पार्वती पाण्डे
कपिलवस्तु । एक थुकी सुकी हजार थुकी नदी भने झै कपिलवस्तुका महिलाले सानो रकम संकलनबाट ठुलो रकम जम्मा गर्न सफल भएका छन । २०६१ सालमा स्थापना भई जिल्लामा दर्ता गराई काम अगाडि बढाएको एक महिला सहकारीले राम्रो काम गर्न सफल भएको हो । वाणगंगा नगरपालिकास्थित प्रतिडाडामा रहेको दिव्य ज्योती महिला सहकारीले सानो रकम जम्मा गरेर सहकारीमा लाखौं पुगेको छ ।
महिला तथा वालवालिका कार्यालयले प्रर्वद्धन गरी महिलालाई समूहमा आवद्ध गराई प्रति व्यक्ति २० रुपियाँ वचत संकलन गर्दै आएका महिलाले अहिले लाखौंको कारोवार गर्न सफल भएका छन । शुरुमा सानो रकम वचत गर्यौं अहिले ठुलो कारोवार गर्न महिला सक्षम भयौ, सहकारीका अध्यक्ष शोभा आचार्यले भन्नुभयो । ‘शुरुमा महिलाहरुलाई ऋण माग्दा पनि कसैले नपत्याउने अहिले त हामीले २३ लाख वढि वचत गरेका छौं भने ३४ लाख ८६ हजार समुदायका महिलामा ऋण लगानी समेत गरेका छौ । यो ठुलो उपलब्धी हो’ उहाँले भन्नुभयो ।
एक्लैले मात्र केही गर्छु भन्न गाह्रो छ , तर महिलामा एकता हुने हो भने महिलाले जे काम पनि गर्न सफल हुन्छन् भन्ने अनुभव आफूले संगालेको उहाको भनाइ छ । हाल सहकारीमा ४ सय ८५ जना सदस्य छन , महिलालाई आर्थिक समस्या पर्यो भने कतै गुहार्न पर्दैन , सहकारीबाट समस्याको समाधान हुन्छ । संस्थाका सदस्यले ऋण निकाली कुखुरा पालन , वंगुर पालन जस्ता कार्यहरु पनि गर्दै आएका छन् । सहकारीका सदस्य मध्ये कुनै महिलालाई पैसा चाहियो भने उनीहरु तुरुन्तै संस्थामा आउने गर्छन् ।
सहकारीले वचत संकलनका साथै महिलालाई नेतृत्व विकास , सिलाई कटाई , सिपमुलक तालिम , मुढा , डल , अगरवत्ति बनाउने तालिम समेत प्रदान गर्दै आएको संस्थाका सचिव शान्ता खनालले वताउनुभयो । यहाबाट तालिम लिएपछि १० जनाले सिलाई कटाई , ७ जनाले मुढा बनाउने व्यवसायिक रुपमै कार्य गर्दै आएका छन् । स्थानिय महिला समुहमा आवद्ध भई वचत गर्ने कार्यले उनीहरु आर्थिक रुपले समेत सक्षम हुँदै गएको संस्थाका व्यवस्थापक विणुमाया भट्राईले बताउनुभयो ।
जिल्लामा ४२ वटा महिला सहकारी दर्ता भई काम गरिरहेको महिला तथा वालवालिका कार्यालय प्रमुख कमला भण्डारीले जानकारी दिनुभयो । कार्यालयले प्रवद्र्धन गरेका महिला समुहहरु आवद्ध भई सहकारी दर्ता गराएर विभिन्न सिपमुलक कामहरु गर्दै आएको कार्यालयले बताएको छ ।
Comment Here!