जाजरकोटमा बालविवाह : झन् बढ्दो


प्रकाशित मिति :2016-09-24 10:00:06

जिल्लामा १० देखि १४ वर्षको उमेरमा पाँच हजार ६ सय ६८ बालबालिकाको विवाह भएको तथ्याङ्क छ । बालविवाह गर्नेहरूमा बालिका धेरै छन् । यो प्रचलन झन् बढ्दो छ

जनक केसी

bal bibah
जाजरकोट । भेरीमालिकाकी लक्ष्मी केसी भर्खरै सुत्केरी भएकी छिन् । उमेर १५ वर्ष पनि पुगेको छैन । नौ कक्षामा पढ्दापढ्दै भागेर बिहे गरेकी उनले जसोतसो एलएलसीसम्म पास गरिन् । किताब बोकी क्याम्पसतिर जानुपर्ने उमेरमा उनको काखमा दूधे बालक छ ।

उनकै उमेरका श्रीमानलाई पनि साथीहरूले ‘बच्चाको बाउ’ भन्दै जिस्क्याउन थालेपछि पढ्न जान छोडे । ‘सुरुमा बिहे गर्दा बच्चा पाएर पढाइमा असर पर्ला भन्ने थाहा भएन, अहिले बल्ल थाहा भयो, सानैमा बिहे गर्न नहुने रहेछ,’ पछुतो मान्दै लक्ष्मीले भनिन्, ‘पढ्ने उमेरमा बिहे गर्दा भविष्य नै बर्बादजस्तै हुने रहेछ, अब यो नानी हुर्काउने कि आफू पढ्न जाने ?’

स्थानीय भुरचौर गाउँकी गीता सुनार डेढ वर्षको बच्चाकी आमा हुन् । उमेर साढे १४ वर्ष मात्र भएको छ । आठ कक्षामा पढ्दापढ्दै भागेर विवाह गरेकी गीताले पनि विवाहपछि पढ्न पाइनन् । उनलाई अहिले पढ्न निकै रहर लागेको छ, तर घर–व्यवहार र काखे बच्चाको कारण अब पढ्न पाउने सम्भावना छैन ।

बिहेका कारण पढ्न नपाएकोमा उनलाई पछुतो छ । गीता भन्छिन्, ‘पढ्न सारै मन लाग्छ, तर के गर्नु चाहेर पनि स्कुल जान पाइँदैन, बिहे गर्दा यस्तो होला भन्ने थाहा भएन र भागीविवाह गरियो । अहिले सोचेकोजस्तो भएन ।’ पढाइ छोड्न बाध्य गीताको दिन बच्चाको स्याहार र घरधन्दा गर्नमै बित्ने गरेको छ ।

लक्ष्मी र गीताजस्ता कलिलो उमेरमा विवाह गर्नेहरू जिल्लामा थुप्रै छन् । परम्परागत मान्यता, गरिबी र अशिक्षाका कारण जिल्लामा बालविवाहको दर उच्च छ । राष्ट्रिय जनगणना २०६८ लाई आधार मानेर दुई वर्षअघि तयार पारिएको ‘जाजरकोटमा बालबालिकाको स्थिति प्रतिवेदन २०७०’ अनुसार जिल्लाका कुल विवाहित ६७ हजार तीन सय ३२ मध्ये १९ वर्षमुनिको उमेरमा विवाह गर्ने सङ्ख्या ७४ प्रतिशत अर्थात् ४९ हजार आठ सय ६२ छ ।

सो प्रतिवेदनअनुसार सबैभन्दा बढी १५ देखि १९ वर्षसम्मको उमेरमा विवाह गर्ने ४४ हजार २९ बालबालिका छन् । १० वर्षकै उमेरमा विवाह गर्ने एक सय ६५, १० देखि १४ वर्षको उमेरमा विवाह गर्ने पाँच हजार ६ सय ६८ बालबालिका छन् । प्रतिवेदनअनुसार बालविवाह गर्नेमा बालकभन्दा बालिका धेरै छन् ।

