महिला खबर
ललितपुर । न्यायपरिषदले सैनिक विशेष अदालतको अध्यक्षमा महिला न्यायाधीश नीता गौतम दीक्षितलाई तोक्न परामर्श दिएको छ । न्यायपरिषदको विहीबार बसेको बैठकले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश नीता गौतम दीक्षितलाई तोक्न परामर्श दिएको हो ।
न्यायाधीश दीक्षित हाल उच्च अदालत पाटनमा कार्यरत हुनुहुन्छ । सैनिक विशेष अदालतमा अध्यक्षका लागि महिलाको नाम आएको पहिलो हो । न्याय परिषदले नियुक्तिका लागि परामर्श गरेको ठाउँमा सरकारले सम्बन्धित न्यायाधीस नियुक्त गर्ने पक्का हुने जनाएको छ ।
सैनिक विशेष अदालतमा अन्य दुई जना सदस्य रहने व्यवस्था छ । न्यायपरिषदको बैठकले भ्रष्टाचार, राज्यविरुद्घको अपराध र मुद्रा निर्मलीकरणसम्बन्धी मुद्दाको सुनुवाई गर्न विशेष अदालतमा पनि अध्यक्ष र सदस्यहरू तोक्नका लागि सरकारलाई परामर्श दिएको न्यायपरिषदका प्रवक्ता तथा सह सचिव देवेन्द्रराज ढकालले जानकारी दिनुभएको छ ।
न्यायपरिषदको बिहीबार बसेको बैठकले विभिन्न अदालत तथा न्यायधिकरणमा रिक्त रहेका पदपुर्तिका लागि सरकारलाई नियुक्ति तथा शिफारिस गर्ने निर्णय गरेको हो ।
बिहीबार प्रधानन्यायाधीश सुशीला कार्कीले उच्च अदालत जनकपुरमा न्यायाधीश सुरेन्द्रवीर सिंह बस्न्यातलाई र उच्च अदालत दिपायलमा न्यायाधीश प्रकाशकुमार ढुंगानालाई न्यायपरिषदले सिफारिस गरेबमोजिम नियुक्त गर्नुभएको न्यायपरिषदका प्रवक्ता तथा सचिव ढकालले बताउनुभयो ।
त्यसैगरी न्यायपरिषदको बैठकले राजस्व न्यायधिकरण काठमाडौंमा न्यायाधीश डिल्लीराज आचार्य, राजस्व न्यायाधीकरण विराटनगरमा न्यायाधीश कुमार पोखरेल, राजस्व न्यायाधीकरण नेपालगञ्जमा न्यायाधीश वीरबहादुर डाँगीलाई अध्यक्ष तोक्न सिफारिस गरेको छ ।
न्यायपरिषदको बैठकले उच्च अदालतका न्यायाधीशहरू मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई, प्रभा बस्नेत, महेशप्रसाद पुडासैनी, पवनकुमार शर्मा र नरेन्द्र सिवाकोटीलाई विशेष अदालतको अध्यक्ष र सदस्य तोक्न सरकारलाई सिफारिस गरेको न्यायपरिषदले जनाएको छ ।
Comment Here!