महिला खबर
काठमाडौं । महिलालाई नेतृत्वमा पुर्याइ सवै ठाउँमा उनीहरूको अर्थपुर्ण सहभगिताका लागि के गर्नुपर्छ भन्ने विषयमा छलफल गर्न ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले आयोजित लैङ्गिक समानता तथा सामाजिक न्यायसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा बोल्दै समितिका सभापति शुशील कुमार श्रेष्ठले संविधानसभामार्फत जारी भएको नेपालको नयाँ संविधान लैङ्गिक विभेद अन्त्य गर्न र महिला अधिकारको सुनिश्चित गर्न कोसेढुङ्गा रहेको बताउनुभयो । उहाँले नेतृत्व तहमा महिला सहभागिता वृद्धि गराउनुपर्नेमा जोड दिनुभयो
शुक्रवारसम्म चल्ने सो सम्मेलनमा समानताको वहसमा पुरुषलाई संलग्न गराउनुको महत्व र यसमा सहभागी हुन पुरुषलाइ प्रोत्साहन गर्ने उपाय, राजनीतिमा महिलाको प्रतिनिधित्व र सम्मान बढाउन आइपरेका चुनौति, सम्मेलनमा सहभागी देशका राजनीतिक दलमा लैंगिक समानताको अवस्था तथा सुधारका उदाहरण प्रस्तुत गरिने छ । साथै सम्मेलनमा सहभागी देशमा लैङ्गिक समानता तथा सामाजिक न्यायसम्बन्धी संवैधानिक प्रावधान, कार्यान्वयनका अवस्था र चुनौतीका विषयमा अनुभव आदानप्रदान पनि गरिने छ ।
पुरुष राजनीतिज्ञले सामना गर्नुपर्नेभन्दा फरक कस्ता चुनौती महिला राजनीतिज्ञले सामना गर्नुपर्छ भन्ने विषयमा चार देशका महिला सांसदले आ–आफ्ना अनुभवसमेत सम्मेलनमा राख्नेछन् ।
सम्मेलनमा नेपालसहित भुटान, म्यान्मा तथा डेनमार्कका सांसद तथा सो क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी छन् ।
सम्मेलनमा भुटानका निर्माण तथा मानवीय बस्तीसम्बन्धी मन्त्री ल्यान्पो दोर्जी छोडेनसहित त्यहाँको १५ जना सांसद, म्यान्माका खिन स वाईसहित १० सांसद तथा डेनमार्कका सांसदको सहभागिता रहेको छ । सम्मेलनको अन्तिम दिन शुक्रवार काठमाडौं घोषणापत्र जारी गरिने छ ।
Comment Here!