यौन दुर्व्यवहार मिलापत्रमा मानवअधिकार आयोगको चासो
मिलापत्र गराउने पत्रकारलाई कारवाहीको माग
रमला सिंगक
सुनसरी । गत असोज १ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको महिला सुरक्षा गार्ड माथि भएको यौन दुर्व्यवहारकाे घट्नाप्रति मानवअधिकार आयोगले चासो देखाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका पुर्वान्चल प्रमुख झंकार रावलले प्रहरी, सिडीओ, संचारकर्मीले गराएको मिलापत्रको कुनै अर्थ नरहने बताए । उनले घटना भएपछि पिडीत महिलाले प्रहरीलाई दिन खोजेको लिखीत जाहेरीको बोधार्थ मानव अधिकार आयोगमा आइपुगेको बताए । उजुरी प्राप्त भएसँगै चासो लिएर सोधीखोजी गर्दा प्रहरीले जाहेरी दर्ता नगरी मिलापत्र गरेको बुझेकोे बताए । उनले पिडीत महिलाले दिएको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गर्दैन भने अदालत जानु भनेर राष्ट्रिय मानव अधिकार आयोगले सुझाव दिएको जानकारी दिए ।
उनले भने, ‘हामीले गम्भीर चासोका साथ हेरिरहेका छौ । यस्तो अपराधको मिलापत्र हुनै सक्दैन । यो अदालतले गर्ने फैसला हो । पिडीत महिलाले आफुलाई करकापमा पारेर मिलापत्र गराएको हो र अझै पनि आफुलाई अन्याय भएको महसुस भए फेरी पनि अदालत जान सक्छन ।’
यसैगरी सोमबार पत्रकार सम्मेलन गरी महिला संजालले सो घट्नामा नेकपा माओवादी केन्द्रका नेता र सो पार्टी निकट संचारकर्मीले घट्ना सामसुम पार्न महत्वपुर्ण भूमिका खेलेको बताएका थिए । यो समाचार आए लगत्तै सोमबार बेलुका एमाओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले प्रेस विज्ञप्ती निकाल्दै घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई कार्यवाही गर्न माग गरेको छ । विज्ञप्ती मार्फत एमाओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति सुनसरीले यौन दुव्र्यवहार घट्ना मिलाउने संचारकर्मीलाई कारवाहीको माग गरेको हो । प्रेस सेन्टर सुनसरीका अध्यक्ष श्रीशिशा राई र सचिव तीर्थ कार्कीद्धारा जारी विज्ञप्तीमा ‘सामाजिक संजालहरुमा दलाल पत्रकार भन्दै चन्द्रमणी कट्टेलको नाम प्रेस सेन्टर नेपालसंग जोडिएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको’ जनाउदै कारवाहीको माग गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘हामी निकट पार्टीको जिम्मेवार नेताको हवाला दिदै वा व्यक्तिगत रुपमा आफुलाई प्रेस सेन्टरको सदस्य भएको दावी निज कट्ट्लले गरेका भए भ्रममा नपर्न सवैलाई सचेत गराइन्छ ।’ प्रेस सेन्टर नेपालले पत्रकारिताका नाममा दलाली गर्ने प्रवृत्तिलाई निरन्तरता दिदै आएको आरोप लागेका व्लाष्ट टाइम्स दैनिकका चन्द्रमणी कट्टेलका विषयमा सत्यतथ्य छानवीन गरि हदै सम्मको कारवाही गर्न र पत्रकारितालाई कलंकित हुनबाट जोगाउन नेपाल पत्रकार महासंघ र पत्रकारिता सम्बद्ध सम्पुर्ण संघसंगठन समक्ष जोडदार माग गर्दछौं ।’
केटिएम सेक्युरिटि सर्भिस प्रालिका ब्राण्ड एम्वासडर समेत रहेका हास्य कलारकार सन्तोष पन्त र केटिएमकै सिइओ रामेश्वर साहले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत महिला सुरक्षागार्ड (मजदुर)माथि गरेको यौन दुव्र्यहारको घट्नालाई आन्तरिक रुपमा मिलाउन माओवादी केन्द्रका नेता र संचारकर्मी कट्टेलले भूमिका खेलेको आरोप लाग्दै आएको छ ।
Comment Here!