गहना बेचेर महिलाले बनाए चर्पी


बस्ने फुसको छाप्रो, चर्पी पक्की

प्रकाशित मिति :2016-09-15 14:27:10

फुसको एउटै घरलाई दुई भाग गरी दैनिक गुजारा गर्दै आएकी भोजनीले चर्पी भने पक्की नै बनाउन थालेकी छन्। श्रीमतीले लिएको चर्पी निर्माण गर्ने अठोट पुरा गर्न उनका श्रीमान पनि कम्मर कसेर लागेका छन्।

यमुना खनाल

सिरहा । ‘बैठकमे आयल सर सवके बात सुइनक हम लज्जित भ शोकमे डुइव गेली’ (बैठकमा आएका सरहरूको कुरा सुनेर आफू लज्जित र शोक मग्न भएँ ) भोजनी मल्लिकले भनिन्, ‘शोकमे डुवल देखलाक बाद हमरा घरके लोक सव पुछलक जे कि भेलौ? आनदिन जेहन नैबाजै छे कियाक ? (शोक मग्न देख्दा मेरो घरका सदस्यले चासो राखेर सोधे तिमीलाई आज के भो? अरु दिन जस्तै बोलिरहेकी छैनौं, किन ?)

नाक र कानको गहना बेचेर शौचालय बनाउने जरिना खातुन

नाक र कानको गहना बेचेर शौचालय बनाउने जरिना खातुन

‘घरका सदस्यको कुरा सुनेर आफू केहीबेर बोल्नै सकिनँ’ उनले थपिन्,  । केही घण्टापछि चर्पीबारे बैठकमा उठेका कुरा उनले घरका सदस्यमाझ राखिन् । बैठकका सहभागी अतिथिले ३रमा चर्पी नभएका कारण भनेका कुरा बेलीविस्तार लगाइन् । चर्पी नभएकाहरू प्रति लक्षित गरेर लज्जित बनाउने अनेकन कुरा गरे। बैठकका भनाई उद्धृत गर्दै उनले भनिन् ‘खान्छौं लुकाएर अनि शौच गर्छौ देखाएर, शौच गर्नका लागि रातको प्रतिक्षा गर्छौ किन? चर्पी बनाउनुपर्दैन ? जस्ता कुरा मनमै गहिरो सँग गड्यो। योमात्रै होइन बैठकबाट उनले अनुसार चर्पी नहुँदा महिलालाई धेरै प्रकारका रोगहरू लाग्ने कुरापनि बुझिन्।

जिल्लामा खुल्ला दिशामुक्त अभियान लक्षित एकदिने बैठकमा उठेका यी कुराले सिरहा नगरपालिका २ निवासी भोजनी मल्लिकको आँखा खोलिदियो। चर्पी निर्माण तथा सरसफाईबारे बैठकमा उठेका कुरा घरका सदस्यलाई सुनाएपछि तत्कालै पैसा नहुँदा त्यसको बन्दोवस्तीका लागि घरमा छलफल चल्यो। ‘चर्पी बनाउन घरका सबै सदस्यले सहमति दिएपनि तत्कालै आर्थिक श्रोत फेला नपरेपछि आफ्नै मंगलसुत्र बन्धकी राख्खेर चर्पी बनाउने प्रस्ताव राखें’ उनले भनिन्।

‘एतेक दिन स चर्पी के मतलब नै बुझल छल’ (यत्रो दिनसम्म चर्पीको महत्वबारे ज्ञान थिएन्) उनले भनिन्,’अपना त एतेक दिन जेना तेना दिन काटली आब पुतौह के वहन दिन नै काटदेव (यत्रो दिन आफूले त खुल्ला रुपमा शौच गरेर भएपनि गुजारा गरें, तर अब आउने बुहारीलाई त्यस्तो अवस्थामा फस्न नदिनको लागि चर्पी बनाउन लागेको र आफू पनि त्यस्तो अवस्थाबाट मुक्ति पाउनेछु)।’

‘इज्जत भन्दा संसारमा अरु कुनै ठुलो कुरो छैन्’,उनले भनिन्,’पैसा फेरी–फेरी कमाउन सकिन्छ, तर इज्जत गयो भने जीवन नै बर्वाद हुन जान्छ।’
‘मेरो प्रस्ताव सुनेर खुशी हुँदै घरका सबैले सदस्यले चर्पी बनाउने योजनामा दिए,’ उनले भनिन्। त्यही सहमति अनुसार महावीर चौकमा रहेको एक सुनचाँदी पसलमा सात हजार रुपैयाँमा उनले आफ्नो मंगलसुत्र बन्धकी राखिन्। स्थानीय ललिता यादवसँग मासिक तीन रुपैयाँका दरले ब्याज तिर्ने गरी पाँच हजार र बाँसको डाली, नाङ्गलोलगायतका सामग्री बेचेर जम्मा गरेको चार हजार गरी कुल १६ हजार रुपैयाँको लगानीमा उनले चर्पी बनाउन सुरु गरेकी छन् ।

