सर्मिला बुढाथोकी
दोलखा । महिला तथा बालबालिका बेचविखन विरुद्ध सञ्चालित कार्यक्रमको बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । भुकम्पपछि महिला तथा बालबालिका विभिन्न प्रलोभनमा परी बेचिन सक्ने भन्दै महिला तथा बालबालिका कार्यलय तथा जिल्ला प्रहरी कार्यलय दोलखाको समन्वय तथा पर्यावरण कृषि तथा ग्रामीण बिकास दोलखाको आयोजनामा खरिढ्ङ्गा, किर्नेटार र मागापौवामा चेक बुथ स्थापना गरिएको थियो ।
उक्त चेक बुथबाट अहिले सम्म ३ सय ८९ को उद्धार गरिएकोमा अधिकांश बालबालिकाको घरमा मायालु पारिवारीक वातावरण नभएको, गरिबी, अशिक्षा, रोजगारको खोजी, मानसिक तनाव, साथीको लहैलहैमा लागेर तथा आफन्तलाई भेट्ने बहानामा बालबालिकाले घर छाड्ने गरेको भेटिएको महिला तथा बालबालिका कार्यलयले जनाएको छ ।
उद्धार गरीएका बालबालिका मध्ये २ सय ५१ बालक र १ सय ३८ जना बालिका रहेका छन् । उद्धार गरिएका केही बालबालिकाहरुलाई परिवारसँग मिलन गराईएको र केहिलाई भने बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थामा राखीएको छ ।
यस्ता विभिन्न कारणले घर छोडेर हिड्न बाध्य भएका बालबालिकाको समस्या पहिचान गरी प्रभावकारी कार्यक्रम लागु गर्न आवश्यक रहेको महिला तथा बालबालिका कार्यलयकी महिला विकास अधिकृत लक्ष्मी ढकालले बताउनु भएको छ । अधिकृत ढकालले भन्नुभयो ‘बालबालिकालाई घरमा गर्नुपर्ने व्यवहारको विषयमा जनचेतना जगाउनुका साथै विद्यालयमा बालमैत्री शिक्षा सन्चालन गर्नुपर्छ अनि मात्र दिर्घकालीन प्रभाव पर्छ ।’
पर्यावरण कृषि तथा ग्रामीण बिकास दोलखा दोलखाका अध्यक्ष धर्मेन्द्र मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले, जिल्ला विकास समिति दोलखाका सामाजीक विकास अधिकृत नारायण सेढाँई, प्रहरी नायव उपरिक्षक रविन कार्की, आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्की लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
Comment Here!