नुनुता राई
ललितपुर । नेपाली कांग्रेसको भगीनी संगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि ३१ गते प्रतिस्पर्धा हुने भएको छ । दश वर्षपछि भईरहेको महिला संगठनको चौथो अधिवेशनले नयाँ क्षमतावान नेतृत्वको जन्म हुने महिला संघका नेताले बताइरहेका छन् ।
शसक्तिकरणका चार सुत्र निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नारासहित बुधबारदेखि महाधिवेशन सुरु हुदैछ । नेपाली काँग्रेसभित्र रहेको गुटगत उम्मेद्वारीको कारण माहौल थप तताएको छ । अहिलेसम्म रामचन्द्र पौडेलको पक्षबाट मिना पाण्डेलाई उम्मेद्वार दिने घोषणा गरेको छ । मिना पाण्डेको घोषणासँगै स्थानीय, प्रान्तीय चुनावमा चालीस प्रतिशत कार्यकारीणी मागको लागी आफ्नो उम्मेद्वारी भएको महिला खबरलाई बताएकी छिन् । रामचन्द्र पौडेलको प्रस्ताव सर्वसम्मत अध्यक्ष सुजाता कोइरालालाई शेरबहादुर देउवा पक्षले अस्वीकार गरेको समाचार बाहिरिएको छ । पार्टीको गुटबन्दी कै कारण अहिले काँग्रेस नेताबीच क–कसलाई उम्मेद्वार बनाउने भन्ने विषयमा होडबाजी चलिरहेको देखिन्छ । पुरुष नेता सक्रियरुपमा आफ्ना पक्षधरलाई सञ्चालन गर्न व्यस्त छन् ।
यस्तै सभापति शेरबहादुर देउवाको पक्षबाट चित्रलेखा यादव, उमा अधिकारी र मञ्जु खाँडको चर्चा छ । आन्तरिक असहमतीका कारण उम्मेद्वारी घोषणा गरेका छैनन् ।
कृष्णप्रसाद सिटौला पक्षले पनि उम्मेद्वारी दिने तयारी गरिरहेको भए पनि कसलाई उठाउने भन्ने विषयमा निर्णय गरेको छैन । भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा चौथो महाधिवेशन गर्ने तयारीमा रहेको छ ।
प्रत्यक्ष निर्वाचन क्षेत्रबाट ९ जनासहित २ हजार २ सय ४४ प्रतिनिधि महाधिवेशनमा सहभागि हुने जनाइएको छ । सभापति देउवाले उद्घाटन गर्ने महाधिवेशनको बन्दसत्र पनि भृकुटीमण्डपमा हुने भए पनि नयाँ नेतृत्वका लागि निर्वाचन भदौ ३१ गते राष्ट्रिय सभागृहमा हुने क्षेत्रीले जानकारी दिइन् । विद्युतीय भोटिङमार्फत नेतृत्व चयन गर्ने संघले तयारी गरेको छ । पार्टीले महिला संघमा वर्तमान समितिमा रहेका कुनै पनि व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ ।
Comment Here!