फुसको घर, शाैचालय

फुसको घर, पक्की शाैचालय

फुसको एउटै घरलाई दुई भाग गरी दैनिक गुजारा गर्दै आएकी भोजनीले चर्पी भने पक्की नै बनाउन थालेकी छन्। श्रीमतीले लिएको चर्पी निर्माण गर्ने अठोट पुरा गर्न उनका श्रीमान मागैन मल्लिक पनि कम्मर कसेर लागेका छन्।

भजनी जस्तै सिरहा गाढा गाविस मुसरी टोलको सुुकुम्बासी बस्तीकी जरिना खातुनको पनि सानो फुसको छाप्रो बाहेक टेक्ने पनि जमिन छैन। चर्पी बनाउने अभियान गाउँमा चल्यो , दिनहुँ बैठक हुन्थ्यो , ‘कसका घरमा चर्पी छैन दिनहुँ छलफल हुन थाल्यो’ जरिना भन्छिन ‘आफ्नो नाम आउँदा मरे तुल्य लाग्थ्यो।’

त्यसपछि शौचालय कसरी बनाउने रातदिन निद्रा लाग्न छोड्यो। सुनौलो हजार दिन कार्यक्रमले चर्पी निर्माणका लागि तीन हजार रुपैयाँ बराबरको रिङ सहयोग गरेको थियो। बाँकी पैसा कहाँबाट ल्याउने, न त दिनमा भोक न त रातमा निंद्रा जस्तै भयो उनलाई। त्यसपछि उनले निर्णय गरिन् कानमा लगाएको कुन्डल र नाकको फुली बेच्ने।

जरिनाले चर्पी बनाउन पैसाको जोहो त जसोतसो गरिन्, तर समस्या पैसा मात्र थिएन। उनको पैसासँगै आफू बस्ने छाप्रो भन्दा एक ईन्च पनि आफ्नो जग्गा थिएन। घर बाहिर निस्कँदा अरुको जग्गामा टेकेर निस्कनु पर्थ्यो, तर यति भएर पनि जरिना पछि हटिनन्। उनले सँगै घर जोडिएका मामासँग थोरै जग्गा माग्ने निर्णय गरिन्। मामाले पनि दुई हात जग्गा दिने बचन दिए। यसले उनको हौसला बढायो। त्यसपछि उनले आफ्नो घरको टाटी तोडेर तीन हात पर घर सारिन् र त्यही ठाउँमा पक्की शौचालय बनाईन् ।

सुकुम्बासी बस्तीमा एउटा सानो फुसको छाप्रो भन्दा बाहेक सम्पत्ति र जग्गा जमिन केही नभएका नागरिकलाई शौचालय बनाउन समस्या छ। तर, अभावका बीच पनि शौचालय बनाएकोमा अहिले उनलाई खुशी लागेको छ।

राष्ट्रिय सरसफाई अभियान गुरु योजना २०६८ ले शुन्य अनुदानमा शौचालय बनाउने भनेकाले शौचालय निर्माणका लागि स्थानीय निकायमा अनुदान बजेट नभएकाले बिपन्न नागरिकले पनि आफ्नै बलबुताले बनाउपर्ने बाध्यता रहेको स्थानीय रमेश यादब बताउँछन्।

स्थानीय हिरा राय सिरहामा निम्न बर्गका नागरिकले शौचालयका महत्व नबुझेर पनि शौचालय नबनाएको बताउँछन्। उनी भन्छन् ‘चार तले घर, बंगला ,गाडी ,घोडा हुनेहरूले बुझेर पनि चर्पी बनाएका छैनन्, भजनी र जरिना जस्ता धेरै महिलाले यो अभियानमा साथ दिएका छन्।’

सबै गाउँ नगरपालिकामा सरसफाई अभियान चलेको छ। यसअघि अनुदानमा बनाइएका चर्पी बाख्रा बाँध्न र दाउरा राख्न प्रयोग भएपछि चर्पी निर्माण अनुदानलाई पूर्ण रुपमा कटौती गरेको जिल्ला बिकास समिति सिरहाका खानेपानी सरसफाई सचिबालयका प्रमुख रमेश नीधि बताए

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: