नुनुता राई
ललितपुर । उच्च राणा परिवारमा जन्मेकी सुधा बस्नेतले जागिर खानुभन्दा आफ्नै पेशा शुरु गर्ने इच्छा सानैदेखि पालेकी थिईन् । ‘यो उद्योग हामीले हाम्रो पेवा पुँजीको लगानीबाट शुरु गरेका हौँ ’ सुधाले भनिन् । नेपालमै पहिलो पटक उत्पादित पेपर पेन्सिल उद्योग वुमेन्स ड्रिम्स पेपर पेन्सिल उद्योगकी संस्थापक हुन बस्नेत । त्यसैको फलस्वरुप यो उद्योगको स्थापना भएको बताउँछिन् । उनी आफू उच्च खानदानमा जन्मे पनि सँधै मध्यम परिवारको महिलाको विषयमा चासो राख्थिन् । स्थानीय महिलाको समस्या फरक रहेको बताउँछिन् । उनी भन्छिन् ‘पढ्नेले जागिर खान जान्छन् । नपढ्नेले घरभित्रै बस्नुको विकल्प छैन ।’
ती घरभित्र बसेर धन्दा गर्न बाध्य महिलालाई अवसर प्रदान गर्ने उद्देश्यले थोरै लगानीमा सिर्जनशिल कामको थालनी गरौँ भन्ने चाहानाले यो उद्योगको स्थापना भएको बताउँछिन् । उनी भन्छिन् ‘स्थानीय महिलाको समय घरमा बसेर खेर गएको देखेर यो समयको सदुपयोग हुने खालको केहि काम गरौँ भन्ने लाग्यो । त्यसैको फलस्वरुप यो उद्योगको स्थापना भयो ।’
उद्योग स्थापना गर्नका उनलाई घरपरिवारको साथ र हौसलाले मद्दत मिलेको बताईन् । उनी सानैदेखि मेहनत गराउन रुचाउँथिन् । राणा खानदानमा जन्मेको कारण उनले केही काम गर्न पर्दैन थियो । पढ्ने र खेल्ने मात्र काम हुन्थ्यो । परिवारको व्यक्तिपिच्छे सुसारे हुने गथ्र्यो । ती सबैले हजुर भन्ने सेवामा ५, ६ जना पछि लाग्ने हुन्थ्यो । यो क्रियाकलाप सुधालाई मन पर्दैन थियो ।
उनलाई जे गर्न हुँदैन भनिन्थ्यो त्यही गर्न पथ्र्यो । उनकोमा गाई पालिएका थिए । गोठालोले गोबर सोहोरिरहेको बेला आफू पनि जाने सोहोर्ने गर्थिन् । यो देखेर गोठालोले बिन्ती गर्थे ‘हजुर यसो नगरिसीयोस् बिन्ती छ, हामीलाई पाप लाग्छ ।’ उनी भन्छिन् ‘उच्च खानदानको रवाफ छुट्टै हुन्थ्यो जुन मलाई कहिल्यै मन परेन ।’
सुसारेको सुसार देखेर उनलाई अचम्म लाग्ने गरेको बताउँछिन् । आफू जस्तै मान्छेका लागि किन छुट्टै सेवा गर्न तयार हुन्छन् भन्ने मनमा अझै लाग्ने गरेको अनुभव सुनाउँछिन् । यही कारण उनलाई सामान्य जीवन विताउन मन लागेको बताउँछिन् ।
१६ वर्षको उमेरमा विवाह भएपछि उनी श्रीमानको घरमा बस्न थालिन् । त्यसबेला उनी दिनभरि कोठाभित्रै पढेर, लेखेर बस्ने गर्थिन् । नयाँ काम के गरौँ भन्ने लागिरहने । अनि आफ्नै पोते खोल्दै नयाँ नयाँ डिजाईनमा बुन्दै फुकाउँदै बस्थिन् । घरमा कसैले थाहा नपाउने हुनाले सबैले कोठामा मात्र बस्छ भन्ने गर्थे । उनी त्यसबेलाको सम्झना गर्छिन् ‘म कोठाभित्र मात्र बस्थे के गर्छु थाहा पाउँदैनथे त्यै भएर मलाई मेरो सासुले कोठे रानी भन्नुहुन्थ्यो ।’
