महिला खबर
काठमाडौं। काठमाडौंको बौद्धका दुई विद्यालयको मुल ढोकामा आज बिहान सिलिन्डर बम विस्फोट भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बौद्धका आकाशद्वीप बोर्डिङ स्कुल र मनकामना उमाविमा सिलिन्डर बम विस्फोट भएको हो । सानो आकारको सिलिन्डरलाई बमका रुपमा प्रयोग गरिएको र विस्फोटका कारण कुनै मानवीय क्षति नभएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी बौद्ध क्षेत्रमै रहेको इस्टपोल एकेडेमी, एम्बेस्ड एकेडेमी, राई स्कुल र बालसंसार स्कुलमा शङ्कास्पद वस्तु भेटिएको थियो । ती वस्तु बम नभएको पुष्टि भएको छ । यसैगरि ललितपुरको सानेपास्थित रेडियन्ट स्कुल अगाडि राखिएको शंकास्पद वस्तुलाई सेनाले निष्क्रिय पार्दा नक्कली भएको पाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।
सो स्थानमा प्रेसर कुकर राखिएको थियो । बमको हल्लाले स्थानीयवासी त्रसित बनेका छन् । उक्त घटनाका कारण बौद्ध जोरपाटी क्षेत्रका विद्यालय बन्द गरिएको छ । बम र शङ्कास्पद वस्तु राखिएको ठाउँमा योंग कम्युनिस्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र लेखिएको पर्चा भेटिएका छन् ।
Comment Here!