महिला खबर
रामेछाप । जिल्लाका २२ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले ती स्वास्थ्य संस्थामार्फत् यसै आर्थिक वर्षबाट सो सेवा सञ्चालन गर्न लागेको हो ।
यो सेवा बारे जानकारी दिन जिल्ला स्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको एक कार्यक्रममाका कार्यालय प्रमुख डा. प्रकाश प्रसाद साहले गर्भपतन अत्यन्त संवेदनशील भएकोले जिल्लाभित्र प्रसूति सेवा सञ्चालन भईरहेका स्वास्थ्य संस्थामध्ये सुरक्षित गर्भपतनको तालिम प्राप्त जनशक्ति भएका २२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।
गर्भपतन २ तरिकाबाट गरिने बताउँदै शाहले भन्नुभयो “औषधि खुवाएर गरिने गर्भपत सेवा र सर्जरी गरेर गरिने २ खालका गर्भपतन सेवा छन् । १२ हप्तासम्मको गर्भ औषधि खुवाएर पतन गर्ने सकिने भए पनि १२ हप्तामाथिको गर्भपतन गराउँदा भने सर्जरी गर्नुपर्दछ । यो अत्यन्त जोखिमको काम हो ।” हाल सर्जरी मार्फत गरिने गर्भपतन सेवा जिल्ला अस्पताल रामेछाप र तामाकोसी सहकारी अस्पताल मन्थलीमामात्र रहेको छ । यी बाहेक सबै स्वास्थ्य संस्थामा औषधि खुवाएर गरिने गर्भपतन सेवा सञ्चालन गर्न लागिएको शाहले जानकारी दिनुभयो ।
रामेछाप जिल्लामा गत आर्थिक वर्षमा १९७ जनाले गर्भपतन सेवा लिएको जानकारी गराइएको थियो । जसमध्ये १६२ जनाको औषधि खुवाएर तथा ३५ जनाको सर्जरीमार्फत् गर्भपतन गराइएको पनि शाहले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ एकिकृत चिकित्सा अधिकृत डा.झलक गौतमले विश्वमा ४० प्रतिशत महिला विना योजन गर्भवती हुने गरको बताउँदै गर्भपतन गराउने महिला मध्ये ४९ प्रतिशत महिलाले अझै पनि असुरक्षित गर्भपतन गराउने गरेको तथ्याङ्क रहेको पाइएको बताउनुभयो । यसले महिलाको स्वास्थ्यमा गम्भिर खतरा हुने गरेको औंल्याउनुभयो ।
कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले महिलालाई अनिच्छित गर्भ आउनबाट रोक्नको लागि परिवार नियोजन सेवामा महिलाको सहज पहुँच पुग्नुपर्ने बताउनुभयो । अनिश्चित गर्भ आइहालेमा त्यसको सुरक्षित अवतरणका लागि पनि त्यतिकै ध्यान दिनुपर्ने उहाँको तर्क थियो ।
कार्यक्रमका भएका अधिकांश सहभागीले गर्भपतन सेवालाई बढावा दिने खालका भन्दा पनि परिवार नियोजनका सेवालाई सहज र प्रभावकारी रुपमा अघि बढाउनु पर्ने साथै परिवार स्वास्थ्यका विषमया आमसमुदायलाई सचेत गराउनुपर्ने धारणा राखेका थिए ।
Comment Here!