चेलीहरूको यस्तो कथा फेरी लेख्नु नपरोसः पुर्वप्रधानमन्त्री के पी ओली
हाम्रा छाेरीचेली कोही सुरक्षित छैनन्ः दनुवार
महिला खबर
काठमाडौं । ‘चेलीहरूको यस्तो कथा फेरी लेख्नु नपरोस सवैले संकल्प गरौं’ पुर्व प्रधानमन्त्री के पी ओली भन्दै हुनुहुन्थ्यो । महिला बेचविखनमा लामो समयदेखि कार्यरत शक्ति समूहकी संस्थापक अध्यक्ष सुनिता दनुवारद्वारा लिखित आँसुको शक्ति नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओलीले पुस्तकमा एउटैको कथा भएपनि बेचिएका हजारौं चेलीको कथा समेटिएको बताउनुभयो । ओलीले अाँशुकाे शक्तिको लोकार्पण गर्नुभएको थियो ।
‘मान्छेभित्रको राक्षसी प्रबृत्तिको अन्त्य कसरी गर्न सकिन्छ, यो अन्त्य नभइ अझै कति चेलीहरुले यस्तो नियती भोग्नुपर्ने हो, समाजमा ती पीडितहरू नै भाग्दै हिँड्नुपर्ने र पीडक वा अपराधी छाती फुलाएर हिँड्ने अवस्था निकै मार्मिक छ’ उहाँले भन्नुभयो । ‘पीडित भएवापत समाजबाट झन हिंसा, घृणा र असम्मान हुनुपर्ने स्थितिको अन्त्य होस ओली भन्नुभयो ।’ समाजमा प्रकट र अप्रकट हिंसा भित्रभित्रै छ भन्दै उहाँले यसको अन्त्यका लागि महिला र बालिका शिक्षालाई अनिवार्य गर्नका लागि काम भइहेको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै पुस्तककी लेखक सुनिता दनुवारले हजारौं दिदीवहिनीलाई बेचिनबाट जोगाउन आफ्नो कथा आँसुको शक्तिमार्फत बाहिर ल्याएको बताउनुभयो । ‘सामाजिक बहिस्करणमा पर्ने डरले अहिलेपनि हजारौं दिदीवहिनी बाहिर आउन मान्दैनन्, उनीहरूलाई बाहिर ल्याइ उनीहरूले भोगेका दुःख कष्ट र भोगाइ आम दिदीवहिनीमा पुर्याउन सकेमात्र पनि बेचविखन रोकिन मद्दत पुर्याउँछ त्यसैले उनीहरूलाई प्रोत्साहन दिन यस्ता कथा मैले नलेखे कसले लेख्छ भनेर आफ्नो कथा लेखेकी हुँ’ दनुवारले भन्नुभयो ।
कोहीपनि दिदीवहिनी र हाम्रा छोरी सुरक्षित नभएको उहाँको भनाइ थियो । बेच्ने तरिका फरक भएको छ, बम्बइमा नबेचिएलान, तर वैदेशिक रोजगारीका नाममा र विवाहका नाममा महिला बेचविखन बढीरहेको उहाँले बताउनुभयो ।
बेचिएर नारकिय जीवनबाट फर्केकालाई समाज र राज्यले संरक्षण दिनुको साटो झन तिरस्कार गर्ने हुनाले पनि उनीहरू खुल्न नचाहने उहाँले बताउनुभयो । बेचविखन रोक्न राज्यले बिशेष पहल गर्नुपर्नेमा दनुवारले जोड दिनुभयो ।
२ सय २४ पृष्ठको सो पुस्तकमा मानब बेचबिखन पहिले कसरी हुने गरेको थियो , मानब बेचबिखन पश्चात मुम्बइलगायतका बिभिन्न देशमा महिलालाई कसरी प्रताडित बनाइन्छ र अहिले मानब बेचबिखनको अवस्था कस्तो छ भन्ने जस्ता कुराहरू जस्ताको तस्तै समेटिएको छ ।
Comment Here!