सर्मिला बुढाथोकी

तस्विरः भूकम्प पीडित परिचयपत्र नपाएपछि गुनासो गर्न सदरमुकाम आएका महिला
दोलखा । भूकम्पमा परि श्रीमान् गुमाएका तथा परिचयपत्र वितरण गर्दा श्रीमान् घर बाहिर रहेका महिलाले परिचयपत्र नपाएकोे एक तथ्याङ्कले देखाएको छ ।
‘भूकम्प पछिको पूनर्निमाणमा लैङ्गिक तथा समाजिक समावेशिताको अवस्था : दोलखा, सिन्धुपाल्चोक तथा काठमाडौंबाट प्राप्त निष्कर्ष प्रतिबेदन’ ले यस्तो तथ्याँक सार्वजानिक गरेको हो । उक्त प्रतिवेदनमा दोलखाको झुले तथा जफे गाविसमा ६० वर्ष पुगेका एकल महिला र ५४ वर्षीय महिलालाई नदिई घरमुलीको रुपमा १८ बर्षको नातीलाई परिचय पत्र दिएको उल्लेख गरिएको छ ।
महिलाको नाममा जग्गा धनीपूर्जा नहुनु, स्थानीय राजनीति दलले सिफारिस नगर्नु, समाजमा लैङ्गिक विभेद कायम रहनुलगायतका कारणले महिला भूकम्प पीडित परिचयपत्र लिनबाट बञ्चित रहेको पुनर्निमाण कार्यमा लैङि्गक तथा समाजीक समावेशी अनुगमनका कार्यक्रम अधिकृत विष्णु बस्यालले बताउनुभयो ।
बस्यालका अनुसार जिल्लाको काब्रे, बोच, लामीडाँडा, झुले, जफे, भिमेश्वर नगरपालिका र जिरी नगरपालिकाका ४ सय भन्दा बढी भूकम्प पीडित महिलासँग गरिएको कुराकानीका आधारमा महिला राज्यले उपलब्ध गराउने सुविधाबाट बञ्चित हुन परेको तथ्याङ्क भेटिएको हो । त्यस्तै केही गाविसमा महिलाको नाममा परिचपत्र दिएको भएपनि मापदण्ड नपुगेको भन्दै पछि फिर्ता समेत लिएको तथ्याङ्कमा उल्लेख छ ।
स्थानिय विकास अधिकारी विष्णुप्रसाद शर्मा भूकम्प पीडित परिचयपत्र प्राप्त नगरेका महिलाको लागि के गर्न सकिन्छ भनेर छलफल भै रहेकोले यो समस्याको समाधान तत्काल हुने दावी गर्नुभयो ।
Comment Here!