महिला तथा बालबालिका कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा कलिलो उमेरमै विवाह गर्ने ६५ प्रतिशतमध्ये ६२ दशमलव ८७ प्रतिशत बालिका र ३७ दशमलव १३ प्रतिशत बालक छन् । त्यस्तै बालअधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील नागरिक अगुवा राजेन्द्रविक्रम शाहले ०६८ को जनगणनाअनुसार ६५ प्रतिशत बालविवाह भए पनि अहिले त्यो बढेर ७० प्रतिशत पुगिसकेको बताए ।

उनले जिल्लामा सबैभन्दा बढी मजकोट, ढिमे र झाप्रा गाविसमा बालविवाह भएको बताए । गाउँमा अन्धविश्वास, गरिबी र परम्परागत मान्यताका कारण बालविवाह बढ्दै गएको नागरिक अगुवा शाहको भनाइ छ ।

त्रिभुवन उच्च माध्यमिक विद्यालयका शिक्षक राजेन्द्रबहादुर कार्कीले स्कुले उमेरमै बिहे गर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको बताए । उनका भनाइमा यस्तो प्रवृत्तिमाथि सरोकारवाला निकाय मौनजस्तै बसेको छ । बालविवाह गर्न उक्साउनेलाई कानुनी कारबाही तथा गर्नेलाई परामर्शबाट परिवर्तन गर्न सकिने शिक्षक कार्कीको भनाइ छ । बाल्यकालमै बिहे गरेका कारण धेरै स्कुले बालबालिकाको पढाइ प्रभावित भएको उनले बताए ।

बालविवाहका कारण सामाजिक विकृति बढ्नुका साथै सम्बन्धविच्छेदका घटना पनि अत्यधिक रूपमा बढ्दै गएको पाइएको छ । जिल्ला अदालत जाजरकोटले गत आर्थिक वर्षको मुद्दा फस्र्योटबारे सार्वजनिक गरेको एक तथ्याङ्कमा सम्बन्धविच्छेद भएका ५१ जोडीमध्ये ४१ जोडीको उम्मेर २० देखि २३ वर्षसम्मको देखिएको छ । यी सबै जोडीको बिहे १९ वर्षभन्दा पहिले नै भएको थियो ।

सानैमा बिहे गरेका कारण गरिबी र असमझदारी हुँदा बिहे गर्ने उमेर भइसक्दा ती जोडीको सम्बन्धविच्छेद भएको जाजरकोटका न्यायाधीश लीलाराज अधिकारीले बताए । ‘लहलहैमा लागेर सानै उमेरमा बिहे गर्ने र पछि व्यवहार नमिलेर या गरिबी बढ्दै गएर सम्बन्धविच्छेद गर्ने अवस्थामा पुग्ने गरेको पाइन्छ,’ न्यायाधीश अधिकारीले भने ।

गरिब घरधुरी पहिचानका लागि सङ्कलन गरिएको तथ्याङ्कअनुसार जाजरकोटको झन्डै आधा जनसङ्ख्या गरिब देखिएको छ । जिल्लाको कुल एक लाख ७१ हजार जनसङ्ख्यामध्ये सत्तरी हजारभन्दा बढी जनसङ्ख्या गरिब देखिएको छ । जिल्ला बालकल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा बालविवाह अत्यधिक भएको र यसका लागि प्रशासनका तर्फबाट जनचेतनाका कार्यहरू गरिएको बताए ।

सामान्य प्रयासबाट बालविवाह रोक्न गाह्रो भएको र यसका लागि ठूलै अभियान चाल्नुपर्ने प्रजिअ गौतमको भनाइ छ । सदरमुकामभन्दा गाउँमा बालविवाह बढ्दै गएको भन्दै गौतमले स्थानीय समुदाय र अन्य सरोकारवाला निकायले गम्भीर रूपमा लिएर यसको समाधान खोज्नुपर्ने बताए ।

 (सञ्चारिका फिचर सेवा)
(जनक, जाजरकोटका पत्रकार हुन् ।) 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: