सर्मिला बुढाथोकी

जिविसमा सिफारीस लिन गएका सुनमाला र ललमई ।
दोलखा । दोलखा मिर्गेकी सुनमाला तमाङ्को श्रीमान राजकुमार तमाङ् बैदेशिक रोजगारीका लागि गएको दुई महिना भयो ।जग्गाको लालपुर्जा र निस्सा श्रीमानको नाममा रहेकाले सरकारले दिने भनेको अनुदान रकमको पहिलो किस्ता सुनमालाले लिन सकेकी छैनन् । भूकम्प पीडितको निस्सा र जग्गाको लालपूर्जा श्रीमानको नाममा छ, गाविससँग अनुदान सम्झौता मैले गरेकी छु, तर अहिले रकम पाउन सकिन – सुनमालाले गुनासो गर्दै भनिन् ।
बैदेशिक रोजगारमा रहेका श्रीमान्को मञ्जुरीनामा, गाविस सचिवको सिफारीस र नाता प्रमाणित भएपछि पैसा झिक्न मिल्छ भन्ने सुनेर आवश्यक कागजात जम्मा गरेर दोलखाको मैनापोखरी स्थित कालिञ्चोक विकास बैंकमा पुगेकी उनलाई जिविसको सिफारिस चाहिन्छ भनेर फर्काइएको थियो । जिविसको सिफारिस लिन सदरमुकाम आएकी सुनमालालाई जिविसले सिफारिस दिन नमिल्ने भनेपछि उनी निराश भएकी छन् । उनले गुनासो गर्दै भनिन् – ‘भूकम्पले दिएको पीडा भन्दा राज्यले दिएको यो पीडा असह्य भएको छ, राहत त कता हो कता दशैको लागि जोहो गरेको पैसा समेत खर्च भयो ।’
मिर्गे गाविसकी ललमई तमाङ्को पनि समस्या उस्तै छ । ‘विदेशबाट पैसा आउला र घर बनाउँ भनौ भने ३ महिना वितिसक्यो एक रुपैयाँ पठाएको छैन । श्रीमानलाई फोन गर्दा खान नपुग्ने तलब दिन्छ कसरी पठाउँ भन्छन् अनि सरकारले दिने अनुदानको लागि पनि श्रीमान चाहिन्छ रे’ – उनले दुखेसो गर्दै भनिन् ।
दोलखा जिल्लामा श्रीमान विदेश भएकै कारण अनुदान रकम नपाउने महिलाको संख्या निक्कै रहेको छ । जग्गाको लालपुर्जा र निस्सा श्रीमानको नाममा भए पनि अनुदान सम्झौता श्रीमतीले गरेको, निस्सा श्रीमतीकै नाममा भएपनि लालपुर्जा नभएको जस्ता कारणले अनुदान रकम लिन नसकेको महिलाको संख्या धेरै रहेको, तर आफूहरूले पनि त्यसमा कुनै सहयोग गर्न नसक्ने जिल्ला विकास समिति दोलखाका आन्तरीक लेखा अधिकृत जगदीश अर्याल बताउँछन् । जिल्ला विकास समितिमा यस्तो समस्या भएका महिला दैनिक ४/५ जना आउने गरेको तर विशेष निर्णय नभै आफूहरूले सिफारीस दिन नसक्ने अर्यालको भनाई छ ।
लालपुर्जा र भूकम्प पीडित निस्सा श्रीमानको नाममा छ, श्रीमतीले अनुदान सम्झौता गर्दा श्रीमानको नाम राखेर गरेको हुन्छ जसको कारण बैङ्क खाता श्रीमानकै नाममा रहेको छ आन्तरीक लेखा अधिकृत अर्यालले भने – यस्तो अवस्थामा अनुदान रकम श्रीमानकै बैङ्क खातामा आउने भएकोले हामीले विशेष निर्णय नभएको अवस्थामा श्रीमानको बैङक खातामा रहेको रकम श्रीमतीलाई दिनु भनेर सिफारिस गर्न सक्दैनौ ।
केही दिन यता यस्तो समस्या भएका भूकम्प पीडितलाई गाविसले नै सिफारिस दिन बन्द गरेकाले अहिले जिविसमा भने यस्तो समस्या नदेखिएको र आधिकारीक रुपमा सुष्पाक्षमावती गाविसका तीन जना महिलालेमात्र सिफारीसको लागि निवेदन दर्ता गरेको जिविसका टिका जोशीले बताए । गाविस सचिव भरत पौडेल जिविसले सिफारिस नदिने भएकाले भूकम्प पीडितलाई अनावश्यक दुःख नहोस अनेर अहिले आफूहरूले त्यस्ता समस्या भएकालाई गाविसबाटै फर्काउने गरेको बताउछन् ।
Comment Here!