भपतन गर्न पाँउदैनन् ।

बाजुरामा गर्भपतन गराउन धेरै प्रयोग गरिने औषधि मिफेप्रिस्टोन २०० एमजी र मिसोप्रोस्टल २०० एमसिजी ( Mifepristone 200mg one Tablet & Misoprostal 200mcg four Tablet) हो । यो औषधी धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र भारतका बिभिन्न शहरबाट सुदूरपश्चिमका पहाडमा भित्रिने गरेको छ । अनुमति नलिएको पसलबाट यो औषधी खरिद वा बिक्री गर्न पनि पाईंदैन । भारतको गौरिफन्टाको जयमाता औषधि पसलका सञ्चालक विनित पाण्डेका अनुसार, नेपाल भारतको आसपासका शहरमा गर्भपतनको औषधि किन्न जाँदा कुनै चिकित्सकको सिफारिस खोजिँदैन । आवश्यकता अनुसार किन्न पाइन्छ ।

भारतीय बजारमा ३ देखि ५ रुपैयाँसम्म हालेर ल्याएको औषधी नेपालमा १ हजारदेखि ३ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । सुुदूरपश्चिममा सुुरक्षित गर्भपतन सेवाका लागि ३६ वटा स्वास्थ्य संस्था सुचिकृत रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अनुगमन अभावले पनि असुरक्षित गर्भपतन
बाजुरा जिल्लामा असुरक्षित र गैरकानुनी रुपमा गर्भपतन हुँदासम्म पनि कसैको ध्यान जान सकेको छैन् । जसका कारण यो धन्दा दिन प्रति दिन बढदै गएको छ । जिल्ला स्वास्थ्य कार्यलयको गेटमा रहेको मष्टामहादेव आयुर्वेद पसले खुलेआम अवैधानिक रुपमा औषधि बिक्री गर्दा यसमा कुनै निकायको ध्यान जान सकेन । अनुगमन गर्ने निकाय औषधि व्यवस्था विभाग भएपनि जिल्लामा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयलाई पनि अनुगमन गर्न पाउने अधिकार रहेको छ । तर कतैबाट अनुगमन नहुँदा खुलेआम सदरमुकाम मार्तडी र कोल्टिमा रहेका औषधि पसलले बिक्री यस्ता  औषधि गरिरहेको स्थानियले वताउँदै आएका छन् । बाजुरा जिल्लाका कुनै पनि औषधि पसलले यो औषधि बिक्री गर्न पाउने अनुमति नभएको औषधि व्यबस्था विभाग नेपालगञ्जले जनाएको छ । प्रमुख जिल्ला अधिकारी भोज राज श्रेष्ठले भने आफूलाई यो बारेमा कुनै पनि जानकारी नआएको वताएका छन् ।

मध्य तथा सुदूरपश्चिमका औषधी पसलको अनुगमन गर्ने जिम्मा औषधि व्यवस्था विभाग नेपालगञ्जले पाएको छ । नेपालगञ्जले यो क्षेत्रका २४ जिल्लाको अनुगमन गर्नुपर्छ । विभागको कोही मानिस अहिलेसम्म बाजुरामा अनुगमन गर्न आएको आफूलाई जानकारी नभएको जिल्ला अस्पतालका प्रमुख डा. मोहन नाथ वताउँछन् । औषधि व्यवस्था विभाग नेपालगञ्ज प्रमुख मेनु श्रेष्ठको आफ्नै तर्क छ । उनी भन्छिन, ‘अनुगमन गर्न औषधि निरिक्षक अनिवार्य हुनु पर्ने हो, तर २४ जिल्ला हेर्ने ३ जना निरिक्षक छौं। त्योपनि एक जना कार्यालय प्रमुख सहित ।’

श्रेष्ठका अनुसार एकजनाले कार्यालयको काम हर्नुेपर्छ । दुई जनाले सबै ठाउँमा कसरी अनुगमन गर्नु ?’ सुदूरपश्चिममा महिलाको स्वस्थ्यमाथि यो विघ्न खेलवाड भइरँदा पनि सरकारको अनुगमन कार्य प्रभावकारी छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: