घरको काम गर्न थालेपछि निलम कुमारलाई अनुभव भयो घरको कामले पनि थकाइ लाग्ने रहेछ अनि मिलेर काम गरेमा घरको काम गर्न समय नलाग्ने रहेछ ।
दुर्गा कार्की
दुई छोरीपछि छोरो जन्मेला भन्ने आश थियो । तर जन्मिइन् छोरी । त्यसैले बुवाले उनकोे न्वारनै गरिदिएनन् । बुवा न्वारन गर्न तयार नभएपछि काकाले उनको न्वारन गरिदिए । तरपछि छोरीप्रति वुवाको माया पलायो । संगिता भन्छिन् ‘बुवाले मलाई नामले कहिल्यै बोलाउनुभएन कान्छु भन्नुहुन्थ्यो ।’ बुवाले पढाइदिए र अहिले प्रभावशाली कर्मचारी मध्ये एक हुन उनी । संगिता न्यौपाने रुकुम जिल्लाकी निमित्त जिल्ला न्यायाधिवक्ता हुन् । उनका श्रीमान निलम कुमार न्यौपाने रुकुमकै सहायक प्रमुख जिल्ला अधिकारी ।
जिल्लामा हुने कार्यक्रममा दुवैजना अतिथिका रुपमा बोलाइन्छन्, दुबैजना एउटै मञ्चमा बस्छन् र भाषण गर्छन् । अझ, कतिपय कार्यक्रममा त श्रीमती संगिताले कार्यक्रमको अध्यक्षता गर्छिन् । ‘पदमा ठुलो म भएपनि जिम्मेवारी उनको धेरै छ’ संगिताका श्रीमान निलमले भने । श्रीमान सुव्वाबाट सरकारी सेवामा प्रवेश गरेर २०६४ सालमा शाखा अधिकृत भए पनि संगिताले ०६७ मा एकैचोटी शाखा अधिकृतमा नाम निकालेकी हुन् । त्यो पनि श्रीमानकै प्रोत्साहनमा । यदि श्रीमानले घरको काममा नसघाउँदा हुन त उनले कसरी लोकसेवा पढेर एकैचोटी शाखा अधिकृतमा नाम निकाल्दि हुन् ? अहिले पनि संगिता भन्दा श्रीमान निलम कुमार न्यौपाने भान्छामा बढी हुन्छन् ।
श्रीमती लुगामा सावुन लगाउँछिन उनी पखाल्छन् । खाना पकाउने भाँडा माझ्ने काम श्रीमतीले भन्दा उनले धेरै गर्छन् । पाहुना आएमा उनीहरूलाई चिया लिएर उनी नै आइपुग्छन् । यो समझदारी देख्दा हरिवंश आचार्यको गीत याद आउँछ ‘तिम्रो माया उनान्सय मेरो सय, १ थप्छु म पनि हुन्छ २ सय बराबर सुख दुःख बाडौं बराबर…….. । यसरी माया र सुखदुख बराबर बाड्ने अवस्था त्यसै आएको होइन । यसरी समानता हुनुको पछाडि संगिताले कयौं संघर्षका पहाड फोरेकी छन् ।
निलम पहिला यस्ता थिएनन् । संगिता भन्छिन् ‘एकदमै जडवादी पुरुषमा हुनुपर्ने सवै गुण उहाँमा थिए, यी आइमाई भन्नुहुन्थ्यो, केही सोध्यो भने आइमाईलाई किन चाहियो जस्ता जवाफ आउथें ।’ यस्ता शव्द सुन्दा उनी चुप लागेर बसिनन् जवाफ दिइहाल्थिन् । कानमै गएर भनेर भए पनि सच्याउन लगाइहाल्थिन् ।

श्रीमान निलम कुमार सँग संगिता
काठमाडौं मुलपानीबाट विवाह गरेर उनी भक्तपुर पुगिन् । जन्मघर मात्रै होइन उनको श्रीमानको घर पनि असाध्यै परम्परावादी थियो । विवाह हुँदा उनी आइ.एल पढ्दै थिइन् । भक्तपुरबाट सल्लाघारीको बाटो हिँडेर टाढा काठमाडौंमा पढ्न आउने आँट उनले गर्न सकिनन् । यो बीचमा उनको छोरा जन्म्यो । पढ्ने रहर जस्ताको तस्तै थियो । भन्छिन् ‘विहे गरेपछिको आठ वर्ष त म रोएरै विताएँ पढ्न नपाउँदा ।’
निमलको घरपरिवार बुहारीले पढनुपर्छ र जागिर खानुपर्छ भन्ने पक्षमा थिएनन् । घरमा तीन भाइ र बुवाआमा । निमल आमालाई असाध्यै माया गर्थे । खुलेरै उनले भने ‘जसले आमालाई धेरै माया गर्छ उनकी श्रीमतीलाई केही दुःख हुन्छ, मैले आमाको कुरा कहिल्यै काटिनँ, परिवारमा हुँदा उनको पढाइ अघि बढाउन गाह्रो भयो ।’ यसै कारणले उनीहरू कोठा सरे । तर श्रीमानले घरको काममा नसघाएसम्म फेरी पनि उनलाई पढ्न गाह्रो थियो । उनले बी एलमा एकैपटकमा १७ वटा विषयको परिक्षा दिनुथियो । यहि वातावरणमै भनेपनि उनले घरबाटै जसोतसो विएल गरिन् । १७ वटा विषयको परिक्षा एकै वर्ष दिएर कटाइन् । तर यी प्रमाणपत्र हेरेरमात्रै उनलाई बस्न मन लागेन । लोकसेवा पढ्ने इच्छा तिव्र थियो । उनी भन्छिन् ‘श्रीमानसँग भन्यो भने तिम्रो कुराले आमासँग झगडा गर्दिन भन्ने । आमाले सानैदेखि जे देख्नुभयो त्यही भन्नुहुन्छ । सम्झाउनु पर्यो, बुहारीले भन्दा छोराले कुरा मिलाउँदा सहज हुन्छ म भन्थे ।’ एकदिन उनले श्रीमानलाई घुर्काइन ‘बेकार प्रमाणपत्र किन राख्नु जलाइदिन्छु ।’ जव उनले जलाउने तयारी गरिन तव श्रीमानले खोसे ।
त्यसपछि उनीहरू छुट्टै बसे । घर नजिकै डेरा थियो । आफू महिनावारी हुँदा सासु विहानै आएर चिया पकाइदिने । संगितालाई सहिसक्नु भएन । मैले मुखै फोरेर भनिदिएँ उनी भन्छिन् ‘छोरालाई सघाउनेले बुहारीलाई पनि सघाउन हुन्छ मुवा, भोली बुवाले काम नगरेको देखेपछि छोरोले पनि गर्दैन । त्यसैले दु:ख माने पनि मान्नुस यो चार दिन मेरो घरमा नआउनुस ।’
सासु चित्त दुखाएर आइनन् । पढ्न भनेर छुट्टिए पनि श्रीमानलाई काम लगाउन सजिलो कहाँ थियो र ? संगिता थप्छिन् ‘हामीले पढ्न सजिलोका लागि पछि फेरी काठमाडौंको एउटा कोठामा डेरा लिएर बसेका थियौं । उहाँले काममा सहयोग नगर्ने, पढ्न मात्र भन्ने, यो त देखाउनका लागि मात्रै भयो । सकारात्मक सोचेर काममा सघाउने हो भने पढ्छु र जाँच दिन्छु होइन भने दिन्न भनें, त्यसपछि उहाँले सघाउन थाल्नु भो । तैपनि छुटिएर बसेको दुई वर्षसम्म पनि यस्तो काम गर्न उहाँलाई पीडा हुन्थ्यो ।’
त्यसपछि निलम कुमारलाई अनुभव भयो घरको कामले पनि थकाइ लाग्ने रहेछ अनि मिलेर काम गरेमा घरको काम गर्न समय नलाग्ने रहेछ ।
आफूले लोकसेवा पास गरेपछि पहिला चित्त दुखाएकी सासुले गल्ती महसुस गरिन् । ‘मैले तलाइ बुझिन भन्नुहुन्छ, अहिले मेरी सासु आमा आफ्नो छोरालाई देखेर छक्क पर्नुहुन्छ । मान्छेको हातमा परेपछि छोरा मान्छे कसरी सजिदा रैछन, छोरालाई पनि सजाइ, आफू पनि यस्ती भै भन्नुहुन्छ । पहिला छोरालाई काम गराउँदा रिसाउने सासु अहिले खुशी छन् । ‘उहाँले त्यही सिक्नुभयो त्यही गर्नुभयो । अहिले यो देख्नुभयो र खुशी हुनुहुन्छ’ सगिंताले भनिन् ।
अहिले उनीहरूको तीन जनाको परिवार छ । सवै एकै पटक भान्छामा पस्छन् । पकाउने र खाएर भाँडा माझ्ने सवै काम एकैपटकमा सकिन्छ । संगिता भन्छिन् ‘अहिले पनि छोराले मलाई वा बुवालाई भान्छामा एक्लै छोड्दैन, पुरै सघाउँछ ।’ अहिले उनीहरू दुबै रुकुममा छन् । काठमाडौंमा छोरा एक्लै छ उसले सवै काम आफै गरेर पढ्न जान्छ । छोराकै सल्लाहमा आफूहरू रुकुम आएको उनले बताइन् । ‘मेरो लागि हजुरको कामलाई र पेसालाई कुनै पनि अवरोध नहोस ।’ छोराले भन्ने गरेको उनले सुनाइन् ।
कुराकानी क्रममा निलमले आफ्नो महिला प्रतिको हेराइ अहिले पुर्णरुपमा ‘वास’ भएको बताए । भने ‘म वास भएको छु, यसमा श्रीमतीको हात छ, म एकदम खुशी छु । भाँडा माझ्ने, पकाउने श्रीमतीले भन्दा मैले धेरै गर्छु । कपडामा उनी साबुन लगाउँछिन मैले पखाल्छु । सुरुमा म सकेसम्म यी कामबाट पन्छिन्थे । तर उनलाई पढ्न समय चाहिन्थ्यो । उनले पनि घुक्र्याउँथिन काम नगरिदिने भए म पढ्दिन भनेर ।’
‘घरको व्यवस्थापन गर्न जान्नुपर्छ’ संगिता थप्छिन् एकदम कडा शासन थियो घरमा । तर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ ।’ घर व्यवस्थापन गर्न सकारात्मक सोचसहित गल्तीलाई साथ नदिइ व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । अहिले उनका श्रीमानको एउटामात्रै स्नातकोत्तर छ संगिताले दुईवटा विषयमा स्नातकोत्तर गरेकी छन् । ‘श्रीमतीको प्रगतिमा मलाई पनि फाइदा भयो, मेरी श्रीमती जिल्लाको निमित्त जिल्ला न्यायाधिवक्ता हो भन्दा मलाई कम्ती गौरव हुन्छ ? इज्जत बढ्यो, पहिला मेरो मात्रै थियो अहिले उनको पनि थपिएपछि झन राम्रो’ निलम भन्छन् । उनका विचारमा महिलालाई जति गाह्रो छ त्यति नै अवसर पनि छ । यसलाई समात्न सक्यो भने सफल भइन्छ ।
‘संगिता विद्रोही छन् तर सकारात्मक’ निलम भन्छन् । यो कुरा संगिता पनि स्वीकार्छिन् । भन्छिन् ‘म कार्यालयमा पनि विद्रोही हो । महान्यायाधिवक्ताको कार्यालयमा हुँदा म भन्दा दुई तहमाथिका पुरुष सहकर्मीले महिलालाई भात पकाउन बाहेक अरु के काम आउँछ भने । मैले त्यसको जवाफ कडा दिएकी थिए । ‘हामी पनि लोक सेवा पास गरेर आएको हो । हामीलाई कसैले टिका लगाएर पठाएको होइन ।’
Comment Here!