यौन दुर्व्यवहार गर्ने कलाकार पन्त र साहलाई उन्मुक्ति
यौन दुर्व्यवहारको घटनामा मिलापत्र
रमला सिंगक

केटिएम सेक्युरिटि सर्भिसका सिइओ रामेश्वर साह र कलाकार सन्तोष पन्त ।
सुनसरी । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुरक्षाको जिम्मा पाएको केटिएम सेक्युरेटी सर्भिस प्रालीका महिला सुरक्षागार्ड माथि भएको यौन दुर्व्यवहारको घट्नामा पीडित महिलालाई जबरजस्ती दवाव दिएर मिलापत्र गराइएको छ ।
मिलापत्रसँगै सुनसरीको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले यौन दुर्व्यवहार गर्ने आरोपितलाई उन्मुक्ति दिएका छन् । विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानको सुरक्षार्थको ठेक्का पाएको केटिएम सेक्युरीटि सर्भिसका ब्रान्ड एम्बासडर एवं हाँस्यकलाकार सन्तोष पन्त र केटिएमका सिइओ रामेश्वर शाहले उन्मुिक्त पाएका हुन् ।
गत बुधबार दिउँसो विपी प्रतिष्ठानमा भएको प्रमुख जिल्ला अधिकारी चापागाई, प्रहरी प्रमुख, धरानका महिला सन्जाल र प्रतिष्ठानको पदाधिकारीको बैठकले यौन दुर्व्यवहारको घट्नामा दोषी उपर कार्वाही गर्नुको सट्टा मिलापत्र गराइएको छ । घट्नालाई मिलापत्र गराउन बसेको बैठकमा मुख्य आरोपित व्यक्ति हास्य कलाकार सन्तोष पन्तको उपस्थिति बिना नै समझदारी गराइर्एको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी चापागाईले दुवै पक्षलाई राखेर समझदारी गराइएको बताए । घट्नाको सम्पुर्ण जिम्मेवारी केटिएम सेक्युरेटीका सन्चालक रामेश्वर शाहले लिएको भन्दै पन्तको अनुपस्थिति बिना नै समझदारी गरिएको चापागाईले बताए । पीडितलाई आत्मसम्मानसहित काममा जाने वातावरण बनाउने, स्टाफमा परेको समस्याको विषयमा बैठक गर्ने, लैगिक संवेदनशीलताको निम्ति महिला कमाण्डर नियुक्ति गर्ने समझदारी भएको जनाइएको छ । घट्ना हुनु भन्दा ६ घण्टा अगाडि सुनसरीका सिडिओ चापागाई पनि केटिएमका सिइओ साहसँग प्रतिष्ठानमै आयोजित पार्टीमा सहभागी थिए ।
आरोपित केटिएमका शाहले आफूसँग माफी समेत नमागेको पीडितले बताईन् । यौन दुर्व्यवहारको घट्नालाई किनारा लगाउने भन्दै महिला सञ्जाल धरानले नेतृत्व गरेको थियो । तर पछिल्लो समय महिला अधिकारकर्मीले समेत घट्नालाई मिलाउन दोहोरो भुमिकानिर्वाह गरेपछि आफूले न्याय पाउन नसकेको पीडितको भनाई छ । महिला सन्जाल धरानका अध्यक्ष शीला बज्राचार्यको नेतृत्वमा प्रतिष्ठानको उपकुलपतिको बैठक कक्षमा महिला अधिकारकर्मीहरू थिए । महिला सञ्जाल धरानका अध्यक्ष शीला बज्राचार्यले टेलिफोन सम्पर्कमा पीडितकै आग्रहमा समझदारी गरिएको दावी गरेकी छिन् ।
शनिबार बिहान हुनै लाग्दा करिव अढाइ बजे प्रतिष्ठानको गल्र्स होस्टलमा प्रवेश गरेर केटिएमकै महिला सुरक्षाकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोप छ । राती मादक पदार्थ सेवन गरेर प्रतिष्ठानको गल्र्स होस्टेलमा पन्त, शाहलगायत चार जना होस्टेलमा पुगेका पन्तले आफ्नो संवेदनशील अंगमा समातेको पीडित महिलाले बताएकी छन् । पीडितले प्रहरीमा कार्वाहीको लागि उजुरी दिएपनि प्रहरीले उजुरी दर्ताको नगरेपछि आन्तरिक रुपमा मिलाएका थिए ।
आन्तरिक बैठक भनिएको ठाउँमा पीडित महिलाले रुँदै घटनाको यथार्थ बताएकी थिईन् । महिला सञ्जालले प्रमाण पुर्याउन नसक्ने भन्दै मिल्न दबाव दिएका थिए । महिला सञ्जालका पदाधिकारीले आफैले अदालत जान सक्दैनौ भनेपछि बाध्य भएर मिल्नु परेको पीडित महिलाले बताएकी छिन् ।
Comment Here!