उनले त्यसबेला थुप्रै कथा लेखेकी छिन् । लेख्न थालेको धेरैपछि उनको श्रीमानको करले उनले आफ्नो पहिलो पटक विमोचन पत्रिकामा छाप्न दिएकी थिईन् । जसले उनलाई कथाकार बन्न प्रोत्साहन मिलेको बताउँछिन् । उनी भन्छिन् ‘मैले लेखेका कथाका पात्र र विषय जहिल्यै पनि मध्यम तथा निम्नस्तरका व्यक्तिको हुन्थ्यो ।’
उनको कथा पढेर हजुरबुवा र बुवा जहिल्यै चकित पर्ने गरेका थिए । ‘यो कथा त ठ्याक्कै तिनीहरूको जीवनसँग मिल्छ तिमीले कसरी थाहा पायौ भनेर सोध्नुहुन्थ्यो ।’ उनका धेरै कथा विभिन्न पत्रपत्रिकामा छापिइसकेका छन् । ४ वटा कथा संग्रह पनि प्रकाशित भईसकेको छ ।
कथाकार कसरी उद्योगतिर आउनुभयो भन्ने जिज्ञासामा भनिन् ‘लेख्ने त छदैं छ अब मैले काम गरेर यहाँका महिलालाई जागरुक बनाउनुपर्छ भन्ने सोचले हो ।’ उनको मुख्य लक्ष्य स्थानीय मध्यम परिवारको महिलालाई जागरुक बनाउन रहेको छ । स्थानीय महिला जागरुक हुनै नचाहने बताउँछिन् । उनीहरूलाई जागरुक बनाउन ठूलो चुनौती छ । तर प्रयास जारी रहने उनको भनाई छ । उनी भन्छिन् ‘यहाँको महिलामा जागरुक हुनुपर्छ । केही गर्नुपर्छ भन्ने नै छैन, मलाई पुगेको छ किन काम गर्नु भनेर बुझेका छन् ।’
उनको उद्देश्यलाई स्थानीय १४ जना महिलाले साथ दिए । फलस्वरुप वुमेन्स ड्रिम्स पेपर पेन्सिल उद्योग स्थापना गरे । यो उद्योग सञ्चालन गर्न सबैले पेवा पुँजी लगानी गरेर पेन्सिल बनाउन आवश्यक पर्ने मेसिन चाईनाबाट ल्याएको बताए ।
यो उद्योगले उत्पादन गरेको पेन्सिल अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन्छ । यो उद्योग मार्फत डेढ सय महिलाले विभिन्न तालिम लिएका छन् । जस्तो पेपर पेन्सिल बनाउन, व्युटि पार्लर सम्बन्धि तालिम । दैनिक रोजगारी २० जना महिलाले पाएका छन् । घरमै बसेर काम गर्ने ३५ जना महिला छन् । यो उद्योगले कागजको पेन्सिल उत्पादन गर्नुको साथै डम्बरकुमारी कपडाको पनि बिक्री तथा निर्यात गर्दै आएको छ । अहिले पेन्सिल र कपडा भण्डारणमा रहेकोले दशैंमा प्रयोग हुने लिफाको उत्पादन गरिरहेको प्रतिभा श्रेष्ठले बताईन् ।
यो उद्योगले उत्पादन गरेको पेन्सिल युके, अष्ट्रेलियामा एक/एक ठाउँमा र जर्मनीमा दुई ठाउँमा अनलाइन पसल मार्फत बिक्रि हुन्छ । साथै रोमानिया, स्वीडेन, जापान, थाईल्याण्ड, मलेशियामा नियमित ग्राहक रहेको श्रेष्ठले बताईन् । अहिले धनकुटा र हेटौंडामा पनि उद्योग विस्तार हुन लागेको छ ।
Comment Here!